रामचन्द्र भुसाल, फलेवास ।
शिक्षा दिवस तथा संविधान दिवसको अवसरमा पर्बतको फलेवास नगरपालिका ६ देविस्थानमा अवस्थित माझीगाउँ आधारभूत विद्यालयमा विविध कार्यक्रम गरिएको छ।
विद्यालय प्राङ्गणमा सरसफाइ कार्यक्रम सञ्चालन गरेसँगै विद्यार्थीहरूको ज्ञान, सिर्जनशीलता तथा प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले सदनगत हाजिरीजवाफ प्रतियोगिता तथा खुला नृत्य प्रतियोगिता आयोजना गरिएको हो।
हाजिरीजवाफ प्रतियोगितामा रोहन भुसाल, अस्विन परियार, रविल दिन मियाँ, दिपिका भुसाल, ट्विन्कल आचार्य र सुशान्त भुसाल उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बनेका छन्।
त्यस्तै, खुला नृत्य प्रतियोगितामा रेश्मी भुसाल र सफलता भुसालले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गरेका छन्। प्रतियोगितामा सहभागी अन्य विद्यार्थीहरूलाई समेत उत्साह र हौसला प्रदान गर्न सान्त्वना पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ।
यसै अवसरमा कक्षा–५ मा अध्ययनरत रोहन भुसाललाई ‘Student of the Month’ अवार्डबाट सम्मान गरिएको छ।
शिक्षा दिवस तथा संविधान दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नगरी विद्यार्थीहरूको प्रतिभा, नेतृत्व क्षमता, सिर्जनशीलता र आपसी सहकार्य अभिवृद्धि गर्ने अवसरका रूपमा विद्यालयले कार्यक्रम आयोजना गरेको जनाएको छ।
कार्यक्रमले विद्यार्थीहरूमा पढाइसँगै अतिरिक्त क्रियाकलापप्रतिको रुचि बढाउनुका साथै विद्यालय परिसरको सरसफाइ, अनुशासन र सकारात्मक वातावरण निर्माणमा समेत योगदान पुर्याएको छ।






