पर्वतका  ९९ प्रतिशत बालिकालाई एचपिभी लगाईयो - News site from Nepal
पर्वतका  ९९ प्रतिशत बालिकालाई एचपिभी लगाईयो

पर्वत- पाठेघरको मुखको क्यान्सरविरुद्ध बालिकालाई दिइने खोप पर्वतमा लक्षितमध्ये ९९ प्रतिशतलाई लगाइएको छ । जिल्लाका सात स्थानीय तहका ८ सय ६३ जना बालिकालाई खोप लगाउने लक्ष्य राखिएकोमा ८ सय ५४ जनालाई खोप दिइएको हो ।

प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतकी सूचना अधिकारी सुमन शर्माले लक्षितमध्ये ९८ दशमलव ९५ प्रतिशतलाई खोप लगाइएको जानकारी दिइन् । खोपका लागि खटिएका स्वास्थ्यकर्मीले विद्यालय तथा समुदायमा पुगेर खोप अभियान सञ्चालन गरिरहेको भए पनि केही विद्यार्थी विद्यालयमा अनुपस्थित रहे ।

लक्षितमध्ये ९ जनालाई खोप लगाउन बाँकी छ । अभियानका क्रममा छुटेका बालिकालाई आउँदो सोमबार खोप लगाउने गरी तयारी भएको छ । अबको क्रममा ती सबै जनाले खोप पाउँदा जिल्लाका लक्षितमध्येका शत प्रतिशत बालिकाले पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप पाउने जनस्वास्थ्य अधिकृत शर्माले बताइन् ।

मोदी गाउँपालिकाका १ सय २८ जनामध्येका १२६ जनालाई, कुश्मा नगरपालिकाका लक्षित सबै २ सय ७९ जनालाई, महाशिला गाउँपालिका लक्षित सबै ४१ जनालाई, पैयूँ गाउँपालिकाका ८७ जनामध्येका ८१ जनालाई, फलेवास नगरपालिकाका १ सय ३१ जनामध्ये १ सय २८ जनालाई खोप लगाइएको छ ।

जलजला गाउँपालिकामा भने लक्षितभन्दा एक जना बढीलाई खोप दिइएको छ । जलजलाका १ सय २७ जना लक्षित भएको १ सय २८ लाई र बिहादी गाउँपालिकामा ७० जनालाई लक्षित गरिएकोमा ७१ जनालाई खोप लगाइएको छ ।

खोप लगाइएकामध्ये विद्यालय नजाने १० वर्ष उमेर पुगेका बालिकाको संख्या जलजलामा ५, कुश्मामा ७, फलेवासमा ३ र बिहादीमा १ छ । उनीहरूलाई जिल्लाका विद्यालयमा तोकिएका १ सय २१ वटा र स्वास्थ्य संस्थामा तोकिएका ६१ वटा गरी १ सय ७२ खोप केन्द्रबाट खोप लगाइएको हो । जिल्लामा आएको खोपमध्ये खेर जाने दर शून्य रहेको कार्यालयको तथ्यांकमा छ ।

८ सय ७१ डोज खोप प्राप्त भएकोमा ८ सय ५४ प्रयोग भई १७ डोज स्वास्थ्य संस्थामा फिर्ता गरिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख बद्री आचार्यले पाठेघरको मुखको क्यान्सरको मुख्य कारण नै एचपिभीको संक्रमण हुनु भएको बताउँदै यो भाइरस दुई सयभन्दा धेरै प्रजातिका हुने बताए ।

तीमध्ये हालसम्म मानव शरीरमा क्यान्सर गराउने जोखिम १२ प्रकारका प्रजातिबाट हुने उनको भनाइ छ । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपिभी प्रजाति १६ र १८ बाट भएको देखिएको आचार्य बताउँछन् ।

खोप अभियानका लागि जिल्लामा ‘फोकल पर्सन’ को रूपमा काम गरिरहेका नारायण रेग्मीले संसारमा हरेक वर्ष ५ लाख ७० हजार महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको र यो संख्या वृद्धि भएर सन् २०३० सम्ममा करिब ७ लाख हुने अनुमान गरिएको सुनाए । यो रोगबाट हरेक वर्ष ३ लाख ११ हजार महिलाको ज्यान जाने गरेको र सन् २०३० सम्ममा यो संख्या ४ लाख पुग्ने अनुमान छ ।

‘यो खोपको लक्षित समूहमा कक्षा ६ मा अध्ययनरत छात्रा र विद्यालय नजाने १० देखि १४ वर्षसम्म उमेरका किशोरी हुन् । यो उमेर समूहका अधिकांश किशोरी विद्यालयमा अध्ययन गर्ने भएकाले खोप सेवा मुख्यतः विद्यालय केन्द्रित छ,’ उनले भने, ‘महिलामा हुने विभिन्न प्रकारका क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सरको रूपमा रहेको देखिएको छ ।’

विश्व स्वास्थ्य संगठनको सन् २०२० को तथ्यांक अनुसार संसारका ८८ प्रतिशत पाठेघरको मुखको क्यान्सरका बिरामी तथा मृत्यु हुने संख्या न्यून र मध्यम आय भएका देशमा देखिएको छ । नेपालमा हरेक वर्ष २ हजार १ सयभन्दा बढी महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र हरेक वर्ष १ हजार ३ सय अर्थात् औसतमा प्रत्येक दिन ४ महिलाको मृत्यु हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!