भोटेकोशी बाढीपीडितका लागि पर्वतको फलेवास नगरपालिकाले ३७ लाख सहयोग गर्ने - News site from Nepal

पर्वत – : पर्वतको फलेवास नगरपालिकाले भदौ १० मा भोटेकोशी नदीमा आएको बाढीबाटबा प्रभावितहरुको उद्धार, राहत र पुर्नस्थापनाका लागि ३७ लाख राहत रकम पठाउने निर्णय गरेको छ ।

मंगलवार सम्पन्न फलेवार नगरापलिकाको तेस्रो कार्यपालिका बैठकले भोटेकोशी बाढी प्रभावितहरुलाई ३७ लाख रुपैयाँ राहत स्वरुप प्रदान गर्ने निर्णय गरेको हो । कार्यपालिका बैठकले गरेको निर्णय अनुसार उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको ं प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईंले जानकारी दिए । उनका अनुसार फलेवासमा कार्यरत सम्पूर्ण कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीहरुको दुई देखि सात दिनसम्मको पारिश्रमिक कट्टा गरी प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न लागिएको हो । त्यसैगरी वडा सदस्यदेखि नगरप्रमुख सम्मको समेत दुई हजार देखि ४० हजारका दरले रकम कट्टा गरी राहत स्वरुप पठाउन लागिएको हो ।

कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार नगरप्रमुख तिवारीको एक महिनाको पारिश्रमिक कट्टा गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ । त्यस्तै नगर उपप्रमुख शोभा कुमारी क्षेत्रीले उक्त कोषमा दश हजार सहयोग गर्नुभएको छ । कार्यपालिका सदस्यहरुबाट प्रति व्यक्ति पाँच हजार र वडा सदस्यहरुबाट दुई हजारका दरले रकम कट्टा हुने भएको छ ।
त्यसैगरी नगरपालिका र माताहतका कार्यालयहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु समेत श्रेणीबिहिन कर्मचारीहरुको दुई दिन, चौथो र पाचौं तहमा कार्यरत कर्मचारीहरुको पाँच दिनको तलव कट्टा गरी राहत कोषमा पठाउने निर्णय भएको छ । त्यस्तै छैठौं, सातौं र आठौं तहमा कार्यरत कर्मचारीहरुको सात दिन बराबरको तलव बाढी प्रभावितहरुलाई पठाइने प्रमुख प्रशासकिय अधिकृत चापागाईले बताए ।

कार्यपालिका बैठकले विद्यालय सहयोगी, विद्यालय सहजकर्ता र विद्यालय कर्मचारीहरुको दुई दिन, प्राथमिक तृतीय र द्वित्तीय श्रेणी तथा निमावि तृतिय श्रेणीका शिक्षकहरुको पाँच दिन र प्रावि प्रथम, निमावि द्वित्तीय र मावि सबै तहका शिक्षकहरुको सात दिन बराबरको तलव गरी करिव ३७ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने नगरपालिकाले जनाएको छ ।
उक्त रकम यसै भदौ महिनाको सेवासुविधा तथा पारिश्रमिकबाट कट्टा गरी राहत कोषमा एकमुष्ठ जम्मा गरिने प्रमुख प्रशासकीय अधिकृत चापागाईंले जानकारी दिए ।

उक्त बाढीमा परी मृत्यू भएका यस नगरपालिकाभित्र स्थायी बसोबास गर्ने नागरिकको परिवारलाई काजकृयाखर्च बापत प्रति मृतकको परिवारलाई ५० हजारका दरले र घाइते हुनुभएका व्यक्तिहरुलाई उचित उपचार खर्चबापतको रकम समेत प्रदान गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत चापागाईंले जानकारी दिए ।

आफुले पाउने सुविधा बापतको सम्पूर्ण रकमबाट नगरका बिभिन्न विद्यालयमा अक्षयकोष स्थापना तथा बिपन्न नागरिकहरुको सेवामा खर्च गर्दै आउनुभएका नगरप्रमुख गंगाधर तिवारीले यसपाली भोटेकोशीमा आएको बाढीप्रभावितको राहतका लागि एक महिनाको सुविधा प्रदान गर्ने घोषणा गरेका हुन् । तिवारीले आफुले पाउने सुविधा बापतको सम्पूर्ण रकम अक्षयकोषका रुपमा बितरण गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!