मोदी गाउँपालिकाभित्र नदीजन्य सामग्री उत्खननमा रोक - News site from Nepal
मोदी गाउँपालिकाभित्र नदीजन्य सामग्री उत्खननमा रोक

पर्वत- पर्वतको मोदी गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका नदी तथा खोलाबाट नदीजन्य निर्माण सामग्री उत्खनन नगर्न सर्वसाधारण तथा सरोकारवालालाई आग्रह गरेको छ। गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै चालु आर्थिक वर्षका लागि भएको ठेक्का सम्झौता अनुसार निर्धारित अवधि समाप्त भइसकेकाले अब उत्खनन कार्य गर्न नपाइने जनाएको हो।

गाउँपालिकाले शुक्रबार सूचना प्रकाशित गर्दै मोदी खोला, पतिखोला, रतिखोला लगायतका नदी तथा खोलाबाट आर्थिक वर्ष २०८२/८३ का लागि भएको आयठेक्का सम्झौता बमोजिम २०८३ साल जेठ मसान्तसम्म मात्र नदीजन्य निर्माण सामग्री उत्खनन गर्न पाइने कानुनी व्यवस्था रहेको स्पष्ट पारेको छ।

सूचनामा तोकिएको अवधि सकिएपछि नदी तथा खोलाबाट ढुंगा, गिट्टी, बालुवा लगायतका नदीजन्य सामग्री उत्खनन तथा ओसारपसार गर्न नपाइने उल्लेख गरिएको छ। साथै उत्खननका लागि प्रयोग गरिएका डोजर, एक्साभेटर, ट्र्याक्टर, टिपरलगायतका साधन तथा संकलित सामग्री तत्काल हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिइएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीद्वारा जारी सूचनामा निर्धारित समयसीमा पश्चात् नदी तथा खोलाबाट निर्माण सामग्री उत्खनन, संकलन वा थुपार्ने कार्य गरेमा प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने चेतावनी दिइएको छ।

नदीजन्य स्रोतको अनियन्त्रित दोहन रोक्न, वातावरणीय सन्तुलन कायम राख्न तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ। स्थानीय तहले नदीजन्य स्रोतको संरक्षणसँगै राजस्व व्यवस्थापनलाई समेत व्यवस्थित बनाउन यस्तो कदम चालेको बताइएको छ।

स्थानीयवासी तथा निर्माण व्यवसायीलाई कानुनी व्यवस्था पालना गर्न आग्रह गर्दै गाउँपालिकाले नदी तथा खोलाको प्राकृतिक स्वरूप जोगाउन सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!