– सागर रिजाल
अचेल गाउँ पुग्दा एउटा अनौठो सन्नाटाले छाती चसक्क छुन्छ। हिजो जहाँ आँखैले नभ्याउने घना बस्ती थियो, आज त्यहाँ आँखाले भ्याएसम्म घना जङ्गल फैलिएको छ। हिजो जहाँ अभावै अभाव भित्र पनि बैँस ब्युँझिएको हुन्थ्यो, आज त्यहाँ अथाह सुविधा भित्र पनि बुढ्यौलीले सुस्केरा हालीरहेको छ। म जन्मिएको गाउँ मात्र होइन, आज नेपालका अधिकांश पहाडी गाउँहरूको नियति यही ऐनामा प्रतिविम्बित भइरहेको छ।
अतीतको त्यो दुःख, तर जीवन्त बाल्यकाल
हाम्रो बाल्यकाल दुःखको एउटा लामो कथा जस्तै थियो। विकासका पूर्वाधारको नामनिसान थिएन। एक गाग्री पानी लिनका लागि गाउँका दिदीबहिनी र आमाहरू घन्टौँ उकालो-ओरालो हिँड्नुपर्थ्यो। हिँड्नलाई न त चौडा सडक थिए, न गुड्ने गाडी नै। पुर्खाहरूले बनाएका तिनै साँघुरा गोरेटो र पुरानो पुर्ख्यौली बाटोहरू हाम्रा सहारा थिए। तर, त्यो दुःख भित्र पनि एउटा अद्भूत आत्मीयता थियो। एउटै घरमा कम्तीमा पनि ५-६ जना परिवारका सदस्य हुन्थे। बिहान स्कुल जाने बेला गाउँभरीका ५०-६0 जना साथीहरूको लर्को हुन्थ्यो। गाईभैँसी चराउन पाखा-पखेरा कुद्ने, गोठालो जाने र प्रकृतिको काखमा धुलोमैलो गर्दै हुर्कने हाम्रो त्यो बाल्यकाल जति कष्टकर थियो, त्यति नै जीवन्त र सुमधुर पनि थियो।
आजको गाउँ: विकासको लहर, गाउँमा सन्नाटा
केही दशकको अन्तरालमा समय यसरी बदलियो कि गाउँले हिजो चिताएका सबै सुविधाहरू आज आँगनमै आइपुगेका छन्। आज गाउँमा जता हेर्यो त्यतै चौडा सडक र बाटोघाटो पुगेका छन्। घर-घरमा बिजुली बलेको छ। घन्टौँ हिँड्नुपर्ने बाध्यतालाई चिर्दै घर-घरको धारामा प्रशस्त खानेपानी कलकल बगेको छ। खेतका गराहरू भिजाउनका लागि सिँचाइको पर्याप्त व्यवस्था छ। तर, विडम्बना! हिजो जुन विकासका लागि पुर्खाहरूले रगत-पसिना बगाए, आज त्यो विकासको उपभोग गर्ने समुदायनै म जन्मिएको गाउँमा छैनन्। गाउँ जाँदा भौतिक रूपमा त विकास देखिन्छ, तर मानवीय रूपमा गाउँ शून्य जस्तै भइसकेको छ।
रित्तो गाउँ र बुढाबाआमाको प्रतीक्षा
बसाइँसराइको तीव्र लहर र आधुनिक समाजको न्यून जन्मदरका कारण आज गाउँका बस्तीहरू एकाएक खाली भएका छन्। युवा जनशक्ति र नयाँ पुस्ता सहर र परदेशको गल्लीमा सपना खोज्दै निस्किसकेका छन्। गाउँका ती सुन्दर घरहरूमा आज केवल वृद्ध बुवाआमाहरू मात्र बाँकी हुनुहुन्छ। गाउँमा काम गर्न नसक्ने, बुढ्यौलीले छोएका बाआमा बाहेक कृषि क्रान्ति गर्न सक्ने तन्नेरी पाखुराहरू एउटै भेटिँदैनन्। राज्यले करोडौँ खर्चेर पुर्याएका भौतिक संरचनाहरू आज वृद्धाश्रम जस्तै बनेका गाउँमा अनुत्पादक जस्तै भएका छन्। खानेपानी छ– तर थाप्ने मान्छे बुढा भइसके; सिँचाइ छ– तर खन्ने पाखुरा परदेसिए; सडक छ– तर हिँड्ने गोडाहरू थाकिसके।
त्यो पुरानो चौतारी, ती पुराना पोखरीहरू अझै पनि अतीतका तिनै मान्छेहरूलाई कुरिरहेझैँ लाग्छ। तर, समय यस्तो बिन्दुमा आइपुग्यो, जहाँ केही समयपछि गाउँमा विकास त पूर्ण रूपमा हुनेछ, तर त्यसको उपभोग गर्ने कोही बाँकी रहने छैन कि भन्ने डरलाग्दो यथार्थ हाम्रो अगाडि उभिएको छ।
निष्कर्ष
भौतिक पूर्वाधार मात्र विकास होइन, त्यहाँ बस्ने मानिसहरूको खुसी, कोलाहल र उपस्थिति नै गाउँको वास्तविक प्राण हो। यदि राज्य र स्थानीय सरकारले गाउँमै रोजगारी, कृषिमा आधुनिकीकरण र युवाहरूलाई गाउँमै टिकाउने ठोस योजना ल्याउन सकेन भने हाम्रा गाउँहरू भूगोलमा त रहनेछन्, तर इतिहास र संस्कृतिमा सधैँका लागि रित्तिनेछन्। विकासको चकाचौध भित्र छोपिएको यो गाउँको मौन रोदनलाई समयमै बुझ्न जरुरी छ।
फलेवास नगरपालिका –३, शंकरपोखरी पर्वत ।






