लेखक : राजकुमार निरञ्जन
” बैकिनी ” अर्थात अविवाहित वा विवाहित युवती एवम बहादुर स्त्री । कतै कतै ” बैकिनी ” शब्दलाई देउता वा कुनै शक्ति चढ्दा काँप्ने स्त्री भनेर अर्थ लगाईएको रहेछ । कतै कतै ” बैकिनी ” शब्दलाई पश्चिम नेपालका लोक भाकामा प्रयोग गरिएको रहेछ । पश्चिम नेपालका लोक भाकामा ” बैकिनी ” को अर्थ ” हे प्रिय वा हे सुन्दरी ” भनेर बुझिदोरहेछ । ” बैकिनी ” शब्दको ठाउँ विशेष , घटना बिशेष र प्रसङ्ग बिशेषमा जे जसरी अर्थ लगाएको भए पनि ती तमाम अर्थले ” बैकिनी ” उपन्यासको सिङ्गो मर्मलाई कहि न कतैबाट प्रत्येक्ष या अप्रत्यक्ष रुपले छोएका छन ।
बाहिरबाट हेर्दा र सुन्दा कर्णाली शान्त र सौम्य छ तर कर्णालिलाई ” बैकिनी ” भित्र पसेर हेर्दा र सुन्दा कर्णाली चिच्याएको छ । कर्णाली भित्र अनेकन पिडाका कथाहरु रुमलिरहेका छन । कर्णालीले सिङ्गो दुख बोकेर अविरल यात्रा गरिरहेको छ । कर्णालिको गर्तमा विभेदका कथा , हत्या र बलात्कारका अपराध , छाउ गोठका सकस , अन्धविश्वासका अविच्छिन्न शृङ्खला , नुनका कथा , अशिक्षाका पीडा , रोग र शोकका उकुसमुकुस एवम अन्य कयौं कथाहरु अटेसमटेस गरेर दबिएका छन । खासमा आज सिङ्गो नेपाललाई नेपाली भाषा कर्णालिले नै दिएको हो ( जुम्लाको सिञ्जाबाट खस नेपाली भाषाको उत्पत्ती भएको ) तर बिडम्बना कर्णालीको बारेमा बोल्ने भाषा आज सिङ्गै नेपाल र नेपालीसङ्ग छैन । कर्णाली छायामा छ किनकी कर्णालीसम्म सरकारको दृष्टि पुग्दैन ।
” बैकिनी ” उपन्यास ( सिर्जु शाह द्वारा लिखित २८० पृष्ठको उपन्यास ) एउटा रहस्यमय घटनालाई शृङ्खलाबद्व गर्दै सुरु हुन्छ । मृत सहरका मृत आत्माका कथाहरुको उद्घाटन गर्दै बैकिनी उपन्यासले आफ्नो यात्रा सुरु गरेको छ । बैका मार्फत उपन्यासले समाजिक घटनाले पार्ने नराम्रो असरको प्रभाव जीवनमा अत्यन्त ठूलो हुन्छ भन्ने मनोबैज्ञानिक पाटोलाई ज्यादै मिहिन ढङ्गले केलाएको छ । मृत सहरका पात्र रमा न्यौपाने उर्फ भद्र महिला हुन या सुनिता दिदी हुन अथवा दमयन्ती हुन या सरुनी हुन एवम गौमती हुन या अग्निशिखा वा गोमा एवम गौरी हुन यी सबै पात्रका कथा मार्फत सिङ्गो कर्णालीको रुग्ण चित्र बैकिनीमा कोरिएको छ । बैकिनीमा कर्णालिको रुग्णतालाई मात्रै लेखिएको छैन बरु रुग्णता भित्र जन्मिएको मौन विद्रोहलाई बैकिनि कै पात्र मार्फत कथामा उतारिएको छ । बैकिनीले कर्णालिका महिलाहरुका दहाडलाई अझ विशाल स्वर दिएको छ । पितृसत्तात्मक सोचलाई चुनौती दिएको छ ।
