पैयूँमा विद्यालयस्तरीय एकल गायन प्रतियोगिता सम्पन्न - News site from Nepal
पैयूँमा विद्यालयस्तरीय एकल गायन प्रतियोगिता सम्पन्न

पर्वत – पैयूँ गाउँपालिकाको आयोजनामा विद्यालयस्तरीय एकल गायन प्रतियोगिता–२०८३ सम्पन्न भएको छ। गाउँ कार्यपालिकाको कार्यालय, हुवास, पर्वतद्वारा आयोजित प्रतियोगितामा गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका २६ जना विद्यार्थीले सहभागिता जनाएका थिए।

प्रतियोगितामा शब्द चिन्तन अंग्रेजी आवासीय माध्यमिक विद्यालयकी सदिक्षा न्यौपाने प्रथम भएकी छन्। त्यस्तै देउराली आधारभूत विद्यालयका जोन विक द्वितीय तथा  निर्मल जनसेवा माध्यमिक विद्यालय, पैयूँ–२ की यमुना गुरुङ र  पर्वत अंग्रेजी आवासीय माध्यमिक विद्यालयकी सावित्री विक तृतीय भएका छन्।

प्रतियोगिताको अध्यक्षता गाउँपालिकाका उपाध्यक्ष यामकुमारी रानाले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी भण्डारी, सामाजिक विकास समितिका संयोजक टुकलाल न्यौपाने, वडा नं. ६ का वडाध्यक्ष गंगाधर अधिकारीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न गीत प्रस्तुत गर्दै आफ्नो गायन प्रतिभा प्रदर्शन गरेका थिए। प्रतियोगिताको सञ्चालन गाउँपालिकाकी सहायक शिक्षा अधिकृत कल्पना देवी शर्माले गर्नुभएको थियो।

विद्यार्थीमा लुकेर रहेका प्रतिभाको पहिचान, प्रस्फुटन र प्रोत्साहन गर्नुका साथै कला, संस्कृति तथा संगीतप्रति रुचि अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले जनाएको छ। प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ।

प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। गाउँपालिकाले विजेता तथा सहभागी सबै विद्यार्थीलाई बधाई दिँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने विद्यालय परिवार, शिक्षक तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!