शंकरपोखरी जीप दुर्घटनाका पाँचै जना घाईतेको पोखरामा उपचार हुँदै   - News site from Nepal
पर्वत, २९ असोज : पर्वतको फलेवास नगरपालिका–३ सिमखेतमा बोलेरो पिकअप दुर्घटना हुँदा एक बालिका सहित पाँच जना घाइते भएका छन् ।
सदरमुकाम कुश्माबाट भेडावारीतर्फ जाँदै गरेको ग ३ च ८७०३ नम्बरको डबल क्याप बोलेरो पिकअप गएराती ९ बजे दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार कुश्मा–थापाठाना भित्री सडकखण्डमा उकालोमा गाडी रोकेर सामान अनलोड गर्ने क्रममा पिकअप पछाडि सरेर सडकबाट करिब ८० मिटर तल खसेको थियो ।
दुर्घटनामा फलेवास नगरपालिका–३ शंकरपोखरीकी ११ वर्षीया समृद्धि अधिकारी, ३३ वर्षीया सन्तु गौतम, उहाँकी दुई वर्षीया छोरी सलिना गौतम र ५० वर्षीया जयालक्ष्मी अधिकारी घाइते भएका छन् । त्यस्तै, फलेवास नगरपालिका–२ भेडावारीकी ५५ वर्षीया सुमित्रा थापा पनि घाइते हुनुभएको छ ।
घाइतेमध्ये समृद्धिको बायाँ हातलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ भने सन्तुको अनुहार र दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ । दुई वर्षीया सलिनाको छाती र अनुहारमा चोट लागेको छ ।
त्यसैगरी, जयालक्ष्मीको बायाँ हात र ढाडमा तथा सुमित्राको छाती, कम्मर र ढाडमा चोट लागेको छ । घाइते सबैको प्रदेश अस्पतालमा सामान्य परिक्षण पछि थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक बिजय यादबले जानकारी दिनुभयो ।
पिकअप चालक फलेवास नगरपालिका–२ थापाठानाका करिब ४० वर्षीय भानुभक्त शर्मा सामान्य अवस्थामा रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!