मन्त्री श्रेष्ठसँग विपद् ग्रस्त जलजलावासीको गुनासो : हाम्रो व्यवस्थापन छिटो होस्  - News site from Nepal
पर्वत, १३ मङ्सिर : उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बिराजभक्त श्रेष्ठले शनिवार विपद्ग्रस्त पर्वतको जलजलाका विभिन्न बस्तीको निरिक्षण गर्नुभएको छ ।
गत असोज ८ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण जलजलामा मात्र एक सय २६ घरपरिवार पुर्ण रुपमा बिस्थापित बन्नुका साथै भौतिक संरचनामा ठुलो क्षति पुगेको छ । विपद्पछि बस्तीमा आएका मन्त्रीसँग जलजलावासीले विस्थापित परिवारलाई तत्काल पुर्नस्थापना गर्न माग गरेका छन् । विभिन्न संघ संस्थाहरुले सामान्य खाद्यान्न, लत्ताकपडा जस्ता सामाग्री सहयोग गरेको भएपनि सरकारको तर्फवाट कुनै राहत, पुर्नस्थापना र पुर्नवासका लागि पहल नभएको भन्दै बाढीपहिरो पिडितको जीवनरक्षाका लागि तदारुकताका साथ लाग्न अनुरोध गरेका छन् ।
बाढीपहिरो पिडित भएको दुई महिना वितिसक्दा पनि राज्यले घोषणा गरेका राहत नपाएको, सुरक्षित स्थानमा आवास निर्माणका लागि प्रकृया समेत शुरु नगरिएको भन्दै उनिहरु आक्रोशित बनेका हुन् । हामीहरुलाई तत्काल सुरक्षित स्थानमा बस्ने बातावरण मिलाउन सरकारसँग माग गरेका छौ, स्थानीय पिडित रुद्र जिसीले भन्नुभयो ।
त्यस्तै बाढीले बगाएको पुल, सिंचाई कुलो, तटिय क्षेत्रमा तटबन्धन, कृषि तथा दुध संकलन केन्द्र, लस्ती खोलाले बगाएको सयौ रोपनी, र खानेपानी आयोजनाको पुर्ननिर्माण गर्न माग गरिएको स्थानीय हरेमबहादुर खत्रीले बताउनुभयो ।
जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले आफुले पटक पटक मन्त्रालयमा पुगेर पनि यहाँका भौतिक संरचना पुर्ननिर्माण र विस्थापित परिवारको पुर्नवासको माग गरेको भएपनि सुनुवाई नभएको बताउनुभयो । उहाँले मन्त्री श्रेष्ठलाई जलजलाका सम्पुर्ण क्षतिको बारेमा व्रिफिङ समेत गर्दै तत्काल बजेट व्यवस्थापन गरी सरकारको अनुभूति दिलाउन अनुरोध समेत गर्नुभएको थियो ।
सो अवसरमा मन्त्री श्रेष्ठले यहाँको बास्तविक अवस्था बुझ्‌नकै लागि आफु फिल्डमा आएको बताउँदै काठमाण्डौ फर्किएलगत्तै पिडितहरुको गुनासो सम्वोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले बाढीपहिरोले बगाएर वा पुरिएर विस्थापित बनेका परिवारको पुर्नस्थापनाका लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको बताउँदै अब तत्कालै आवश्यक रकम जिल्लामा उपलव्ध गराईने बताउनुभयो ।
उहाँले जिल्ला प्रशासन कार्यालय र सम्वन्धित पालिकामार्फत पिडितहरुलाई आवास निर्माण तथा अन्य सेवा सुविधाहरु उपलव्ध गराईने बताउँदै सरकारले प्रकृयागत ढंगले काम गरिरहेकोले नआत्तिन आग्रह गर्नुभयो । हामी पिडितहरुकै राहत र पुर्नस्थापना तथा दिर्घकालीन व्यवस्थापनका लागि काम गरिरहेका छौ, केहि ढिलो भएजस्तो भएको छ अब हामी छिटै उपलव्ध गराउँछौ उहाँले पिडितसँग भन्नुभयो ।
उहाँले जलजला गाउँपालिका र जिल्ला प्रशासन कार्यालयलाई सम्पुर्ण विवरणहरु उपलव्ध गराउन समेत आग्रह गर्नुभएको थियो ।
मन्त्री श्रेष्ठले शनिवारै पर्वतको मोदी गाउँपालिका स्थित सुनचाप पानीखोल्सा पहिरो, नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्र र जलजलाका केराबारी, मिलनचोक, फर्से, लस्ती लगायतका स्थानको पनि स्थलगत निरिक्षण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!