मिममा रमाएको पुस्ता र नीतिमा हराएको भविष्य - News site from Nepal
मिममा रमाएको पुस्ता र नीतिमा हराएको भविष्य

-अर्जुन पौडेल निर्जन

नेपालमा आजको युवापुस्ता इतिहासकै सबैभन्दा बढी सूचना पहुँच भएको पुस्ता हो। हातमा स्मार्टफोन छ, इन्टरनेट छ, सामाजिक सञ्जाल छ, संसारका विश्वविद्यालय, उद्यमी, अर्थतन्त्र र विचारहरू औँलाको टुप्पोमा छन्। तर विडम्बना के छ भने यही पुस्ताको ठूलो हिस्सा आफ्नो भविष्यसँग प्रत्यक्ष जोडिएका नीति, बजेट, रोजगारी, आवास, शिक्षा, स्वास्थ्य र उद्यमशीलताका प्रश्नमा गम्भीर छलफल गर्नुभन्दा राजनीतिक मिम, फेसबुक स्टाटस, भाषणको छोटो क्लिप र “कसले कसलाई थर्कायो” भन्ने मनोरञ्जनमा बढी रमाएको देखिन्छ। यो केवल युवाको कमजोरी मात्र होइन । यो हाम्रो राजनीतिक संस्कार, शिक्षा प्रणाली र सार्वजनिक बहसको स्तरको गम्भीर संकेत हो।

२५–३० वर्ष उमेर पुगेको युवा अझै बुबाआमाको घरमा बस्छ। यो आफैंमा समस्या होइन, किनकि नेपालको पारिवारिक, आर्थिक संरचना, रोजगारीको अनिश्चितता र न्यून आयका कारण आफ्नै घर बनाउने सपना धेरैका लागि कठिन छ। तर प्रश्न के हो भने, त्यो युवाले सरकारले युवा आवास, घरधनी बन्ने अवसर, सहुलियत कर्जा, सस्तो आवास, सहरी योजना वा भाडा नियमनका लागि के नीति ल्याएको छ भनेर चासो राखेको छ कि छैन? आफ्नै घर चाहिने, तर घर स्वामित्वका लागि राज्यले के गर्नुपर्छ भन्ने विषयमा मौन रहने प्रवृत्ति खतरनाक छ। सपना ठूलो हुने तर नीतिगत चेतना कमजोर हुने हो भने सपना केवल असन्तुष्टिमा सीमित हुन्छ।

महिनाको एक–दुई लाख कमाउने चाहना धेरै युवामा छ। यो स्वाभाविक हो। राम्रो आम्दानी, सम्मानजनक जीवन, परिवारको सुरक्षा र भविष्यको स्थायित्व हरेक युवाको अधिकार हो। तर त्यस्तो आय व्यक्तिगत मेहनतले मात्र सम्भव हुँदैन; देशको अर्थतन्त्र पनि विस्तार हुनुपर्छ। उत्पादन बढ्नुपर्छ, उद्योग खुल्नुपर्छ, लगानी आउनुपर्छ, बजार चलायमान हुनुपर्छ, सेवा क्षेत्र बलियो हुनुपर्छ, पर्यटन, प्रविधि, कृषि र साना उद्योगमा अवसर सिर्जना हुनुपर्छ। सरकारले आर्थिक वृद्धि बढाउन के गरिरहेको छ, बजेटले उत्पादनलाई प्रोत्साहन दिएको छ कि उपभोगलाई मात्र, रोजगारी सिर्जना गर्ने कार्यक्रम कति व्यवहारिक छन । यी प्रश्नमा युवापुस्ताले छलफल गर्नुपर्ने हो। तर धेरैजसो बहस “कसको पोस्ट भाइरल भयो” र “कसको मजाक राम्रो आयो” भन्नेमा सीमित हुँदा भविष्यको आधार कमजोर हुन्छ।

