पर्वत, २९ जेठ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मालढुंगा स्थित कालीगण्डकी नदीमा मनसुनजन्य विपद् व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धि नमुना अभ्यास गरिएको छ ।
गण्डकी प्रदेश सरकारको समन्वय, पश्चिम पृतना हेडक्वाटरको योजना, संयोजन र निर्देशन तथा २३ नम्बर बाहिनी अड्डाको नेतृत्वमा जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सवै सुरक्षा निकायको विपद् व्यवस्थापन सम्बन्धि क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले ‘अभ्यास हातेमालो–२०८३’ सञ्चालन गरिएको हो ।
पर्वत नेपाली सेनाको नयाँ रणभीम गुल्मको नेतृत्वमा सशस्त्र प्रहरी बल २५ नम्वर गण हेक्वा चण्डिका पर्वत, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाईटी, पर्वत अस्पताल, स्वास्थ्य कार्यालय लगायतको संयुक्त सहभागितामा संयुक्त रुपमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धि नमुना अभ्यास प्रदर्शन गरेका हुन् ।
जिल्लामा विपद् प्रतिकार्यमा प्रत्यक्ष सरोकार राख्ने कार्यालयहहरुको समन्वयमा गण्डकी प्रदेश सरकारले परिकल्पना गरेको सम्भावित परिदृष्यमा आधारित बाढी तथा मनसुनजन्य विपद् व्यवस्थापन, उद्धार तथा खोजीको नमुना अभ्यासहरु गरिएको नयाँ रणभीम गुल्मका गुल्मपति सेनानी चिरञ्जीवी सुवेदीले जानकारी दिनुभयो ।

बाढीले नदीमा पसेका व्यक्तिको उद्धार, बाढीले बगाएका व्यक्तिहरुको उद्धार, वेपत्ता भएका व्यक्तिहरुको खोजी, घाइतेहरुको प्राथमिक उपचार र उद्धार, नदीको तटीय क्षेत्रमा बाढीको चपेटामा परेका बस्तीको स्थानान्तरण गर्ने क्रममा गरिने कार्यहरुलाई नमुना अभ्यासमा देखाईएको थियो । विभिन्न सरोकारवाला निकायहरूको सहभागितामा आयोजित उक्त अभ्यासले विपद्का समयमा आवश्यक समन्वय, उद्धार, राहत तथा सूचना व्यवस्थापनका विषयमा संयुक्त अभ्यास गराएको हो ।
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी, स्वास्थ्य संस्थाहरू, सुरक्षा तथा उद्धारसम्बन्धी निकायहरू, सञ्चारमाध्यम तथा सामुदायिक स्वयंसेवक समूहहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बाढी तथा पहिरोबाट हुने जोखिम, खोज तथा उद्धार कार्य, प्रारम्भिक प्रतिकार्य, राहत व्यवस्थापन, , बहु–निकाय समन्वय, आपत्कालीन सूचना प्रवाह तथा प्रभावित क्षेत्रको व्यवस्थापनलगायत विषयमा अभ्यास गरिएको आयोजकले जनाएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले जिल्लामा हुन सक्ने प्राकृतिक विपत्तिको समयमा सुरक्षा निकायबाट हुने उद्धारको नमुनाले जिल्लामा रहेको स्रोत साधन र जनशक्तिको अवस्था पहिचान गर्न सहयोग पुग्ने बताउनुभयो । विपद्को समयमा सुरक्षा निकायले जतिसक्दो छिटो उद्धारको काम गरेर जनधनको सुरक्षा गर्दै सम्भावित क्षति न्युनिकरण गर्नुपर्ने भएकाले यस्ता अभ्यासले जनशक्तिको आत्मबल बढाउन सहयोग पुग्ने बताउनुभयो ।
अभ्यासमार्फत विपद्का बेला विभिन्न निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने, उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्ने तथा समुदायस्तरमा तयारी र सचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ । यस्ता अभ्यासले वास्तविक विपद्का समयमा उद्धार तथा राहत कार्यलाई छिटो, प्रभावकारी र व्यवस्थित बनाउन महत्वपूर्ण सहयोग पुग्ने जनाईएको छ ।
कार्यक्रममा शसस्त्र प्रहरी बल २५ नं गण हेक्वा चण्डिकाका गणपती शसस्त्र प्रहरी उपरिक्षक क्षितिज क्षेत्रीले बिपद् पुर्वका सावधानीहरु नागरिक आफैले अपनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सुरक्षा निकाय २४ सै घण्टा तैनाथी अवस्थामा रहेको बताउँदै आवश्यक समन्वय र सहकार्य गर्न आग्रह गर्नुभएको छ । उहाँले उद्धारका लागि आवश्यक सामाग्रीहरुको अभाव रहेकोले स्थानीय सरकारहरुले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।






