पर्वत – पैयूँ गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा वित्तीय अनुशासनसँगै कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार, रोजगारी तथा सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेख्य प्रगति गरेको जनाएको छ। गाउँपालिकाले गत आर्थिक वर्षमा कुल बजेटमध्ये ९२.०७ प्रतिशत खर्च गरेको छ। गाउँपालिकाले ‘समृद्ध पैयूँको आधार; कृषि, प्रविधि र पूर्वाधार’ भन्ने नारालाई आधार बनाएर विकासका गतिविधि अघि बढाएको प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी भण्डारीले बताउनुभयो ।
पैयूँ गाउँपालिकाको कुल जनसंख्या १२ हजार ७२५ रहेको छ। गाउँपालिकाको क्षेत्रफल ४२.५ वर्ग किलोमिटर छ भने साक्षरता दर ८१.२१ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। सात वटा वडा रहेको गाउँपालिकामा प्रशासन, वडा र स्वास्थ्य संस्थासहित कुल १२३ जना कर्मचारी कार्यरत छन्।
३७ करोड ५८ लाखभन्दा बढी खर्च
गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न स्रोतबाट ३७ करोड ६१ लाख ८९ हजार रुपैयाँभन्दा बढी निकासा प्राप्त गरेकोमा ३७ करोड ५८ लाख १२ हजार रुपैयाँ खर्च गरेको जनाएको छ। वित्तीय विवरणअनुसार कुल निकासाको ९९.७१ प्रतिशत खर्च भएको छ। क्षेत्रगत बजेटतर्फ भने कुल ४० करोड ८१ लाख ६९ हजार रुपैयाँ विनियोजन भएकामा ३७ करोड ५८ लाख १२ हजार रुपैयाँ अर्थात् ९२.०७ प्रतिशत खर्च भएको छ।
क्षेत्रगत खर्चमा सामाजिक विकासतर्फ ९२.५७ प्रतिशत, आर्थिक विकासतर्फ ८७.३४ प्रतिशत, पूर्वाधार विकासतर्फ ८६.७६ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ८८.३० प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनतर्फ ९६.०८ प्रतिशत खर्च भएको प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी भण्डारीले बताउनुभयो ।
स्वास्थ्य सेवामा विस्तार
स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले ३२ हजार ९६९ जना सेवाग्राहीलाई अस्पताल तथा स्वास्थ्य केन्द्रबाट ओपीडी र आकस्मिक सेवा उपलब्ध गराएको छ। १२५ जना महिलाको पाठेघरको क्यान्सर परीक्षण तथा ६४५ जना बालबालिकालाई भिटामिन ‘ए’ खुवाइएको छ भने १५३ जना बालबालिकाको कुपोषण परीक्षण गरिएको छ।
मुटु, क्यान्सरलगायत दीर्घरोगबाट प्रभावित ४२ जनालाई मासिक भत्ता सहयोग उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ। यस वर्ष थप ३ हजार ५७८ जना नागरिक स्वास्थ्य बीमामा आबद्ध भएसँगै स्वास्थ्य बीमामा आबद्ध हुनेको कुल संख्या ७ हजार ९४९ पुगेको छ।
विपन्न तथा सर्वसाधारणका लागि १५ लाख २७ हजार रुपैयाँभन्दा बढीको निःशुल्क औषधि व्यवस्थापन गरिएको छ। स्वास्थ्य बीमा बोर्ड र पैयूँ आधारभूत अस्पतालबीच सम्झौता भई अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रथम सेवा तथा उपचार बिन्दुका रूपमा सेवा सञ्चालन भइरहेको प्रतिवेदनमा उल्लेख छ। ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम तथा टोल–टोलमा नसर्ने रोगको स्क्रिनिङ शिविर सञ्चालन गरी एक हजारभन्दा बढी ज्येष्ठ नागरिक तथा सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिएको छ।