उद्यमी बन्ने सपना झन् धेरै सुनिन्छ। “स्टार्टअप गर्छु” भन्ने युवा बढेका छन्। यो सकारात्मक संकेत हो। तर उद्यमशीलता केवल योजनाले मात्र चल्दैन। पूँजीमा पहुँच चाहिन्छ, बैंकिङ प्रणाली उद्यममैत्री हुनुपर्छ, कर प्रणाली सरल हुनुपर्छ, कम्पनी दर्ता सहज हुनुपर्छ, असफल उद्यमीलाई फेरि उठ्ने वातावरण चाहिन्छ, बजार र प्रविधिको सहयोग चाहिन्छ। बजेटले स्टार्टअपलाई के दियो? युवा उद्यमीका लागि सहुलियत कर्जा छ कि छैन? व्यवसाय सुरु गर्न प्रशासनिक झन्झट घट्यो कि बढ्यो? यी प्रश्न सोध्नुको सट्टा यदि युवा केवल “फलानो मन्त्रीलाई त केही थाहा छैन” भनेर हाँस्ने र उफ्रिनेमा सीमित भयो भने त्यो आलोचना होइन, अपरिपक्वता हो। अर्थमन्त्रीको डिग्रीको मजाक गर्न सजिलो छ, तर बजेटको धारा पढेर कमजोरी देखाउन कठिन छ। जिम्मेवार नागरिक कठिन कामबाट भाग्दैन।

स्वास्थ्य र शिक्षा नागरिक जीवनका आधार हुन्। सरकारी अस्पतालमा बिरामीले बेड पाउँदैन, डाक्टर भेट्न घण्टौँ कुर्नुपर्छ, औषधि किन्न निजी फार्मेसी धाउनुपर्छ। सार्वजनिक विद्यालय र क्याम्पसमा गुणस्तर, शिक्षक, प्रयोगशाला, अनुसन्धान, समयमै परीक्षा र शैक्षिक क्यालेन्डरका समस्या पुरानै छन्, लागु भएका बिमा पनि रद्य भएका छन् । यस्तो अवस्थामा युवाले सरकारको प्राथमिकता स्वास्थ्य र शिक्षामा परेको छ कि छैन भनेर बजेट र नीति हेर्नुपर्छ। तर धेरैलाई फेसबुकमा कुन नेता के लेख्छ, कसको बोलीचाली के छ, कसको स्टाइल छ भन्नेमा बढी उत्साह देखिन्छ। नागरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध भएको अस्पताल र विद्यालयभन्दा नेताको स्टाटस बढी महत्त्वपूर्ण हुनु लोकतान्त्रिक चेतनाको कमजोरी हो।

नेपालको राजनीति बिस्तारै प्रदर्शनमुखी बन्दै गएको छ। कसलाई पक्राउ गरियो, कुन कर्मचारीलाई हप्काइयो, कुन कार्यालयमा छापा हानियो, कुन नेताको सात्तो गयो । यस्ता दृश्यले क्षणिक सन्तोष दिन्छन्। जनताले भ्रष्टाचारविरुद्ध कारबाही भएको देख्न चाहन्छन्, यो स्वाभाविक हो। तर शासन केवल थर्काउने र छापा हान्ने काम होइन। कारबाही कानुनसम्मत छ कि छैन? त्यसपछि प्रणाली सुधार भयो कि भएन? दोषीलाई प्रमाणसहित सजाय भयो कि केवल प्रचार भयो? सेवा प्रवाह सुध्रियो कि उस्तै छ? यी प्रश्न अझ महत्त्वपूर्ण छन्। यदि नागरिक केवल तमासा हेर्न रमाउँछ भने सत्ता पनि तमासा देखाएर आफ्नो जिम्मेवारीबाट उम्किन्छ।

