दुध उत्पादन गर्ने कृषकलाई बिहादीको अनुदान  - News site from Nepal
दुध उत्पादन गर्ने कृषकलाई बिहादीको अनुदान 
ब्यावसायिक रुपमा पशुपालन गरी दुध उत्पादन गर्दै आएका कृषकहरुलाई पर्वतको विहादी गाउँपालिकाले अनुदान दिने भएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत दूध ढुवानी गर्नका लागि अनुदान दिन थालेको हो । प्रतिलिटर रु.सात रुपैयाँ ५० पैसा अनुदान उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । उत्पादित दुध ढुवानी गर्न कृषकलाई सहज होस् र दुध उत्पादनमा थप प्रोत्साहन मिलोस भनेर अनुदान वितरण गर्न थालिएको गाउँपलिकाका अध्यक्ष परबीन गुरुङले जानारी दिनुभयो ।
गत आर्थिक वर्षमा प्रतिलिटर रु. पाँच रुपैया दिने गरिएकोमा यस वर्ष थप रु. दुई रुपैयाँ ५० पैशा थप गरिएको हो । गाउँपालिकाको पशु विकास शाखाले सूचना जारी गर्दै गाउँपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका दूध संकलन, ढुवानी तथा बिक्री–वितरण गर्ने सहकारी संस्था वा अन्य व्यावसायिक फार्महरुलाई अनुदान कार्यक्रममा सहभागी हुन निवेदन पेश गर्न आग्रह गरेको हो ।
विहादी गाउँपालिकाभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र गाउँपालिका वा सम्बन्धित वडा कार्यालयमा निवेदन दर्ता गर्नुपर्नेछ । निर्धारित समयभित्र प्राप्त भएका तथा आवश्यक प्रक्रिया पूरा गरेका प्रस्तावहरूलाई मात्रै छनोट प्रक्रियामा समावेश गरिने जनाइएको छ ।
दूध उत्पादन तथा बजारीकरणलाई प्रोत्साहन गर्दै कृषकको आम्दानी वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको प्रमुख प्रशासकिय अधिकृत थमन बहादुर रेश्मीले जानकारी दिनुभयो । विशेषगरी दुर्गम क्षेत्रका किसानबाट उत्पादित दूध बजारसम्म पुर्‍याउन लाग्ने ढुवानी खर्च कम गरी दुग्ध व्यवसायलाई थप व्यावसायिक बनाउने लक्ष्य राखिएको उहाँको भनाई छ ।
अनुदान प्राप्तिका लागि सहकारी संस्थाले दर्ता, नवीकरण तथा कर चुक्ता प्रमाणपत्र, अनुदान कार्यक्रम सञ्चालन गर्ने निर्णयको प्रतिलिपि, दूध सङ्कलन गर्ने कृषकहरूको नागरिकताको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको सिफारिस, चालु आर्थिक वर्षमा दूध सङ्कलन गरेको आधिकारिक प्रमाण, दूध बिक्री तथा वितरण गरेको प्रमाण, गत आर्थिक वर्षको अनुदान रकम कृषकलाई उपलब्ध गराएको विवरण, सहकारीको अडिट प्रतिवेदन तथा राजस्व तिरेको रसिद लगायतका कागजात पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेश्मीले दूध उत्पादन तथा बजारीकरणलाई थप व्यवस्थित र प्रभावकारी बनाउन कार्यक्रम ल्याइएको उल्लेख गर्नुभयो । गाउँपालिकाले दुग्ध उत्पादन क्षेत्रमा संलग्न सहकारी तथा कृषकलाई समयमै आवश्यक कागजातसहित निवेदन पेश गर्न अनुरोध गरेको छ ।
गाउँपालिकाका छ वटै वडामा सडक सञ्जाल विस्तारसँगै यहाँ व्यावसायिक गाईभैसी पाल्नेको संख्या समेत बढ्दै गएको छ । बिहादीमा संकलित दुध पैंयू गाउँपालिकाको हुवास बजार र स्याङ्जाको वालिङमा विक्रिवितरण हुँद्यै आएको छ । विभिन्न वडाका संकलन केन्द्रबाट दैनिकजसो एक हजार लिटर दुध निर्यात हुने गरेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!