कृषि र पशुपालनमा यान्त्रिकीकरण
गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै कृषकलाई ५० प्रतिशत अनुदानमा १४ वटा मिनी टिलर, २३ वटा कुटानी–पिसानी मिल र चार वटा थ्रेसर मेसिन वितरण गरेको छ। व्यावसायिक कृषि उत्पादन विस्तारका लागि थप २३ घरधुरीलाई समेटेर ३.०२ हेक्टर क्षेत्रफल विस्तार गरिएको छ।
कृषकलाई उन्नत तरकारीको बीउ तथा १२ हजार ५०० किलोग्राम रासायनिक तथा जैविक मल वितरण गरिएको छ। आधुनिक खेती प्रणाली तथा सीप विकासका लागि १६० जना कृषकलाई व्यावसायिक कृषि तालिम प्रदान गरिएको छ। गाउँपालिकाभित्र पाँच वटा नयाँ कृषि फर्म दर्ता भएसँगै सूचीकृत कृषि फर्मको संख्या २४६ पुगेको छ। आधुनिक कृषि प्रणाली प्रवर्द्धन गर्न ४२ वटा हाईटेक टनेल र १४ वटा नर्सरी टनेल निर्माण गरिएको छ।
पशुपालनतर्फ एक हजार १० पशुपक्षीलाई निःशुल्क औषधि वितरण तथा २३८ पशुपक्षीको प्रत्यक्ष उपचार गरिएको छ। व्यावसायिक पशुपालन प्रवर्द्धनका लागि १६७ जना कृषकलाई पशुपक्षी अनुदान वितरण गरिएको छ। रेबिजविरुद्ध खोप अभियान तथा छाडा कुकुर व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्नुका साथै दुग्धजन्य पदार्थ उत्पादनसम्बन्धी व्यावसायिक तालिम पनि सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
सडक, खानेपानी र सिँचाइमा लगानी
पूर्वाधार विकासतर्फ आर्थिक वर्ष २०८२/८३ मा एक हजार १६५ मिटर सडक कालोपत्रे, ३०६ मिटर नयाँ सडकको ट्रयाक खोल्ने तथा तीन हजार २८७ मिटर सडक मर्मत गरिएको छ। एक हजार ३१५ मिटर नाला र सात वटा नयाँ कलभर्ट निर्माण भएका छन्।
यसैगरी ८४ वटा भवन मर्मत तथा एउटा नयाँ सामुदायिक भवन निर्माण गरिएको छ। सिँचाइतर्फ ८५० मिटर नयाँ कुलो निर्माण, एक हजार ४७७ मिटर कुलो मर्मत र दुई हजार ६२ मिटर सिँचाइ पाइप विस्तार गरिएको छ। खानेपानीतर्फ पाँच वटा नयाँ इन्टेक तथा ट्याङ्की, चार वटा सार्वजनिक धारा निर्माण र ७.५९ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ। यी पूर्वाधार निर्माणका कामबाट स्थानीयस्तरमा पाँच हजार ६५० मानव–दिन बराबरको प्रत्यक्ष रोजगारी सिर्जना भएको गाउँपालिकाको दाबी छ।
पैयूँ आधारभूत अस्पतालमा आफ्नै फार्मेसी सञ्चालनका लागि औषधि खरिद गर्नुका साथै अस्पतालदेखि गाउँपालिका भवन जोड्ने सडक निर्माणलाई अघि बढाइएको छ। उक्त सडक निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ।
शिक्षामा सरकारी विद्यालयप्रति आकर्षण बढाउने प्रयास
शिक्षा क्षेत्रमा वडा नं. ४ स्थित जनसेवा संस्कृत माध्यमिक विद्यालयमा नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन सञ्चालन गरी नमुना विद्यालयका रूपमा विकास गर्ने व्यवस्था गरिएको छ। गाउँपालिका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघका पदाधिकारी तथा सरकारी कर्मचारीका सन्ततीलाई अनिवार्य रूपमा सरकारी विद्यालयमा पढाउने व्यवस्था कार्यान्वयन गरिएको गाउँपालिकाले जनाएको छ।
