पर्वत ३१ भदौ : चाडपर्वको आवागमन सँगै बजारमा देखिएको अभाव, महङ्गी र कालोबजारी नियन्त्रण गर्नका लागि पर्वतमा बजार अनुगमन गर्न थालिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतको नेतृत्वमा एकीकृत सेवा कार्यालयले जिल्लाका विभिन्न क्षेत्रका बजार अनुगमन गर्न शुरु गरेको हो । पछिल्लो समय बजारमा देखिएको खाना पकाउने एलपी ग्याँस अभाव, दैनिक उपभोग्यीय सामाग्रीमा भएको मुल्य बृद्धि, मिसावट, व्यावसाय दर्ता नविकरण तथा म्याद गुज्रेका बस्तुहरको विक्रिवितरणको अवस्थाबारेमा अनुगमन गर्न थालिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार बुधवारदेखि जलजलाको मिलनचोक बजारवाट अनुगमन थालिएको हो । अनुगमनका क्रममा कतिपय व्यावसायीले आफ्नो ब्यावसाय दर्ता तथा नविकरण नगरेको, म्याद गुज्रिएका सामानहरु विक्रिवितरणका लागि राखेको, मुल्य सूचि नराखेको र पसलहरुमा सरसफाईको कमी देखिएको एकीकृत सेवा कार्यालय पर्वतका प्रशासकिय अधिकृत भिम अर्यालले जानकारी दिए ।
उनका अनुसार पसलहरुमा बिस्तारै सुधार हुँदै गएको भएपनि अझै केहि कमीकमजोरीहरु भेटिएका छन् । सरसफाईको कमी छ, एउटा व्यवावसाय दर्ता गरेर दुई वा दुईभन्दा बढि व्यापार गरेको समेत पाईएको छ । समस्या देखिएका व्यावसायीलाई तत्काल सुधार गर्न चेतावनी सहित निर्देशन अनुगमन टोलीले दिएको छ । यस्तै कतिपय उपभोग्य मिति गुज्रिएका सामानहरु जफत गरि नष्ट समेत गरिएको छ ।
जिल्ला बजार अनुगमन समितिले बार्षिक रुपमा निर्धारण गरेको बजार अुनगमन तालिका अनुसारनै नियमित अनुगमन गर्दै जाने कार्यालयले जनाएको छ । जिल्लाका सातवटै स्थानीय तहमा रहेका मुख्य बजार क्षेत्रमा पुगेर बजार अनुगमन गरिने राष्ट्रिय उपभोक्ता मन्च पर्वतका अध्यक्ष सरिता भण्डारीले जानकारी दिईन । उनका अनुसार उपभोक्ताहरुको स्वास्थ्यमा खेलवाड नहोस र ठगिनवाट जोगिउन भन्ने उद्धेश्यले अझै प्रभावकारी अनुगमनको खाँचो रहेको बताईन ।
यस वर्षको पहिलोपटकको अनुगमन भएकाले कतिपयलाई सुझा मात्र दिईएको र अर्कोपटकको अनुगमनमा समेत सुधार नगरेको पाईएमा उपभोक्ता ऐन बमोजम व्यावसायीलाई कारबाहीको दायरमा ल्याईन सहायक प्रजिअ पौडेलले बताए । उनले अब बजार अनुगमनलाई चाडवाड सम्म निरन्तर दिईने र त्यसपछि आवश्यकता अनुसार गरिने बताए । उपभोक्ताहरु स्वयं सचेत हुनुपर्नेमा जोड दिँदै बुधवारको अनुगमनमा कुनैपनि उपभोग्यीय बस्तुको अभाव भने नदेखिएको जानकारी दिए ।






