पर्वतको फर्सेका बाढी पिडितलाई ग्यास र खाद्यान्न वितरण - News site from Nepal
पर्वतको फर्सेका बाढी पिडितलाई ग्यास र खाद्यान्न वितरण

पर्वत १९ असोज : भारी वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीले घरबारबिहीन बनेका पर्वतको जलजला गाउँपालिका वडा नं. ८ फर्सेका बासिन्दालाई खाना पकाउने एलपी ग्याँस वितरण गरिएको छ ।

गण्डकी प्रदेशका बाढी तथा पहिरो प्रभावित समुदायका लागि आपतकालीन मानविय प्रतिकार्य परियोजना अन्तर्गत खाद्यान्न तथा गैर खाद्यान्न सामाग्री वितरण गरिएको हो । स्टार फण्ड नेपाल तथा युकेएडको आर्थिक सहयोग तथा किडाक नेपाल तथा सोडेक नेपालको समन्वयमा पुर्ण रुपमा विस्थापित बनेका ३० परिवारलाई ग्याँस वितरण गरिएको हो । ग्याससँगै चामल, खानेतेल, दाल, नुन पनि वितरण गरिएको छ ।

विस्थापित बनेर टेण्टमा बस्दै आएका परिवारलाई खाना पकाउन दाउराको अभाव भएपछि ग्यास वितरण गरिएको हो । खाद्यान्न तथा अन्य आवश्यक सामाग्रीहरु विभिन्न संस्थाले वितरण गरेको भएपनि पकाएर खान समस्या भएको गुनासो पछि ग्यास वितरण गरिएको सोर्डेक नेपालका अध्यक्ष देवीप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

तिमिल्सिनाका अनुसार पहिलो चरणमा पिडित परिवारलाई ग्यास र खाद्यान्न लगायत रु. ११ हजार तीन सय रुपैया बराबरका सामाग्री वितरण गरिएको छ । अब ४५ दिनसम्म विभिन्न चरणमा विस्थापित परिवारका लागि आवश्यकताको आधारमा विभिन्न उपयोगी सामाग्री वितरण गरिने भएको छ ।

लत्ताकपडा, भाडाकुँडा, स्वास्थ्य सामाग्री तथा पुर्नस्थापनाका लागि आवश्यक परेमा जस्ता पाता वितरण गरिने उहाँले बताउनुभयो । घरबारबिहीन भएपनि उनिहरुको दैनिक जीवनयापनमा कुनै असहज नहोस् भनेर विभिन्न दातृ निकायको सहयोगमा राहत तथा पुर्नस्थापनामा जोड दिईएको उहाँको भनाई छ ।

परियोजना अन्तर्गत पर्वतका तीन सय भन्दा बढि परिवारलाई राहत सामाग्री वितरण गरिने भएको छ । गत असोज ८ देखि ११ गतेसम्मको बर्षापछि बाढी तथा पहिरोबाट बढिमात्रामा प्रभावित पर्वत, बागलुङ र मनाङमा उक्त परियोजना लागु हुने भएको छ । तीन जिल्लाका झण्डै १५ सय परिवारलाई आपतकालीन मानविय प्रतिकार्यमा सहयोग गरिने भएको छ ।

उक्त योजनाका लागि रु. तीन करोड भन्दा बढि रकम खर्चिने भएको छ । बाढी प्रभावित समुदायको माग र आवश्यकताको आधारमा खाद्यान्न तथा गैर खाद्यान्नका सामाग्री वितरण गरिने सोडेक नेपालका महासचिब टंकलाल भुसालले जानकारी दिनुभयो । आजदेखि पर्वतका अन्य क्षेत्र तथा बागलुङ र मनाङमा समेत सामाग्रीहरु वितरणको कार्यक्रम रहेको भुसालको भनाई छ ।
कालीगण्डकीको बाढीका कारण फर्से गाउँका मात्रै ७० घरपरिवार विस्थापित बनेका छन् । अहिले उनिहरु बस्तीभन्दा माथिको पाखोमा अस्थायी टेण्ट टाँगेर बस्दै आएका छन् । उनिहरुलाई स्थानीय जलजला गाउँपालिका, विभिन्न सामाजिक संघ संस्थाले विभिन्न उपभोग्यीय सामाग्री सहयो गरिरहेको वडा नंं. ८ का अध्यक्ष हरिबिकास जिसीले जानकारी दिनुभयो ।

तत्कालका लागि अस्थायी बासको व्यवस्था भएपनि उनिहरुले दिर्घकालीन पुर्नस्थापनाको माग गरेका छन् । बिस्तारै चिसो बढ्दै गएकाले टेण्टमुनि रात कटाउन मुस्किल पर्न थालेको टेण्टमा बस्दै आएउनुभएका बृद्ध गंगाबहादुर क्षेत्रीले बताउनुभयो । कतिपय व्यक्तिहरु बिरामी पर्न थालेको उहाँको भनाई छ ।

यता जलजला गाउँपालिकाले विस्थापित परिवारहरुको लागि अस्थायी पुर्नस्थापना गरिएको र दिर्घकालीन बासका लागि गृहकार्य भैरहेको अध्यक्ष राजु आचार्यले बताउनुभयो । विस्थापित समुदायका लागि फर्सेमै स्वास्थ्य इकाई खडा गरेर बिरामीहरुको परिक्षण तथा निशुल्क औषधोपचारका कार्यक्रम समेत संचालन गरिएको आचार्यले बताउनुभयो ।

पर्वतमा मात्र तीन सय परिवार विस्थापित बनेका छन् भने सवैभन्दा बढि जलजला गाउँपालिकामा एक सय ७१ परिवार बाढीपहिरोबाट प्रभावित बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!