पर्वतका कृषकलाई ९० प्रतिशतसम्म अनुदान, कृषि विकास कार्यालयले माग्यो आवेदन - News site from Nepal

पर्वत-  गण्डकी प्रदेश सरकारअन्तर्गतको कृषि विकास कार्यालय पर्वतले चालु आर्थिक वर्ष २०८३/८४ का विभिन्न कृषि प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि कृषक, कृषि फर्म, कम्पनी, कृषक समूह तथा कृषि सहकारी संस्थाबाट आवेदन माग गरेको छ।

कार्यालयले स्वीकृत वार्षिक कार्यक्रमअनुसार सञ्चालन हुने १० वटा कृषि कार्यक्रमका लागि तोकिएको मापदण्ड पूरा गर्ने इच्छुक व्यक्ति तथा संस्थालाई आवेदन दिन आग्रह गरेको हो। कार्यक्रमअनुसार लागत साझेदारीमा ५० देखि ९० प्रतिशतसम्म अनुदान उपलब्ध गराइने जनाइएको छ।

कार्यालयका अनुसार धान तथा स्थानीय बाली विकास, फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार, आत्मनिर्भरताका लागि बीउ उत्पादन प्रवर्द्धन, व्यावसायिक तरकारी खेती प्रवर्द्धन, समुदायस्तरमा खाद्यान्न आलु उत्पादन प्रवर्द्धन, तेलहन तथा मसला केन्द्रित कृषि उत्पादन तथा प्रवर्द्धन, कृषि उद्यम विकास, निर्यातजन्य कृषि वस्तु प्रवर्द्धन, खाद्यबाली उत्पादन प्रवर्द्धन तथा प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ।

धान तथा स्थानीय बाली विकास कार्यक्रमअन्तर्गत कृषक समूह तथा कृषि सहकारीमार्फत खेती विस्तार र उत्पादन प्रवर्द्धन गरिनेछ। फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रममार्फत व्यावसायिक फलफूल खेती विस्तारलाई प्राथमिकता दिइएको छ।

त्यसैगरी आत्मनिर्भरताका लागि बीउ उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत खाद्यान्न तथा तरकारी बालीको गुणस्तरीय बीउ उत्पादनमा जोड दिइनेछ। व्यावसायिक तरकारी खेती प्रवर्द्धन तथा आधुनिकीकरण कार्यक्रममार्फत व्यावसायिक रूपमा तरकारी उत्पादन गर्दै आएका तथा विस्तार गर्न चाहने कृषकलाई सहयोग उपलब्ध गराइने कार्यालयले जनाएको छ।

समुदायस्तरमा खाद्यान्न आलु उत्पादन प्रवर्द्धन, तेलहन तथा मसला केन्द्रित कृषि उत्पादन तथा प्रवर्द्धन, कृषि उद्यम विकास तथा निर्यातजन्य कृषि वस्तु प्रवर्द्धन कार्यक्रमसमेत सञ्चालन गरिनेछन्। खाद्यबाली उत्पादन प्रवर्द्धन तथा प्राङ्गारिक कृषि उत्पादन कार्यक्रम पनि कार्यालयको प्राथमिकतामा रहेको छ।

कार्यक्रममा सहभागी हुन सम्बन्धित स्थानीय तहको वडा कार्यालय वा कृषि शाखाको सिफारिस, जग्गाधनी प्रमाणपुर्जा वा जग्गा भाडामा लिएको सम्झौता, सम्बन्धित कार्यक्रमअनुसार आवश्यक कागजात तथा अन्य प्रमाण संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ।

कृषि फर्म, कृषक समूह, सहकारी तथा संस्थाको हकमा संस्था दर्ता तथा नवीकरण प्रमाणपत्र, प्यान वा भ्याट दर्ता, कर चुक्ता प्रमाणपत्र, लेखापरीक्षण प्रतिवेदन र सम्बन्धित संस्थाको निर्णयसमेत पेस गर्नुपर्नेछ। व्यक्तिगत कृषकले भने नागरिकताको प्रतिलिपिसहित आवश्यक कागजात पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

आवेदनको छनोट तथा कार्यक्रम सञ्चालन प्रदेश सरकारबाट स्वीकृत तथा संशोधित कार्यक्रम सञ्चालनसम्बन्धी मापदण्डका आधारमा गरिने कृषि विकास कार्यालय पर्वतले जनाएको छ। कार्यक्रमको दोहोरोपन नहुने र तोकिएका शर्त तथा मापदण्ड पूरा गर्ने आवेदकलाई छनोट प्रक्रियामा प्राथमिकता दिइने सूचनामा उल्लेख छ।

इच्छुक कृषक तथा कृषि व्यवसायीले आवश्यक कागजातसहित कृषि विकास कार्यालय पर्वतमा तोकिएको प्रक्रियाअनुसार आवेदन पेस गर्न सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!