कक्षा ८ को वार्षिक परीक्षा केन्द्र निर्धारण तथा व्यवस्थापन गाउँपालिकाबाट गरिएको छ। उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा शिक्षकलाई सम्मान गर्नुका साथै प्रतिभा पहिचान कार्यक्रम, शिक्षकका लागि एकीकृत पाठ्यक्रममा आधारित तालिम तथा विद्यार्थीका लागि विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको छ।
रोजगारी र सामाजिक सुरक्षामा पनि कार्यक्रम
महिला, अपाङ्गता संरक्षण तथा रोजगारी सिर्जनाका क्षेत्रमा पनि गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। थप ६ जनासहित हालसम्म ६५ जना अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र तथा निःशुल्क स्वास्थ्य बीमाको पहुँचमा ल्याइएको छ।
परम्परागत कला–संस्कृति संरक्षणसँगै आयआर्जन जोड्ने उद्देश्यले ६५ जना महिलालाई मादल बजाउने तालिम दिइएको छ। स्थानीय कच्चा पदार्थमा आधारित उद्यममार्फत स्वरोजगार सिर्जना गर्ने उद्देश्यले २७ जनालाई धुप बनाउने र २४ जनालाई अचार बनाउने सीपमूलक तालिम प्रदान गरिएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ६२ जना सूचीकृत बेरोजगार नागरिकलाई न्यूनतम १०० दिनको रोजगारी र ज्याला सुनिश्चित गरिएको छ।
सामाजिक सुरक्षा भत्तातर्फ दुई हजार २१३ जना लाभग्राहीलाई बैंक खातामार्फत आठ करोड ३५ लाख रुपैयाँभन्दा बढी भत्ता वितरण गरिएको छ। व्यक्तिगत घटना दर्तातर्फ ८२० वटा घटना अनलाइन प्रणालीमार्फत दर्ता गरिएको गाउँपालिकाले जनाएको छ।
२५३ योजना सम्झौता, २४९ सम्पन्न
गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा २५३ वटा योजना सम्झौता गरेकोमा २४९ वटा योजना सम्पन्न भएको जनाएको छ। १५ वटा योजना ठेक्कामार्फत अघि बढाइएको थियो। गाउँपालिकाले कर्मचारीलाई वडामै परिचालन गरी योजना सम्झौता तथा अभिमुखीकरण गर्ने व्यवस्था मिलाएको छ।
यस अवधिमा गाउँपालिकाले ७५ लाख ७६ हजार रुपैयाँभन्दा बढी राजस्व असुली गरेको छ। नयाँ २४ वटा व्यवसाय दर्ता भएसँगै हालसम्म दर्ता भएका व्यवसायको संख्या ५८३ पुगेको छ भने ३०२ वटा व्यवसाय नवीकरण गरिएको छ।
गाउँपालिकाले सुशासन र सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन सुत्र, सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली, विद्युतीय खरिद प्रणाली, प्रधानमन्त्री रोजगार कार्यक्रम, लघुउद्यम विकास कार्यक्रम, स्वास्थ्य तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणाली, विद्युतीय भुक्तानी, ई–हाजिरी र एसएमएस गेटवे लगायतका विद्युतीय प्रणाली प्रयोगमा ल्याएको जनाएको छ।
गाउँपालिकाले स्थानीय शासन कार्यसम्पादन मूल्यांकनमा गुणस्तर परीक्षणपछि ८५.६ अंक प्राप्त गरेको छ। साथै गाउँपालिकाले हालसम्म २९ वटा ऐन, तीन वटा नियमावली, ६२ वटा कार्यविधि र तीन वटा मापदण्ड गरी ९७ वटा कानुनी दस्तावेज निर्माण गरेको प्रतिवेदनमा उल्लेख छ।
पैयूँ गाउँपालिकाले आगामी दिनमा कृषि, प्रविधि र पूर्वाधारलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने लक्ष्यसहित विकासका कार्यक्रम अघि बढाउने जनाएको छ।






