रामचन्द्र भुसाल
फलेवास – देशभर पछिल्लो समय भइरहेको अविरल वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै पर्वतको फलेवास नगरपालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय आज बन्द रहने भएका छन्।
फलेवास नगरपालिकाले २०८३ असोज ९ गते शुक्रबार एक दिनका लागि नगर क्षेत्रभित्रका सबै विद्यालयको पठनपाठन तथा नियमित शैक्षिक गतिविधि बन्द गर्ने निर्णय गरेको हो।
नगरपालिकाको निर्णयबारे शिक्षा अधिकृत कृष्ण प्रसाद आचार्यले जानकारी दिँदै पछिल्लो समय देशभर भइरहेको निरन्तर वर्षा तथा प्रतिकूल मौसमका कारण विद्यार्थी, शिक्षक तथा कर्मचारीको आवतजावतमा जोखिम हुन सक्ने भएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको बताउनुभयो।
जल तथा मौसम विज्ञानसम्बन्धी पछिल्ला पूर्वानुमानमा पनि असोज ९ गते गण्डकीसहित देशका विभिन्न भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना देखाइएको छ। वर्षाका कारण बाढी, पहिरो, डुबान, नदी कटान तथा सडक अवरोधलगायतका जोखिम बढ्न सक्ने भन्दै सम्बन्धित निकायले समेत उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
फलेवास नगरपालिकाका अनुसार आजको बिदा विद्यालयको स्वीकृत स्थानीय बिदाबाट कट्टा हुनेछ।
नगरपालिकाले प्रतिकूल मौसमको अवस्थामा विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई अनावश्यक आवतजावत नगर्न, खोला–नदी तथा पहिरोको जोखिम भएका स्थानमा नजान र मौसमको अवस्था हेरी आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
त्यस्तै, अभिभावकहरूलाई समेत आफ्ना बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन तथा वर्षाका कारण जोखिमयुक्त बनेका सडक, खोला, नदी तथा भिरालो क्षेत्रमा आवतजावत नगर्न आग्रह गरिएको छ।
सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्दै विद्यार्थी तथा विद्यालय परिवारको सुरक्षालाई प्राथमिकतामा राखेर विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।






