पर्वत – नयाँ पुस्तामा मौलिक कला र संस्कृतिको पुस्तान्तरण तथा बालबालिकाको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले पर्वतमा पहिलो पटक जिल्ला स्तरीय बाल पञ्चेबाजा प्रतियोगिता सम्पन्न भएको छ
एकीकृत सेवा कार्यालय पर्वतले विश्व बाल दिवसको अवसर पारेर ‘गायन तथा पञ्चेबाजाको सङ्गीतमार्फत बाल अधिकार, आवाज र प्रतिभा प्रस्तुति’ भन्ने उद्देश्य राखेर विद्यालय तहमा अध्ययनरत बालबालिकाहरूबिच जिल्लास्तरीय प्रतियोगिताको आयोजना गरेको हो । कक्षा १२ सम्म अध्ययरत विद्यार्थीहरू सहभागी भएको प्रतियोगिता पहिलो पटक आयोजना गरिएको हो ।
जिल्लाका विभिन्न स्थानीय तहहरूबाट सात ओटा विद्यालयहरू सहभागी भएको प्रतियोगितामा खरीबोट गोविन्दनाथ देव शर्मा माध्यमिक विद्यालय कुश्मा प्रथम, नारायण माध्यमिक विद्यालय कुश्मा. द्वितीय, शालिजा माध्यमिक विद्यालय जलजला तृतीय र स्वधर्म माध्यमिक विद्यालय महाशिला सान्त्वना भएका छन् । यी समूहहरूलाई पुरस्कार स्वरूप क्रमशः १५ हजार, १० हजार, ७ हजार र ४ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
यस्तै विधागततर्फ दमाहामा नारायण मा.वि.कुश्मा, झ्यालीमा काफलचौर मा.वि. कुश्मा, ट्याम्कोमा महेन्द्र शिखरी मा.वि. मोदी, ढोलकीमा गोविन्दनाथ देव शर्मा मा.वि. कुश्मा, सहनाईमा स्वधर्म मा.वि. महाशिला, नृत्यमा शालिजा मा.वि. जलजला र कर्नालमा विद्याज्योति मा.वि. जलजला उत्कृष्ट भएका छन् ।
एकीकृत सेवा कार्यालय पर्वतका प्रमुख जीवन पौडेलले बालबालिकालाई पाठ्यपुस्तकको अध्ययनमा मात्रै सीमित नराखी उनीहरूमा रहेको कला, सिप र क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले बालबालिका नै मौलिक कला र संस्कृतिका भावी संरक्षक भएकाले सानै उमेरदेखि परम्परागत बाजा र संस्कृतिसँग परिचित गराउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी बद्रीप्रसाद तिवारी, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य इन्द्रमान खत्री, नेपाल सरकारका उपसचिव राजेन्द्रबहादुर क्षेत्री, जिल्ला बाल अधिकार समितिका अध्यक्ष नवीन जि.सी, कार्यक्रम आयोजना भएको शिवालय माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद पोखरेल लगायतले पनि बोल्नुभएको थियो ।
जिल्ला बाल क्लब सञ्जाल पर्वतका अध्यक्ष दिप्सन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लक्ष्मण बि.सी.ले गर्नुभएको थियो ।






