पोखराको हेम्जाबाट पर्वतको पातीचौर सुरुङ मार्ग बनाए १५ मिनेटमै ! - News site from Nepal

पोखरा : पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जान पोखराबाट हेम्जा हुँदै उकालो र घुमाउरो सडकको यात्रा गर्नुपर्छ । तर हेम्जाबाट कास्कीकै नयाँपुल र पर्वतको पातीचौरसम्म सुरुङ मार्ग बनाउने हो भने उकालोओरालो र घुमाउरो सडकको यात्रा गर्नुपर्दैन । नेपाल सरकारले यो वर्षको बजेटमा हेम्जा-नयाँपुलसम्म सुरुङ मार्ग निर्माणको अध्ययनका लागि भनेर बजेट पनि राखेको छ ।
पोखरा र धौलागिरि क्षेत्रका जिल्लाहरु जोड्न हेम्जादेखि सुरुङ मार्ग निर्माण सम्भव छ त ? त्यो सम्भावनाको औपचारिक अध्ययन भएको थाहा छैन । तर विज्ञ भने त्यो सम्भव भएको बताउँछन् । नर्वेको ओस्लोको एक विश्वविद्यालयमा प्राध्यापनरत नेपाली प्राध्यापक डा. कृष्णकान्त पन्थीले हेम्जादेखि पातीचौरसम्म सुरुङ मार्ग बनाउन सकिने सुनाए । उनकै भनाइमा सुरुङ मार्ग बनाउँदा उक्त दुरी १५ मिनेटको यात्रामा छोटिन्छ । अहिले भने डेढ घन्टासम्म लाग्छ ।

प्राध्यापक डा. पन्थी पोखरामा इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसद्वारा शुक्रबार साँझ आयोजित गोष्ठीमा नर्वे र नेपालमा सुरुङ निर्माणको अनुभव र सम्भावना प्रष्ट्याउँदै थिए । उनले हेम्जाबाट पातीचौर सुरुङमार्ग १३ किलोमिटर हुने पनि सुनाए । नयाँपुलसम्म भन्दा २ किलोमिटर परै पातीचौरसम्म सुरुङमार्ग बनाउन सकिने उनको भनाइ थियो । ‘नयाँपुलसम्म जानु जोखिम हुन्छ, २ किलोमिटर धेरै भए पनि पातीचौरसम्म सुरुङ मार्ग बनाउनु राम्रो हुन्छ,’ उनले भने ।

कुनै पनि ठाउँमा सुरुङ मार्ग निर्माण गर्दा त्यहाँको चट्टानको अध्ययन गरिनुपर्ने जानकारी पन्थीले दिए । आफ्ना विद्यार्थी/शोधार्थीहरुले हेमजा-पातीचौर सुरुङ मार्गको सम्भावनाका लागि त्यहाँका पहाडहरुको चट्टानको अध्ययन लगाउने योजना पनि उनले सुनाए ।

प्राध्यापक पन्थीका भनाइमा सुरुङ मार्ग निर्माण नेपाललाई अपरिहार्य छ । उनले नेपालजस्तै नर्वेमा पनि धेरै पहाडहरु भएको हुँदा सुरुङ मार्ग निर्माण गरिएको जानकारी दिए । ‘नर्वेमा ४५ सय किलोमिटर सुरुङमार्ग सडक छ,’ उनले भने, ‘हाइड्रो पावरहरुमा २५ सय किलोमिटर छ ।’ तर नेपालमा भने अहिलेसम्म हाइड्रोपावर लगायतमा गरी केवल २५० किलोमिटर सुरुङ निर्माण भएको जानकारी प्राध्यापक पन्थीले दिए ।

नर्वे वा अरु कुनै पनि देशको सुरुङ मार्ग निर्माणको पूरापूर अनुभव नेपालमा नक्कल गर्न नसकिने प्राडा पन्थीले बताए । उनले भने, ‘हाम्रो आफ्नै भौगर्भिक संरचना छ, जुन अरु देशसँग मिल्दैन, नर्वेमा हाम्रोमा भन्दा कडा चट्टान छ ।’ नेपालमै सुरुङ शिक्षा लिने र यहीं व्यवहारिक अभ्यास गर्ने गरी जनशक्ति तयार पार्नुपर्ने उनले सुझाए । अहिले डब्लुआरसीमा सुरुङ इन्जिनियरिङ सम्बन्धमा स्नातकोत्तरको पढाइ पनि भइरहेको छ । जसको सुरुआतका लागि प्राडा पन्थीले पहल गरेको गोष्ठीमा सुनाइयो । नर्वबाट नोरहेड प्रोजेक्टलेसमेत उक्त पढाइलाई सघाइरहेको छ । गण्डकी प्रदेश सरकारले पनि साथ दिएको छ । नोरहेड प्रोजेक्टमार्फतै २ जना प्राध्यापकलाई सुरुङ इन्जिनियरिङमा विद्यावारिधिका लागि नर्वे लैजाने जानकारी प्राडा पन्थीले दिए ।