हाम्रो समाजले अहिले पनि महिलाहरुलाई साधनको रुपमा हेर्ने र व्यवहार गर्ने गरेको पाईन्छ । यसै सोच माथि टेकेर हाम्रो समाजमा कयौ घटना घटेका हुन्छन । यसै सोचमा टेकेर हाम्रै समाजले बलात्कार जस्ता जघन्य अपराधलाई गुमगाम बनाएका हुन्छन । अहिले पनि हाम्रो समाजलाई महिलाको नेतृत्व स्विकार्न गार्हो हुन्छ त्यसैले त बैकिनी उपन्यासकी पात्र रमा मिसले आफ्नै सहकर्मिबाट बलात्कृत भएर मृत्यु वरण गर्नुपर्यो । त्यसैले त बैकिनी उपन्यासकी पात्र सुनिता दिदी आफ्नै नजिकका आफन्तबाट बलात्कृत भएर मृत्यु वरण गर्नुपर्यो । बैकिनीले राज्यले बलात्कार जस्तो जघन्य अपराधमा गर्ने राजनितिकरणलाई उदाङ्गो पारिदिएको छ ।
पुरुषलाई पुरुष हुनुको लाभांश छ । पुरुसत्व माथि अनेकन अशंवेदनशिलता छन । तिनै असंवेदनशिलताले पितृसत्तात्मक सोचको जन्म गरादछन । तिनै असंवेदनशिलताले महिलालाई साधानको रुपमा हेर्ने दृष्टि दिन्छन । यथार्थमा महिला मुक्तिका लागि पुरुष भित्र रहेका असंवेदनशिलातालाई चिर्न जरुरी छ । बैकिनी भित्रका हेडसर भित्र पनि कैयन असंवेदनशिलता देखिन्छन जसले गर्दा हेड सरले बैका मिसलाई प्रेम ब्यक्त गर्न सक्दैनन । घट्टेलो , सुनिता दिदिका ससुरा , दमयन्तिका श्रीमान एवम अग्निशिखाको श्रीमान भित्र अनेकन पुरुसत्व माथिका असंवेदनशिलता देखिन्छन । हेडसरकी फुपीमा सामाजिक असंवेदनशिलता देखिन्छ । असंवेदनशिलता यस्तो ब्यवस्था वा सत्तासोच हो जुन अदृश्य रुपमा ब्यक्तिभित्र निहित हुन्छ । ब्यक्तिले त्यस्ता असंवेदनशिलतालाई आफ्नो अधिकार ठान्छ या उपभोग्य बस्तु ठान्छ ।
कर्णाली भित्र अझै पनि अज्ञानताको अँध्यारो छ । बैकिनी भित्रका छाउ गोठका कथाले र छोरी जन्मिदाका सकसका कथाले कर्णालीको अज्ञानलाई छर्लङ्गै पारेको छ । यथार्थमा कर्णालिमा सबाल्टर्नहरु ( आर्थिक , सामाजिक र राजनैतिक पहुचँबाट पर रहेका तर आफ्नै भाषा , संस्कृति र सीप भएका समुदाय ) धेरै छन । उनिहरु शिक्षाको पहुचँबाट अझै पनि टाढा छन जसले गर्दा कर्णालिमा जबरजस्त अज्ञानता र अन्धविश्वास मौलाईरहेछ जसको चपेटामा प्रायःत महिलाहरु परिरहेका छन । बैकिनीका प्राय: पात्रहरु सबाल्टर्नहरु हुन । सबाल्टर्नहरुले अधिरचनासम्म पहुँच राख्न सक्दैन । सबाल्टर्नहरुले जीवनका न्युनतम आधारभुत आवाश्यकता पूरा गर्न निकै कष्ट गर्न पर्दछ । सबाल्टर्नहरु भुगोलभित्र कै छायामा हुन्छन ।
