बजेटको तयारीमा जुटे पर्वतका पालिका, नागरिकसँग मागे योजना र सुझाव - News site from Nepal

पर्वत-: आगामी असार १० गते भित्र स्थानीय तहहरुले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान अनुरुप यतिवेला पर्वतका सातवटै स्थानीय तह योजना संकलन र छलफलमा जुटेका छन् ।

टोल टोल र वडा तहवाट संकलन गरिएका योजनाहरुलाई एकीकृत गरि प्राथमिकताका क्षेत्रमा बजेट बिनीयोजन गर्न यतिवेला जनप्रतिनिधि र कर्मचारलाई भ्याईनभ्याई भएको छ । पर्वतका स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमाथि सुझाव समेत संकलन गर्न थालेका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेटको प्रभावकारी कार्यान्वयन र पालिकाको विकासका लागि नागरिकहरुको भूमिकाका विषयमा सरोकारवालाहरुसँग रायसुझाव संकलन तथा छलफल गर्न थालेका हुन् । पर्वतमा दुई नगरपालिका सहित पाँच वटा गाउँपालिका छन् ।

जिल्लाका मोदी, पैयुँ, बिहादी, महाशिला र जलजला गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै आगामी वर्षको विकास योजना, कार्यक्रम तथा बजेट निर्माणका लागि राय, सुझाव र योजना प्रस्ताव उपलब्ध गराउन आग्रह गरेका हुन् । स्थानीय तहहरूले नागरिक सहभागितामूलक योजना तर्जुमा प्रक्रियालाई प्रभावकारी बनाउन सुझाव संकलन अभियान सञ्चालन गरेको जनाएका छन् । यो खबर आजको धौलागिरि सञ्चार साप्ताहिकबाट साभार गरिएको हो ।

मोदी गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणका क्रममा स्थानीय आवश्यकता, स्रोत–साधनको उपलब्धता तथा संस्थागत क्षमतालाई आधार बनाएर योजना छनोट गरिने प्रमुख प्रशासकी अधिकृत बाबुराम पुरीले जानकारी दिनुभयो । गाउँपालिकाले राजनीतिक दल, नागरिक समाज, शिक्षक, कर्मचारी, पत्रकार, व्यवसायी, संघ–संस्था तथा स्वदेश–विदेशमा रहेका गाउँपालिकावासीलाई नीति तथा बजेटमा समेटिनुपर्ने विषयमा सुझाव दिन अनुरोध गरेको छ । गाउँपालिकाले इमेल तथा गुगल फारममार्फत सुझाव पठाउन सकिने व्यवस्था मिलाएको छ।

त्यसैगरी पैयुँ गाउँपालिकाले पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्थानीय आवश्यकता र विकासका सम्भावनासँग जोड्न सुझाव माग गरिएको अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिनुभयो । गाउँपालिकाले विभिन्न संघ–संस्था, कृषक, व्यवसायी, बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी तथा आम नागरिकलाई आफ्ना सुझाव उपलब्ध गराउन आग्रह गरेको छ । प्राप्त सुझावलाई आगामी बजेट तथा कार्यक्रम निर्माणमा आधारका रूपमा उपयोग गरिने जनाइएको छ ।
यता बिहादी गाउँपालिकाले स्वास्थ्य संस्था, विद्यालय तथा अन्य संघ–संस्थाबाट आगामी वर्ष सञ्चालन गर्न आवश्यक योजना तथा कार्यक्रमका प्रस्ताव मागेको छ । गाउँपालिकाले प्रस्तावित योजनाको आवश्यकता, सञ्चालन प्रक्रिया र अपेक्षित प्रभावसमेत खुलाएर सम्बन्धित वडा कार्यालयमार्फत प्रस्ताव पेश गर्न आग्रह गरेको अध्यक्ष परबीन गुरुङले बताउनुभयो ।

यो खबर आजको धौलागिरि सञ्चार साप्ताहिकबाट साभार गरिएको हो ।

महाशिला गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमाथि इमेल मार्फत राय सुझाव पेश गर्न भनेको छ । बजेटलाई यथार्थपरक, जनचाहना अनुसार जनमैत्री, दोगो विकासमैत्री, प्रभावकारी र जनसहभागितामूलक बनाउन इमेल मार्फत सुझाव मागिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र पाण्डेयले जानकारी दिनुभयो ।

जलजला गाउँपालिकाले पनि आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव संकलन गरिरहेको बताएको छ । राय सुझावकै आधारमा अगामी वर्षको नीति,बजेट तथा कार्यक्रम ल्याइने गाउँपालिका अध्यक्ष राजु आचार्यले बताउनुभयो ।

स्थानीय तहहरूले नागरिक सहभागिता बढाउँदै आवश्यकतामा आधारित योजना छनोट र समावेशी बजेट निर्माणलाई प्राथमिकता दिएको बताएका छन् । सुझाव संकलन अभियानले स्थानीय विकासका प्राथमिकता पहिचान गर्न तथा बजेटलाई थप प्रभावकारी र जनमुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!