पर्वत ३० भदौ : पर्वतको मोदी गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रम मुक्त गाउँपालिका घोषणा गरिने भएका छन् ।
आगामी असोज एक गते बिहीवार पालिकालाई बालमैत्री घोषणा गरिने भएको हो । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्न लागिएको हो । बालमैत्री पालिका बनाउनका लागि सवै सुचकहरु पुरा भएपछि दिगोपनाको पाँच वर्षे योजना सहित घोषणा गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत बाबुराम पुरीले जानकारी दिनुभयो ।
नबजागृत मावि तिलाहारमा आयोजित कार्यक्रममा मुख्यमन्त्री संगै प्रदेश सभाका सांसदहरु, वर्तमान तथा पुर्न जनप्रतिनिधिहरु, शिक्षक, अभिभावक, विद्यार्थी लगायतको सहभागिता रहने भएको छ । घोषणा गर्नुपूर्व आवश्यक तयारी र हालसम्मको प्रगतिको अवस्थाबारे प्रदेशस्तरीय अनुगमन टोलीले गाउँपालिकामा स्थलगत अनुगमन तथा समीक्षा समेत गरी स्वीकृति समेत प्रदान गरेको छ ।
गाउँपालिकामा १८ वर्ष मुनिका सात हजार एक सय ३६ बालबालिका रहेका छन् । ती मध्ये तीन हजार आठ सय दुई बालब र तीन हजार तीन सय ३४ बालिका रहेको गाउँपालिकाका शिक्षा अधिकृत दिनेश पौडेलले जानकारी दिनुभयो । पालिकाभित्र बालश्रम समेत शुन्य रहेको छ । यस अघि पालिकाका आठवटै वडा बालमैत्री घोषणा गरिसकिएको छ । सवै भन्दा पहिले २०७२ सालमा तत्कालीन चित्र गाविसलाई बालमैत्री गाविस घोषणा गरिएको थियो
एक दशक लामो पहलपछि पालिकालाई नै बालमैत्री घोषणा गर्न लागिएको गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले जानकारी दिनुभयो । अध्यक्ष शर्माले बालबालिकाको अधिकार सुनिश्चित गर्नु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएको बताउँदै बालमैत्री शासनलाई घोषणामा मात्र सीमित नराखी व्यवहारमै कार्यान्वयन गरिने बताउनुभयो । शिक्षा, स्वास्थ्य, संरक्षण, सहभागिता र विकासका क्षेत्रमा बालबालिकालाई केन्द्रमा राखेर काम भइरहेको उहाँको भनाई छ ।
उपाध्यक्ष बिमल लामिछानेले बालमैत्री स्थानीय शासनको घोषणाले स्थानीय विकास प्रक्रियामा बालबालिकाको सहभागिता र अधिकारलाई थप संस्थागत गर्ने बताउनुभयो । उहाँले घोषणा प्रक्रियामा जनप्रतिनिधि, कर्मचारी, विद्यालय, बाल क्लब, अभिभावक र समुदायको सहकार्य महत्वपूर्ण रहेको बताउनुभयो ।
बालमैत्री स्थानीय शासनको अभियानले बालबालिकालाई विकासका लाभग्राही मात्र नभई स्थानीय विकास प्रक्रियाका सक्रिय सहभागी का रूपमा स्थापित गर्ने लक्ष्य राखेको गाउँपालिकाले जनाएको छ ।