बैकिनीका पात्रहरुमा घटेका घटनाका कथाले पात्रहरुलाई कमजोर जस्ता प्रतीत गराए पनि उनिहरु यथार्थमा मौन विद्रोह बोकेका मसाल हुन । जब अभाव र असन्तुष्टि कुण्ठित भएर बर्षौँ सम्म रहन्छ तब त्यो मसाल बन्छ , बिद्रोह बन्छ । निश्चय नै सरुनी दिदी , दमयन्ती र बैका मिस प्रेमदासी जस्ता देखिए पनि उनिहरु भित्र बिद्रोहको कोलाहल चलिरहेको हुन्छ त्यसैले त तमाम बाधा अड्चनका बाबजुद पनि बैका मिसले सामाजिक बन्धन चिर्दै समाज बदल्ने संकल्प गरिन नि । बैकिनी भित्रकी बैका मिसको त्यो साहस कर्णालिका समग्र महिलाहरुमा लागि प्रेरणा हुन सक्छ । जीवनमा अनेकन दुख आईपर्छन मुख्य कुरा त दुखहरुसङ्ग नडग्मगाई संघर्ष गर्नु हो । बद्लिनु र बदलिनु हो । बैका मिसले संघर्ष गरिन , बद्लिन र सिङ्गो समाजलाई बदल्ने प्रयास गरिन त्यसैले बैकिनी उपन्यासलाई साहस र प्रेरणा भर्ने उपन्यासको रुपमा पनि लिन जरुरी छ ।
अन्त्यमा , बैकिनी मार्फत कर्णाली बोलिरहेको छ । कर्णालिलाई सुन्न बैकिनीलाई पढे पुग्छ । बैकिनिको भाषा सरल छ तर मर्मस्पर्शी छ । अझ कर्णालिको भाषाले उपन्यासमा छुट्टै आकर्षण थपेको छ । उपन्यासमा भएको पशु प्रेमको बिम्बले मानवताको मुद्दालाई बलियो गरि स्थापित गरेको छ । कतैकतै साहित्यिक छनकलाई कम प्राथमिकता दिए जस्तो आभाष पनि हुन्छ तर यसो हुनुमा लेखिकाले कर्णालिका वास्तविक घटनालाई जस्ताको तस्तै उतार्न खोज्नु पनि हुन सक्छ । उपन्यासले महिलाका समग्र समस्या र कष्टलाई त शृङ्खलाबद्ध गरेको देखिन्छ तर महिला मुक्तिको बिषयमा प्रश्न मात्रै गरिन्छ त्यसकारण बैकिनी उपन्यासलाई नारिवादी दृष्टिकोणबाट हेर्दा महिला मुक्ति बिषयमा अलि नपुगेको हो कि जस्तो लाग्छ यद्यपि बैकिनी उपन्यासले नारिवादलाई टिपेर राजनैतिक समाधान दिनुपर्छ भन्ने चाहिँ होईन । कर्णाली आफै संस्कृतिक र प्रकृतिक रुपमा धनी भएकाले बैकिनीमा भएका प्राकृतिक सौन्दर्यको चर्चाले कर्णालिको सम्भावनालाई उजागर गरेको छ । समग्रमा बैकिनी उपन्यास पढ्दै गर्दा मस्तिष्क रन्थनिन्छ एवम सोचमग्न बनाउछ । मन छुन्छ । कर्णालिको सौन्दर्य , संस्कृति , भाषा र त्यहाँका मान्छेले गरेको संघर्षलाई महसुस गर्नको लागि सबैले एकपटक बैकिनी उपन्यास पढ्न पर्ने जरुरत छ । उपन्यासका पात्रहरुका कथाका मर्महरु सदनसम्म पुग्न सकेमा कर्णालिले न्याय पाउने थियो । बैकिनी उपन्यासका पात्रहरुको मर्मले अझ धेरै सार्थकता पाउने थियो ।






