पर्वत १२ कात्तिक : गत असोज १० र ११ गते कालीगण्डकी नदीमा आएको बाढीबाट विस्थापित बनेका पर्वतको विहादी गाउँपालिका वडा नं. ६ सेतीवेणीबजारका व्यावसायीलाई पर्वत उद्योग बाणिज्य संघले आर्थिक सहयोग गरेको छ ।
पर्वत उद्योग बाणिज्य संघको व्यावसायी कल्याणकारी कोषबाट उनिहरुलाई नगद सहित खाद्यान्न सहयोग गरिएको हो । स्थानीय आठ जना ब्यावसायीलाई जनही रु. दश हजारका दरले रु. ८० हजार आर्थिक सहयोग गरिएको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरवि पौडेलले जानकारी दिनुभयो ।
नगद सँगै ९ थान सोलार सेट समेत प्रदान गरिएको छ । त्यसैगरी बाढीवाट समस्यामा परेका स्थानीयवासी, विद्यालय र प्रहरी चौकीलाई समेत सहयोग गरिएको पौडेलले बताउनुभयो । उहाँका अनुसार २० बोरा चामल २० कार्टुन चाउचाउ, २० थान राहत प्याकेज जस्ता सामाग्री सहयोग गरिएको हो ।
कालीगण्डकी नदीमा आएको बाढीबाट लाखौको नोक्सानी व्यहोरेका व्यावसायीलाई तत्कालका लागि पुर्नस्थापित हुन सहज होस् भन्ने उद्धेश्यले प्रभावित क्षेत्रमै पुगेर राहत प्रदान गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । बाढीबाट यहाँको व्यावसायीको करोडौको क्षति पुगेको छ ।
पर्वत, स्याङ्जा र गुल्मीको संगम स्थलमा अवथित सेतीवेणीबजारमा बाढीले झण्डै २० करोड भन्दा बढिको क्षति पुर्याएको थियो । पर्वततर्फ ९ घर भत्किनुका साथै झण्डै ३० व्यावसायमा क्षति पुगेको छ भने स्याङ्जातर्फ २० भन्दा बढि पसल तथा घरहरु पुर्ण रुपमा बगाएको थियो ।
यस अघि पर्वत उद्योग बाणिज्य संघले नेपाल उद्योग बाणिज्य संघको सहयोगमा जिल्लाका एक सय बाढीपिडित परिवारलाई खाद्यान्न र अन्य राहत सामाग्री सहयोग गरेको थियो । यस्तै विभिन्न संघ संस्थाहरुलाई सोलार वत्ती समेत सहयोग गरिएको संघका बरिष्ठ उपाध्यक्ष कमलबहादुर जिसीले जानकारी दिनुभयो ।
बाढीले खण्डहर बनेको सेतीवेणीबजार अहिले सुनसान बनेको छ ।






