बाह्र वर्ष पछि दुई वडा कार्यालय बनाउँदै कुश्मा नगरपालिका, तीन वडा भाडामै  - News site from Nepal
पर्वत १९ भदौ : पर्वतको कुश्मा नगरपालिका स्थापना भएको १२ वर्षपछि थप दुईवटा वडा कार्यालयका भवन निर्माण गर्न लागिएको छ ।
चालु आर्थिक वर्षमा वडा नं.२ खुर्कोट र वडा नं. ११ पकुवाको कार्यालय निर्माण गरिने भएको हो । चालु आर्थिक वर्षमा नगरपालिकावाट बिनीयोजित बजेटबाट वडा कार्यालयको भवन निर्माण गर्न बोलपत्र आव्हान गरिएको प्रमुख प्रशासकिय अधिकृत किरण पौडेलले जानकारी दिनुभयो ।  उहाँका अनुसार वडा नंं. २ खुर्कोटको भवन निर्माणका लागि रु. एक करोड ६८ लाख ६५ हजार सात सय ३२ रुपैया र वडा नंं. ११ पकुवाको भवनका लागि रु. एक करोड ६८ लाख ९५ हजार चार सय ३५ रुपैया बजेट बिनीयोजन भएको थियो ।
स्थापना कालदेखि साविक गाउँ विकास समितिको कार्यालयवाट साघुँरोगरी संचालनमा आएका वडा कार्यालय अब सुविधा सम्पन्न भवनमा स्थानान्तरण हुने भएका छन् । भवन निर्माण एक वर्षभित्र सम्पन्न हुने जनाईएको छ । यस अघि गत वर्ष कुश्मा नगरपालिका वडा नं. ८ चुवा र वडा नं. १ पाङको भवन निर्माण गरिएको थियो ।
वि.सं. २०७१ सालमा स्थापना भएको नगरपालिकाको प्रशासकिय भवन निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ । वडा नं. ३, ९, १०, १२, १३ र १४ का वडा कार्यालयका भवन भने यस अघिनै निर्माण भैसकेका छन् । १४ वडा मध्ये तीन वटा वडा कार्यालय अहिलेपनि भाडाकै घरमा संचालन हुँदै आएको कुश्मा नगरपालिकाले जनाएको छ ।
वडा नंं. ४, ५, र ७ का कार्यालय भाडाको घरमा संचालन भएका हुन् । नगरपालिका स्थापना भएपछि साविक शिवालय गाविसलाई टुक्राएर चार वटा वडामा विभाजन गरिएको थियो । ती मध्ये वडा नं. ६ को कार्यालय बान्द्रेबिडिमा रहेको सार्वजनिक स्थलमा निर्मित भवनमा स्थानान्तरण गरिएको थियो । जिल्लाका सात स्थानीय तहका ६१ वडा मध्ये भाडामा संचालित वडा कार्यालय यीनै तीनवटा मात्रै हुन् । यो खबर धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ ।
नगरपालिका र केहि वडा कार्यालयहरुको आफ्‌नै भवन नहुँदा बार्षिक लाखौ रकम भाडाको रकम भुक्तानीमा खर्च हुने गरेको छ । नगरकार्यपालिकाको प्रशासकिय भवन र शाखा कार्यालयहरु समेत भाडाको घरमा संचालनमा रहेका छन् । जसले गर्दा विकास निर्माणका कामहरु समेत प्रभावित बनेको जनप्रतिनिधिहरुको गुनासो रहेको छ ।
चालु आर्थिक वर्षमा बजेट बिनीयोजन भएका योजनाहरु कार्यान्वयन गर्न शुरु गरिसकिएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताउनुभयो । उहाँका अनुसार प्रदेशसँगे साझेदारीमा बजेट बिनीयोजन भएका सडक लगायतका योजनाहरु कार्यान्वयन गर्न सेताढुंगा–चनौटे–थुम्का–सालघारी र झाक्रिखोला– लाम्पाटा– पौडेलचोक सडकको पनि बोलपत्र आव्हान गरिएको हो । यी दुवै सडक स्तरोन्नती गरिने भएको छ । यो खबर धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!