पर्वत- कुनै समय थियो गाउँमा सवै घरका छानाहरु खरले छाईथ्यो । घर छाउनकै लागि वा पशुपंक्षीलाई घाँसका लागि खरबारीमा खर रोप्ने र छेउछाउमा बाबियो रोप्ने चलन हुन्थ्यो । गाउँमा युवायुवतीहरुको समुह समेत प्रसस्त हुन्थे ।
तर पछिल्ला केहि वर्ष यता न खरले छाएका घर देख्न पाईन्छ न त बाबियो नै । युवा जनशक्तिको पलायनदर बढेसँगै गाउँहरु बृद्धबृद्धाको आश्रयस्थलको रुपमा परिणत हुन थालेको भान हुन्छ । आधुनिक घर निर्माण, प्लाष्टिक र जुटका सामानहरुको पर्याप्ततासँगै युवा शक्तिको बढ्दो पलायनका कारण बडादशैमा बाबियोको लिंङ्गे पिङ हाल्ने चलन समेत लोप हुन थालेको बेला पर्वतमा सशस्त्र प्रहरी बलले संस्कृति संरक्षण गर्न थालेको छ ।
सशस्त्र प्रहरी बल २५ नंं. गण हेक्वा चण्डिका पर्वतले जिल्ला सदरमुकाम कुश्माबजारका दुई स्थानमा लिङ्गे पिङ स्थापना गरेको हो । मध्यपहाडी लोकमार्ग नजिकै पर्ने बान्द्रबिडि चौर र बडागाउँ खेल मैदानमा लिङ्गे पिङ स्थापना गरेर सर्वसाधारणहरुलाई मनोरञ्जन लिने वातावरण सिर्जना गरेको छ ।
गणपती तथा शसस्त्र प्रहरी उपरिक्षक क्षितिज क्षेत्रीले युवापुस्ताको पलायनसँगै हराउँदै गएको पिङ संस्कृतिको जगेर्नाका लागि आफुहरुले वर्षेनी लिङ्गे पिङ स्थापना गर्दै आएको बताउनुभयो । उहाँले लिङ्गे पिङ खेल्नका लागि बालबालिका लगायत नयाँ पुस्ता मात्र नभई बृद्ध बृद्धाहरु समेत झुम्मिने गरेको बताउनुभयो । विशेषगरी पिङ बनाएपछि दशै आएको अनुभूति स्थानीयले गरिरहेको आभास मिलेको उहाँको भनाई छ । यो खबर धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ ।
उहाँले स्थानीय वडा कार्यालयहरुले माग गरेमा जुनसुकै स्थानमा पनि आफ्ना सशस्त्र प्रहरी कर्मचारीहरु परिचालन गरी पिङ स्थापना गरिदिने बताउनुभयो । संस्कृतिको संरक्षण गर्नु हामी सवैको दायित्व हो भन्ने सम्झेर यो काम गरिएको उहाँको भनाई छ ।
कुश्मा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष इश्वर गिरीले सशस्त्र प्रहरीको सहयोगमा पिङ स्थापना भएपछि दशै पर्वको रौनकता बढेको बताउनुभयो । उहाँले जनशक्ति र स्रोत साधनको अभावमा पिङ देखिन छाडेको बेला आफ्नो वडामा आएर स्थापना गरिदिएकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो ।
जिल्लाको सदरमुकाम देखि एउटै वडामा पनि दर्जनौ लिङ्गे पिङ हालेर खेल्ने र दशैमा रमाउने प्रचलन पछिल्लो समय लोप हुँदै गएको छ । पहिले पहिले गाउँमा युवाहरु हुन्थे, बाबियो हुन्थ्यो र ठाउँ ठाउँमा पिङ हालिन्थ्यो तर अहिले न गाउँमा युवा छन् न बाबियोनै त्यसैले यस वर्षपनि पिङ्ग स्थापना नगरिएको पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ का युवा अभिषेक सापकोटाले बताउनुभयो । पिङ खेल्ने मान्छेनै नभएपछि पिङ्ग हुने त कुरै भएननी ।
दक्षिण पर्वतका विहादि, महाशिला, र फलेवासका एकाध ठाउँमा पिङ राखेको भएपनि ती ठाउँहरुमा समेत जुट र प्लाष्टिकका डोरीको प्रयोग गरिएको पाईएको छ । विगतका बर्षहरुमा जस्तो धेरै ठाउँमा पिङ्ग राख्ने र खेल्ने प्रचलन हराउँदै गएको स्थानीयवासीहरु बताउँछन् ।यो खबर धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ ।
पिङ स्थापना गर्नका लागि घाँस जातीको बाबियो र वाँस आवश्यक पर्छ । पछिल्लो समय पशुपालनमा युवाहरुको कम आकर्षण भएकाले बाबियो समेत लोप हुँदै गएको छ । यस वर्ष पिङ राखेका ठाउँहरुमा पनि प्लाष्टिक तथा जुटका डोराबाट निर्मित लठ्ठा प्रयोग गरिएको फलेवासका धर्म पौडेलले बताउनुभयो ।
पछिल्लो समय बढ्दो मात्रामा भित्रिएको सञ्चारका साधनको पहुँच, युवा पलायन जस्ता कारणले दशैमा पिङ हाल्ने, खेल्ने र मनोरञ्जन लिने संस्कृति लोप हुँदै गएको समाजसेवी मानकुमारी गिरीले बताउनुभयो । ग्रामीण भेगका केहि ठाउँमा पिङ्ग हाल्ने चलन भएपनि शहरी क्षेत्रमा भने पुर्ण रुपमा हटिसकेको उहाँको भनाई रहेको छ । ‘कक्षा १२ पास गरेपछि नेपालमै नबस्ने अवस्था आएको छ जसले गर्दा अब नेपालका ग्रामीण क्षेत्र बृद्धबृद्धा बस्ने मात्र ठाउँ होकि जस्तो देखिन थालिसक्यो’ गिरीले भन्नुभयो ।
हिन्दु नेपालीहरुको महान पर्व दशै, तिहार लगायतका पर्वको सम्वद्र्धन र प्रवद्र्धनमा सवै एकजुट भएर लाग्नुपर्ने विश्व हिन्दु महासंघ पर्वतका अध्यक्ष लोकनाथ आचार्यले बताउनुभयो । वडादशैको आवागमन सँगै केहि दिन यता जिल्ला सदरमुकाम र ग्रामीण क्षेत्रमा समेत चहलपहल बढेको छ । विद्यालयहरु विदा हुनु, दशै मनाउनका लागि स्वदेश तथा विदेश गएकाहरु पनि आफ्नो थातथलोमा फर्किन थालेपछि चहलपहल बढेको हो ।






