पर्वत– संविधान दिवस २०८३ पर्वतमा विभिन्न कार्यक्रम गरी मनाईरहेको छ । संविधान दिवसलाई उल्लासमय बनाउने उद्धेश्यले विभिन्न गतिविधि सहित मनाईएको हो ।
दिवसको अवसरमा नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
भोटेकोशी बाढी पिडित देखि प्रदेश अस्पताल पर्वतमा आवश्यक रगत सहज रुपमा उपलब्ध होस् भन्ने उद्धेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा १९ पिन्ट रगत संकलन भएको नेपाल पत्रकार महासंघ पर्वतका सचिब साजन परियारले जानकारी दिनुभयो ।
उहाँका अनुसार रक्तदानमा जिल्लामा सक्रिय सञ्चारकर्मी, नेपाली सेना, शसस्त्र प्रहरी बल, नेपाल प्रहरी लगायतको सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाईटी पर्वतका प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रमाम बोल्दै प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले लामो बलिदान र परिवर्तनपछि प्राप्त संविधानको रक्षा र सफल कार्यान्वयन गर्नुनै नेपाली जनताको दायित्व भएको बताउनुभयो । उहाँले संविधानको सफल कार्यान्वयनबाट मात्रै जनताका इच्छा आकांक्षा र यो मुलुकको समृद्धि सम्भव हुने बताउनुभयो । उहाँले पवित्र दिनमा पुण्य कार्य गरेकोमा पत्रकार महासंघप्रति धन्यवाद समेत ब्यक्त गर्नुभयो ।

सो अवसरमा रक्तदानमा सहभागि सवैलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष रञ्जना खत्री र संचालन सचिब राजन परियारले गर्नुभएको थियो ।
यसैगरी जिल्ला मुुल समारोह समितिको आयोजनामा पर्वत कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य परिक्षण गरिएको छ । प्रदेश अस्पताल पर्वत र प्रदेश जनस्वास्थ्य कार्यालयको समन्वयमा कैदीबन्दीको रोग पहिचान तथा निदान गर्ने उद्धेश्यले स्वास्थ्य परिक्षण गरिएको हो ।

भने पर्वत अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । अस्पतालमा भर्ना भएर उपचाररत १५ जना बिरामीलाई फलफुल वितरण गरिएको मुल संयोजक विष्णुराम विकले जानकारी दिनुभयो । यसैगरी आजै साँझ लोकतान्त्रिक चोकमा दिप प्रज्ज्वलनको कार्यक्रम समेत रहेको छ ।






