पर्वत– पर्वतमा मानसिक स्वास्थ्य प्रवद्र्धन तथा आत्महत्या रोकथामका लागि सञ्चारकर्मीलाई संवेदनशिल रिर्पोटिङ सम्वन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा भएको कार्यक्रममा जिल्लामा बढ्दो आत्महत्या रोक्नका लागि के कस्ता उपायहरु, खोज, अनुसन्धान, समाचार लेखन तथा प्रकाशनका शैलीबारेमा छलफल भएको छ ।
सञ्चारकर्मीहरुले आत्महत्याका समाचारहरु बनाउँदा प्रोत्साहनमुलक नभै न्यूनिकरण हुने खालका बनाउनुपर्नेमा जोड दिईएको छ । समाचारको शैली, प्रस्तुतीकरण, आत्महत्याको कारण, तरिका लगायतका विषयहरुमा संवेदनसिल बन्नुपर्नेमा जोड दिईएको छ ।
चालु आर्थिक वर्षको हालसम्म पर्वतका ३२ जनाले आत्महत्या गरेको तथ्यांक रहेको छ । कार्यक्रममा सहभागि पत्रकारहरुले जस्तोसुकै आत्महत्याका समाचारहरु लेख्न र प्रकाशन गर्न नहुनेमा जोड दिएका छन् । समाचारहरु बनाउँदा यस्ता घटनाहरु बढ्ने भन्दै आत्महत्याका समाचारहरु प्रकाशन प्रशारण नगर्दा नै उपयुक्त हुने उनिहरुको तर्क रहेको छ ।
कार्यालयले भने समाचारहरु बनाउँदा त्यस्तो सोच बनाएकाहरुको मनस्थिति बदल्ने खालले प्रस्तुत गर्न आग्रह गरेको छ । कार्यक्रममा जनस्वास्थ्य कार्यालय पर्वतका जनस्वास्थ्य अधिकृत सन्देश पोखरेल, प्रदेश अस्पताल पर्वतका मेडिकल अधिकृत डा. सलिना पौडेलले आत्महत्याका कारण, मानसिक रोगहरुको अवस्था, लक्षण लगायतका बारेमा जानकारी दिनुका साथै आत्महत्या र मानसिक स्वास्थ्य सम्वन्धि रिपोर्टिङमा अपनाउनुपर्ने सावधानीका बारेमा सहजीकरण गर्नुभएको थियो ।
नेपालमा हरेक वर्ष ७ हजार मानिसले आत्महत्या गर्नेगरेको तथ्यांक रहेको छ भने दैनिक १९ जनाले विभिन्न कारणले आत्महत्या गरेको पाईन्छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्रीराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले मन्तव्य राख्नुभएको पब्लिक हेल्थ नर्सिङ निरिक्षक सुमन शर्माले जानकारी दिनुभयो । शर्माले आत्महत्या र मानसिक रोग सँग सम्बन्धित समस्याका लागि १६५५ र १६६००१०२००५ मा सम्पर्क गर्न आग्रह समेत गर्नुभयो ।






