पर्वत, असार २ — पैयूँ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम, बजेट तथा वार्षिक योजना तर्जुमा प्रक्रियालाई थप सहभागितामूलक र प्रभावकारी बनाउन सरोकारवालासँग सुझाव संकलन गरेको छ।
मंगलबार गाउँपालिकाको सभाहलमा आयोजित सुझाव संकलन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीको अध्यक्षता रहेको थियो। कार्यक्रममा उपाध्यक्ष यामकुमारी राना, प्रमुख प्रशासकीय अधिकृत जीवन गैरे, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापक, सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा सामाजिक एवं बौद्धिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले गाउँपालिकाको समग्र विकासका लागि रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा पूर्वाधार विकासका विषयमा आफ्ना सुझाव, सल्लाह र धारणा राखेका थिए। स्थानीय आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर आगामी वर्षका योजना तथा कार्यक्रम तर्जुमा गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष ठकुरीले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटलाई जनमुखी, व्यावहारिक र परिणाममुखी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले प्राप्त सुझावहरूलाई योजनाबद्ध रूपमा समेटेर बजेट तथा कार्यक्रम निर्माण गरिने जानकारी दिनुभयो।
अध्यक्ष ठकुरीले गाउँपालिकाले हालै अनलाइन माध्यमबाट गुगल फर्म प्रयोग गरी समेत सुझाव संकलन अभियान सञ्चालन गरिरहेको जानकारी दिँदै आगामी दिनमा विषयगत तथा क्षेत्रगत छलफलमार्फत थप व्यापक सुझाव संकलन गरिने बताउनुभयो।
कार्यक्रममा प्राप्त सुझावहरूलाई समेटेर बजेट तथा वार्षिक योजना तर्जुमा प्रक्रियालाई थप समावेशी, पारदर्शी तथा जनउत्तरदायी बनाउने दिशामा गाउँपालिकाले प्रभावकारी पहल गर्ने प्रतिबद्धता जनाएको छ। स्थानीय सरकारको योजना निर्माण प्रक्रियामा नागरिक सहभागिता बढाउने उद्देश्यले आयोजित कार्यक्रमलाई सहभागीहरूले सकारात्मक र उपलब्धिमूलक भएको बताएका छन्।