प्राडा पन्थीले सुरुमा ठूलो लगानी लाग्ने भए पनि सुरुङ मार्ग सडक टिकाउ, दीर्घकालका लागि सस्तो र सुरक्षित हुने बताए । एकपटक सुरुङ निर्माण गरेपछि सयौं वर्षलाई हुने जानकारी उनले दिए । ‘सुरक्षित पनि हुन्छ, २०७२ सालको भूकम्प जाँदा हाम्रो नेपालका कहिँका सुरुङमा पनि केही भएन नि,’ उनले भने ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले सुरुङ मार्ग आवश्यक भए पनि प्रदेश सरकारको आर्थिक हैसियतले नभ्याउने वास्तविकता रहेको सुनाए । ‘तर नपालको भूगोललाई हेर्ने हो भने सुरुङ मार्ग अन्तिम र निर्विकल्प हो,’ उनले भने ।

ऊर्जा तथा सिँचाइ मन्त्रालयका सचिव इन्जिनियर रामकुमार श्रेष्ठले मेलम्ची आयोजनामा सुरुङ बनाउँदा २६ किलोमिटरका लागि ३० अर्ब लागेको सुनाए । उनले अब लार्के र याङ्ग्री खोलाको पानी मेलम्चीमा ल्याउन ९ किलोमिटर सुरुङ निर्माणका लागि ११ देखि १६ अर्ब लाग्ने देखिएको पनि उनले बताए । तर प्राडा पन्थीले व्यवस्थापन कमजोर हुँदा त्यति महँगो पर्ने गएको भन्दै अझै धेरै सस्तोमा सुरुङ मार्ग निर्माण गर्न सकिने बताए । ‘कुन उपायले खन्दा किफायती हुन्छ भनेर बुझ्न जरुरी छ,’ उनले भने, प्राडा पन्थीले सुरुङ मार्ग सडकबाहेक अरु थुप्रै कामका लागि पनि जमिनमुनिको भूभाग प्रयोग गर्न सकिने नर्वेली अनुभव बाँडे । उनले डाटा भण्डारणका लागि नर्वेमा सुरुङ खनेर जमिनमुनिको भाग प्रयोग गर्ने गरिएको र चीन लगायत देशहरुले नर्वेमा डाटा भण्डार गर्न पैसा खर्चिएको सुनाए । ‘१५/२० मिटर जमिनभित्र गएपछि त्यहाँ औसत तापक्रम हुन्छ, त्यहाँ थोरै ऊर्जाबाट पनि डाटा भण्डार गर्न सकिन्छ,’ उनले भने, ‘फलफूल भण्डारण पनि गर्न सकिन्छ, अब जमिनमाथिको ठाउँ कम भइरहेको बेला भूमिगत ठाउँ उपयोग गर्नु उपयुक्त हुन्छ ।’ प्राडा पन्थीले कडा चट्टान नभई माटैमाटोमात्रै भएको रसियाको राजधानी मस्को सहरमा समेत सुरुङ मार्ग बनाएर रेल कुदाउन सम्भव भएको उदाहरणसमेत दिएका थिए ।

इन्जिनियरिङ अध्ययन संस्थानका डीन शशिधरराम जोशीले सुरुङ इन्जिनियरिङ सम्बन्धी शोध केन्द्र डब्लुआरसीमा राखिनुपर्ने सुझाए । डब्लुआरसी प्रमुख निर्मल बरालले स्नातकोत्तर तहका ५ वटा र स्नातकका ७ वटा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । प्रोजेक्ट कोअर्डिनेटर रामप्रसाद पौडेलले नेपाल पहाडै पहाडको मुलुक भएको जथाभावी निर्माणले विनास निम्त्याउने हुँदा सुरुङ मार्ग अपरिहार्य भएको बताए ।
annapurna post

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!