पर्वत – पर्वत जिल्लास्थित सरकारी कार्यालयहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। जिल्ला समन्वय समिति पर्वतको आयोजनामा भएको कार्यक्रममा गत आर्थिक वर्षमा जिल्लाका सरकारी कार्यालय तथा स्थानीय तहबाट सम्पादन गरिएका काम, हासिल भएका उपलब्धि, देखिएका समस्या तथा चुनौती र आगामी योजनाका विषयमा समीक्षा तथा छलफल गरिएको हो।
कार्यक्रममा जिल्लाका सात स्थानीय तहसहित दुई दर्जनभन्दा बढी सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिले आ–आफ्नो कार्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए। प्रस्तुतिका क्रममा कार्यालयहरूले गत आर्थिक वर्षमा सञ्चालन गरेका योजना तथा कार्यक्रम, सेवा प्रवाहको अवस्था, हासिल भएका उपलब्धि, कार्यसम्पादनका क्रममा देखिएका समस्या तथा आगामी आर्थिक वर्षका प्राथमिकताबारे जानकारी गराएका थिए।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य भक्त कुँवरले जिल्लाको समग्र विकास र समृद्धिका लागि सरकारी निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले विकास निर्माणका कामलाई परिणाममुखी बनाउन स्थानीय तह, प्रदेश र संघीय सरकारका निकायबीच सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
कुँवरले जिल्लाको आवश्यकता र प्राथमिकताका आधारमा योजना तथा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँदै उपलब्ध स्रोत–साधनको अधिकतम सदुपयोग गर्दै नागरिकलाई सहज र प्रभावकारी सेवा प्रदान गर्न सबै निकाय जिम्मेवार भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले सरकारी कार्यालयका गतिविधि र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नियमित समीक्षा आवश्यक रहेको बताउनुभयो। जिल्ला समन्वय अधिकारी बद्री तिवारीले कार्यालयहरूबीच समन्वय र सहकार्यलाई मजबुत बनाउँदै विकासका कामलाई गति दिनुपर्नेमा जोड दिनुभयो।
जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका उपप्रमुख सोम जिसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
वार्षिक समीक्षा कार्यक्रमले जिल्लामा सञ्चालन भएका विकास योजना तथा सेवा प्रवाहको अवस्थाको समीक्षा गर्नुका साथै आगामी दिनमा देखिएका समस्या र चुनौती समाधान गर्दै सरकारी कामकारबाहीलाई थप प्रभावकारी बनाउने आधार तयार गरेको आयोजकले जनाएको छ।