भारी वर्षाको जोखिमपछि पर्वतमा सवारी आवागमनमा पूर्ण रोक - News site from Nepal
भारी वर्षाको जोखिमपछि पर्वतमा सवारी आवागमनमा पूर्ण रोक

पर्वत १० असोज : निरन्तरको भारी वर्षाका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लाभर सवारी साधनको आवागमनमा पूर्ण रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतले शनिबार सूचना जारी गर्दै आज साँझ ६ बजेदेखि असोज ११ गते बिहान ६ बजेसम्म जिल्लाभर लामो तथा छोटो दूरीका सम्पूर्ण सवारी साधनको आवागमनमा पूर्ण रोक लगाइएको जनाएको हो ।

नेपाल मौसम विज्ञान विभागबाट जारी मौसमसम्बन्धी सूचनाअनुसार पर्वतसहित प्रतिकार्य गर्नुपर्ने जिल्लाहरूको सूचीमा परेको तथा असोज ८ गते बेलुकादेखि निरन्तर भारीदेखि अति भारी वर्षा भइरहेको अवस्थालाई ध्यानमा राखी सम्भावित जोखिम न्यूनीकरणका लागि सवारी आवागमन रोक्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गंगबहादुर क्षेत्रीद्वारा जारी सूचनामा उक्त अवधिमा अत्यावश्यक अवस्थाबाहेक सवारी साधन सञ्चालन नगर्न तथा प्रशासनको निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरिएको छ । साथै आकस्मिक तथा अत्यावश्यक अवस्था परेमा जिल्ला प्रशासन कार्यालय, पर्वत तथा नजिकका प्रहरी कार्यालयसँग सम्पर्क गर्न अनुरोध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले भारी वर्षाका कारण सडक तथा यातायातमा जोखिम उत्पन्न हुनसक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउनसमेत आग्रह गरेको छ। सूचना उल्लंघन गरी जोखिमपूर्ण अवस्थामा सवारी सञ्चालन गर्दा दुर्घटनाको सम्भावना बढ्न सक्ने भएकाले सम्बन्धित सबैलाई प्रशासनको निर्णय पालना गर्न भनिएको छ ।

निरन्तरको वर्षाले जिल्लाका अधिकांस ग्रामीण सडक अवरुद्ध बनेका छन् । गएरातीदेखि अबरुद्ध मालढुंगा बेनी–सडक केहि बेर अघि सुचारु भएको छ भने मध्यपहाडी लोकमार्गको पर्वत खण्ड पटक पटक अवरुद्ध हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!