पर्वत — कुश्मा नगरपालिका–१ पाङमा वडा कार्यालयको नयाँ भवन निर्माण सम्पन्न भएको छ। नवनिर्मित भवनको बिहीबार एक समारोहबीच कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभयो।
सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, बागलुङमार्फत वडा कार्यालयको भवन निर्माण गरिएको हो। आफ्नै व्यवस्थित भवन निर्माण भएपछि वडा कार्यालयबाट नागरिकलाई प्रदान गरिने सेवा थप सहज, प्रभावकारी र व्यवस्थित हुने अपेक्षा गरिएको छ।
भवन उद्घाटन गर्दै नगरप्रमुख जोशीले स्थानीय तहको सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन आवश्यक भौतिक पूर्वाधार निर्माणमा नगरपालिकाले प्राथमिकता दिँदै आएको बताउनुभयो। वडा कार्यालय स्थानीय नागरिकसँग प्रत्यक्ष जोडिने निकाय भएकाले पर्याप्त पूर्वाधारसहितको कार्यालयबाट सेवा प्रवाह गर्दा नागरिकलाई समेत सहज हुने उहाँको भनाइ थियो।
वडा नं. १ का अध्यक्ष खगराज पौडेलले नयाँ भवन निर्माणसँगै वडाबाट प्रदान गरिने सेवा प्रवाहमा थप सहजता आउने बताउनुभयो। यसअघि कार्यालय सञ्चालनमा देखिएका विभिन्न भौतिक कठिनाइ हट्दै अब नागरिकलाई व्यवस्थित वातावरणमा सेवा प्रदान गर्न सकिने उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण पौडेल, नगरपालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष लालकृष्ण शर्मा बास्तोला, वडा नं. ६ का अध्यक्ष ईश्वर गिरी, वडा नं. १२ का अध्यक्ष झलक रिमाल, पाङका पूर्व वडा अध्यक्ष देवेन्द्र सुवेदी, नेपाली कांग्रेसका नेता हेमशर्मा पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
नयाँ वडा कार्यालय भवन निर्माणसँगै कुश्मा नगरपालिकाका १४ वडामध्ये हालसम्म ९ वटा वडा कार्यालयका आफ्नै भवन निर्माण सम्पन्न भएका छन्। बाँकी वडाहरूमा पनि आवश्यक पूर्वाधार निर्माण गर्दै सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने नगरपालिकाले जनाएको छ।
नवनिर्मित भवनले पाङवासीलाई वडा कार्यालयबाट प्राप्त हुने प्रशासनिक तथा स्थानीय तहका विभिन्न सेवा सहज रूपमा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।






