पर्वतका युवा व्यवसायीका रूपमा परिचित हमाल नेपाल रेडक्रस सोसाइटी, रोटरी, लायन्सलगायत विभिन्न सामाजिक तथा धार्मिक संघ–संस्थासँग आबद्ध छन्। सामाजिक सेवा तथा परोपकारी गतिविधिमा समेत सक्रिय रहँदै आएका हमालले विभिन्न क्षेत्रमा भूमिका निर्वाह गर्दै आएको बताइएको छ।
१४औँ महाधिवेशनमा थोरै मतले पराजित भएका हमालले यसपटक पुनः खुला तर्फबाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका हुन्। उनले अग्रज, साथीहरू तथा महाधिवेशन प्रतिनिधिहरूसँग साथ, सहयोग, शुभेच्छा र अमूल्य मतका लागि अपिल गरेका छन्।
हमालले जारी गरेको अपिलमा भनेका छन्, “यसपटक पनि सम्पूर्ण साथीहरूको भावना, योगदान र विश्वासलाई आत्मसात् गर्दै सबैसँग सहकार्य, एकता र आपसी विश्वासका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।”
उनले नेपाली कांग्रेसको संगठनलाई अझ सुदृढ र गतिशील बनाउन आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्ने उल्लेख गर्दै महाधिवेशन प्रतिनिधिहरूको सहयोग र मतको अपेक्षा गरेका छन्।
यसैबीच, पर्वतमा कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशन प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि भोलि बिहान ८ बजेदेखि मतदान हुने भएको छ।
निर्वाचन अधिकृत अधिवक्ता प्रकाश शर्माका अनुसार प्रदेश ‘क’को मतदान बन्दना होटल र प्रदेश ‘ख’को मतदान युनियन पार्टी प्यालेसमा हुनेछ। दुवै प्रदेशमा गरी १ हजार ६ सय ८६ जना मतदाताले मतदान गर्ने शर्माले ‘नयाँ विश्व’लाई जानकारी दिनुभयो।
मतदानबाट प्रदेश अधिवेशन प्रतिनिधिसँगै केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुने जनाइएको छ।