युवाको जीवनका ५–१० वर्ष अत्यन्त महत्त्वपूर्ण हुन्छन्। यही समयमा शिक्षा, सीप, रोजगारी, उद्यम, बचत, पारिवारिक जिम्मेवारी र सामाजिक पहिचान निर्माण हुन्छ। यदि यो समय नीति बुझ्न, अवसर खोज्न, राज्यलाई प्रश्न गर्न र आफ्नै क्षमतामा लगानी गर्न प्रयोग भएन भने भविष्य पछुतोमा बदलिन सक्छ। “ढुक्क हुनुहोस” भन्ने राजनीतिक वाक्य सुनेर ढुक्क बस्ने समाजले कहिल्यै बलियो लोकतन्त्र बनाउँदैन। नागरिक ढुक्क हुनुअघि सरकारलाई प्रश्न गर्नुपर्छ। कति रोजगारी सिर्जना भयो? कति उद्योग खुले? कति बजेट खर्च भयो? कति अस्पताल सुधारिए? कति विद्यालयमा गुणस्तर बढ्यो? कति युवाले देशमै अवसर पाए?

तर यसमा युवालाई मात्र दोष दिएर हुँदैन। राजनीतिक दलहरूले पनि युवालाई गम्भीर नीतिगत बहसमा ल्याउन सकेका छैनन्। विश्वविद्यालयले आर्थिक नीति, बजेट साक्षरता, नागरिक शिक्षा र सार्वजनिक उत्तरदायित्वलाई व्यवहारिक रूपमा सिकाएको छैन। मिडियाले पनि कहिलेकाहीँ गहिरो नीतिभन्दा सनसनीलाई प्राथमिकता दिन्छ। सामाजिक सञ्जालको एल्गोरिदमले गम्भीर विश्लेषणभन्दा हास्यास्पद सामग्री छिटो फैलाउँछ। त्यसैले यो संकट व्यक्तिगत मात्र होइन, संरचनात्मक पनि हो। तर संरचनात्मक समस्या छ भन्दैमा युवाले आफ्नो जिम्मेवारीबाट भाग्न पाउँदैन।

अब नेपाली युवाले राजनीतिक मनोरञ्जनबाट राजनीतिक चेतनातर्फ यात्रा गर्नुपर्छ। नेता मन पराउनु वा मन नपराउनु लोकतन्त्रको सामान्य कुरा हो, तर अन्ध समर्थन वा अन्ध विरोध दुवै हानिकारक छन्। राम्रो नागरिक त्यही हो जसले नेता होइन नीति हेर्छ, भाषण होइन बजेट हेर्छ, स्टाटस होइन परिणाम हेर्छ, छापा होइन प्रणाली सुधार हेर्छ। आजको पुस्ताले घर चाहन्छ भने आवास नीति पढ्नुपर्छ। आम्दानी चाहन्छ भने आर्थिक वृद्धि र रोजगारी नीति बुझ्नुपर्छ। उद्यम गर्न चाहन्छ भने पूँजी, कर र प्रशासनिक सुधारबारे आवाज उठाउनुपर्छ। राम्रो स्वास्थ्य र शिक्षा चाहन्छ भने बजेटको प्राथमिकता जाँच्नुपर्छ।

अन्ततः देश केवल नेताले मात्र बनाउँदैन।सचेत नागरिकले पनि बनाउँछन्। नेता कमजोर हुन सक्छन्, सरकार चुक्न सक्छ, नीति अपूरो हुन सक्छ,तर नागरिक पनि मिम र स्टाटसमा मात्र रमाएर बसे भने लोकतन्त्रको गुणस्तर कमजोर हुन्छ। युवा पुस्ताले अब रमाइलो राजनीति होइन, जिम्मेवार राजनीति खोज्नुपर्छ। भविष्य भाइरल पोस्टले बन्दैन, नीति, श्रम, सीप र खबरदारीले बन्छ। आजैबाट प्रश्न नगर्ने पुस्ताले भोलि गुनासो गर्ने अधिकार नै कमजोर बनाउँछ। नेपाललाई अहिले हाँसोमा भुल्ने युवा होइन, नीतिमा प्रश्न गर्ने, काममा लाग्ने र देशलाई जवाफदेही बनाउने युवा चाहिएको छ।

एमाले गण्डकी प्रदेश कमिटि सदस्य

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!