पर्वतको फलेवासमा ‘लिटरेचर फेस्टिभल–२०८३’ हुँदै, साहित्यदेखि खेलकुदसम्मका गतिविधि समेटिने - News site from Nepal

पर्वत- पर्वतको फलेवासमा स्थानीय मौलिकता, भाषा, साहित्य, कला, संस्कृति तथा प्रतिभाको प्रवर्द्धन गर्ने उद्देश्यले ‘फलेवास लिटरेचर फेस्टिभल–२०८३’ आयोजना हुने भएको छ। फलेवास नगरपालिका–४, खानीगाउँस्थित भवानीपोखरा बरडाँडा पार्क परिसरमा असोज ३० गतेदेखि कात्तिक १ गतेसम्म सञ्चालन हुने महोत्सवमा साहित्यिक विमर्शदेखि सांस्कृतिक प्रस्तुति, खेलकुद र स्थानीय उत्पादनको प्रदर्शनीसम्मका विविध कार्यक्रम समेटिने भएका छन्।

फलेवासको मौलिकता, ज्ञान, लोकजीवन, भाषा, साहित्य, कला र संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा परिचित गराउने तथा स्थानीय प्रतिभा, युवा, स्रष्टा, उद्यमी र बौद्धिक व्यक्तित्वबीच विचार, अनुभव र सिर्जनाको आदानप्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

महोत्सवमा राष्ट्रिय कलाकार तथा साहित्यकारका सांस्कृतिक र साहित्यिक प्रस्तुति, विभिन्न विषयमा प्यानल छलफल, म्याराथन दौड, महिला तथा बालबालिकालाई लक्षित म्युजिकल चियर, घैँटोफोर, ज्येष्ठ नागरिक सम्मान र स्थानीय उत्पादनको प्रदर्शनीलगायतका कार्यक्रम सञ्चालन हुनेछन्।

त्यसैगरी, स्थानीय मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले परम्परागत चाडपर्वमा खेलिने चहर्मा, रोटे, लिङ्गे पिङलगायतका गतिविधि समावेश गरिनेछ। भजन–कीर्तन, रत्यौली, पञ्चेबाजा, काभ्रे तथा सालेजो र देवी लीलाजस्ता स्थानीय सांस्कृतिक प्रस्तुतिले महोत्सवलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।

महोत्सवमा १५ किलोमिटर म्याराथन दौडसमेत आयोजना गरिनेछ। यसले खेलकुदमार्फत स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै फलेवासको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास आयोजकको छ। स्थानीय उत्पादनको प्रदर्शनीमार्फत स्थानीय उद्यमी तथा उत्पादकलाई आफ्ना उत्पादनको प्रचारप्रसार र बजारीकरणको अवसरसमेत उपलब्ध गराउने लक्ष्य राखिएको छ।

फलेवासको ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक पहिचानलाई उजागर गर्दै स्थानीय समुदायको सहभागिता बढाउने र साहित्य, संस्कृति तथा पर्यटनलाई एकै ठाउँमा जोड्ने महोत्सवको उद्देश्य रहेको छ। यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो भाषा, कला, साहित्य र परम्परासँग जोड्नुका साथै स्थानीय सिर्जनशीलता र प्रतिभालाई व्यापक पहिचान दिलाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

भवनपोखरा बरडाँडा पार्क व्यवस्थापन समिति र मोती सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा महोत्सव सञ्चालन हुन लागेको हो। आयोजकले महोत्सवमा सहभागी भई कार्यक्रमको गरिमा बढाउन साहित्यकार, कलाकार, बुद्धिजीवी, उद्यमी, स्थानीय बासिन्दा तथा सरोकारवालालाई आमन्त्रण गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!