पर्वत–आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाको तयारीस्वरूप मोदी गाउँपालिकाले विभिन्न सरोकारवालाबीच सोमवार प्रि–बजेट छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
स्थानीय राजनीतिक दल, बिद्यालय व्यवस्थान समिति, प्रअ, विभिन्न संघ संस्था, समुह तथा नागरिकहरुको सहभागितामा गरिएको छलफलमा प्राथमिकताका आधारमा योजनाहरु निर्धारण गर्न सुझाव दिएका छन् । नागरिकको नजिकको सरकार भएकाले धेरै योजना र कार्यक्रमहरु माग हुने भएपनि दिर्घकालीन र बहुउपयोगी योजनालाई प्राथमिकतामा राख्न सुझाव दिएका हुन् ।
कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले स्थानीय आवश्यकता, जनअपेक्षा र विकासका प्राथमिकतालाई समेटेर यथार्थपरक बजेट निर्माण गरिने बताउनुभयो । उहाँले नागरिकका सुझावलाई नीति तथा कार्यक्रममा समावेश गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउँदै पालिकाका बासिन्दाहरु प्रत्यक्ष लाभान्वित हुने खालका कार्यक्रम ल्याउने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा उपाध्यक्ष बिमल लामिछानेले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार तथा रोजगारमूलक कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले साना र व्यक्ति विशेष योजना भन्दा दिर्घकालीन योजनाहरु माग गर्न सहभागिहरुसँग आग्रह गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले बजेट तर्जुमा प्रक्रियाबारे जानकारी गराउँदै प्राप्त सुझावहरूलाई आवश्यक अध्ययनपछि समेटिने बताउनुभयो । उहाँले सिमीत श्रोत र साधनबीच पनि गाउँपालिकाले समृद्धिका धेरै योजनाहरु अघि बढाएको बताउँदै नागरिकरुलाई रचनात्मक सहयोग गर्न पनि आग्रह गर्नुभयो । उहाँले टुक्रे योजना भन्दा पनि ठुला र धेरै नागरिक लाभान्वित हुने खालका योजना बनाउने तयारी गरिरहेको बताउनुभयो ।
कार्यक्रममा राजनीतिक दलका नेताहरुले दिर्घकालीन योजना बनाउन सुझाव दिएका छन् । मोदी गाउँपालिका कृषि, उर्जा, पर्यटन र प्राकृतिक स्रोतहरुको राम्रो सम्भावना भएकाले ती क्षेत्रलाई बजेट केन्द्रीत गर्नुपर्ने उनिहरुको भनाई छ । यसैगरी हम्पाल क्षेत्रको पर्यटन प्रवद्र्धन र माटेको स्लेटखानी संचालन गर्न समेत सुझाव दिएका छन् ।
प्रशासकीय अधिकृत विकास केसीले सञ्चालन गरेको कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, शिक्षक, सामाजिक अभियन्ता, व्यवसायी, पत्रकार, नागरिक समाज तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो । छलफलका क्रममा सहभागीहरूले कृषि उत्पादन वृद्धि, सिंचाइ विस्तार, ग्रामीण सडक स्तरोन्नति, खानेपानी व्यवस्थापन, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार, युवा स्वरोजगार, महिला सशक्तीकरण, पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन लगायत विषयमा सुझाव समेत दिएका छन् ।
कार्यक्रममा प्राप्त सुझावका आधारमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटलाई थप प्रभावकारी, समावेशी र जनमुखी बनाइने गाउँपालिकाले जनाएको छ ।






