पर्वत ८ मङ्सिर : पर्वतका बाढीपहिरो प्रभावित क्षेत्रको भौगर्भिक तथा भू–जोखिम मूल्यांकनपछि जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने सुझाव दिइएको छ ।
गत असोज ८ देखि ११ गतेसम्म परेको अत्यधिक वर्षापछि प्रभावित बनेका पर्वतका विभिन्न बस्तीको स्थलगत अध्ययन गरी तयार पारिएको प्रतिवेदनमा पहिरो, नदी कटान, जमिनमा देखिएका चिरा, भू–स्खलन तथा पानीको अव्यवस्थित निकासका कारण कतिपय बस्तीमा उच्चदेखि अति उच्च जोखिम रहेको औँल्याउँदै तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुझाव दिईएको हो ।
अध्ययन प्रतिवेदनमा बस्तीको भौगोलिक अवस्था, पहिरोका कारण, भौतिक तथा मानवीय प्रभाव, जोखिमको अवस्था र तत्कालीन तथा दीर्घकालीन न्यूनीकरणका उपाय समेटिएका छन् ।
स्टार्ट फण्ड नेपालको सहयोगमा किडाक नेपाल र सोर्डेक नेपालले मंगलवार कुश्मामा आयोजना गरेको सुरक्षित आवास योजना, विपद् जोखिम तथा पुर्वतयारी विषयक क्षमता अभिबृछि कार्यक्रममा भुगर्भविद् सुमन पाण्डेले प्रतिवेदन सार्वजनिक गर्नुभएको हो ।
पाण्डेले जलजला गाउँपालिकाका फर्से, किराखोर, खानीगाउँ, ताङमाङ, मिलनचोक र केरावारी क्षेत्रलाई विशेष जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरेको छ । यीमध्ये कतिपय बस्तीमा पुराना पहिरो पुनः सक्रिय भएका छन् भने कतिपय क्षेत्रमा नदी कटान, सडक कटान र पानी निकासको समस्याले जमिन थप अस्थिर बनेको पाइएको उहाँले बताउनुभयो ।
जलजला गाउँपालिका–८ स्थित फर्से बजार कालीगण्डकी नदीको बायाँ किनारमा रहेको नदीजन्य टेरेस क्षेत्रमा अवस्थित छ । अत्याधिक वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीले नदी किनारमा तीव्र कटान गरेको र आसपासका भिरालो क्षेत्रमा पहिरो गएको पाईएको पाण्डेले बताउनुभयो । फर्सेमा ३७ घरधुरी विस्थापित भएका छन् भने थप २७ घरधुरी जोखिममा छन् । बाढीका कारण झोलुङ्गे पुलसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
अध्ययनले फर्सेका जोखिममा रहेका घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने सुझाव दिएको छ । सक्रिय नदी कटान तथा पहिरो प्रभावित क्षेत्रमा प्रवेश रोक्न, नदीको जलस्तर र सम्भावित बाढीबारे पूर्वसूचना प्रणाली सञ्चालन गर्न तथा आवश्यक स्थानमा नदी किनार संरक्षण गर्नुपर्ने सुझाव छ । दीर्घकालीन रूपमा मजुवा तथा हट्टाले क्षेत्रमा सम्भावित पुनःस्थापना स्थल पहिचान गरी विस्तृत प्राविधिक अध्ययन गर्नुपर्ने उहाँले बताउनुभयो ।
जलजला–७ को किराखोर बस्तीलाई भने अति उच्च जोखिमयुक्त क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ । करिब ३५ घरधुरी रहेको बस्ती वरिपरिका पुराना पहिरो पुनः सक्रिय हुनुका साथै जमिनमा १० देखि १५ सेन्टिमिटरसम्म चिरा र कतिपय स्थानमा करिब २० सेन्टिमिटरसम्म जमिन सरेको पाइएको छ । अध्ययनअनुसार किराखोरका सबै ३५ घरधुरी विस्थापित भएका छन् र करिब ३० घरधुरीसँग वैकल्पिक जग्गा समेत नभएको पाईएको छ ।
किराखोरमा पुनः जोखिमयुक्त स्थानमा बसोबास गराउनु उपयुक्त नहुने भन्दै सबै घरधुरीलाई सुरक्षित स्थानमा स्थायी रूपमा स्थानान्तरण गर्न सिफारिस गरिएको छ । यसैगरी खानीगाउँमा करिब ३६ घरधुरीमध्ये छ घरधुरी पूर्ण रूपमा विस्थापित भएका छन् भने सबै घरमा चिरा परेको पाइएको छ । बस्तीको दुवैतर्फ तथा तल्लो भागमा सक्रिय पहिरो रहेका कारण जोखिम उच्चदेखि अति उच्च रहेको अध्ययनले जनाएको छ । पुरानो तामा खानीका सम्भावित भूमिगत संरचनाले जमिनको स्थिरतामा असर पार्न सक्ने भएकाले त्यसबारे थप भू–प्राविधिक तथा खानीसम्बन्धी अध्ययन गर्नुपर्ने सुझाव दिइएको छ ।
यस्तै ताङमाङमा रहेका १९ घरधुरीसमेत पहिरोको जोखिमका कारण विस्थापित भएका छन् । सडक कटान र पानी निकास अव्यवस्थित हुँदा जमिन थप अस्थिर बनेको अध्ययनमा उल्लेख छ । सबै घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विकल्पलाई प्राथमिकता दिन र सडक तथा पानी निकास व्यवस्थापन गर्न सुझाव दिइएको छ ।
यता मिलनचोकमा भने तत्काल सम्पूर्ण बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्था नरहेको तर नियमित अनुगमन आवश्यक रहेको अध्ययनको निष्कर्ष छ भने केरावारीमा माथिल्लो भागको ठूलो पहिरो तथा खोल्सीबाट आउने पानी र माटोका कारण बस्ती जोखिममा परेको छ । चार घर पूर्ण रूपमा भत्किएका छन् भने थप १२ घर प्रभावित भएका छन् । सडकको तल्लो भाग तथा खोल्सी आसपासका घर अति उच्च जोखिममा रहेको भन्दै भत्किएका घर पुरानै स्थानमा पुनःनिर्माण नगर्न र माथिल्लो पहिरो, खोल्सी तथा सडकको पानी निकास व्यवस्थापन गर्न सुझाव दिइएको छ ।
पहिरो स्थिरीकरण, नदी नियन्त्रण, सतही तथा भूमिगत पानीको निकास, सडकको भिरालो भागको स्थिरीकरण, जैविक इन्जिनियरिङ तथा पूर्वसूचना प्रणालीलाई प्राथमिकता दिनुपर्ने प्रतिवेदनले औँल्याएको छ ।
भुगर्भविद्ले जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित आवासको व्यवस्था गर्न, जोखिमयुक्त क्षेत्रमा प्रवेश रोक्न र जमिनका चिरा तथा पहिरोको नियमित अनुगमन गर्न सुझाव दिएका छन् । जोखिमयुक्त बस्तीको पुनःस्थापना भने विस्तृत भू–प्राविधिक तथा स्थलगत अध्ययनपछि मात्रै टुङ्गो लगाउनुपर्ने प्रतिवेदनको निष्कर्ष रहेको छ ।
कार्यक्रममा जलजला र फलेवासका जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत किडाक नेपालका कार्यक्रम निर्देशक गौतमराज अधिकारी संचालक सोर्डेक नेपालका रमेश रिजाल र अध्यक्षता देवीप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो । सो अवसरमा सहभागिहरुले विभिन्न सुझावहरु राखेका थिए ।






