पर्वत– बौद्धिक अपाङ्गता भएकाहरुको क्षमता विकास गर्नका लागि कुश्मामा एक दिने बौद्धिक अपाङ्गता सम्वन्धि क्षमता विकास तालिम सम्पन्न भएको छ ।
बौद्धिक अपाङ्गताका अभिभावक संघ पर्वतको आयोजना, नेपाल सरकार तथा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको सहयोगमा तालिम सम्पन्न भएको हो । तालिमको कुश्मा नगरपालिकाका सामाजिक विकास समिति संयोजक तथा वडा नं. ६ का अध्यक्ष इश्वर गिरीले उद्घाटन गर्नुभयो । उहाँले अपाङ्गता भएकाहरुको हक अधिकार सुनिश्चित गर्न र उनिहरुलाई आवश्यक सहयोग गर्नका लागि नगरपालिका तयार रहेको बताउनुभयो । गिरीले आवश्यक योजना बनाएर बजेट माग गर्न समेत संस्थालाई सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाल अपांग उत्थान समाज पर्वतका अध्यक्ष जगन्नाथ शर्मा, पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा लगायतले बोल्नुभएको थियो । कार्यक्रम संचालन सचिब गणेश सुवेदीले गर्नुभएको थियो ।
तालिमको सहजीकरण गर्दै अपांग उत्थान समाज पर्वतका अध्यक्ष जगन्नाथ शर्माले बौद्धिक अपाङ्गताका प्रकार, लक्षण, उनिहरुको हक अधिकार, रोजगारी, पुर्नस्थापना, उपचार, व्यवस्थापन तथा संविधानमा भएको व्यवस्था र नीति नियमका बारेमा जानकारी गराउनुभएको थियो ।
बौद्धिक अपाङ्गताका अभिभावक संघ पर्वतका अध्यक्ष तुलसी प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेत्रहिन संघ पर्वतका अध्यक्ष हरिदत्त शर्मा, शारिरीक अपांगता संघ पर्वतका अध्यक्ष गणेश सुवेदी लगायतको पनि सहभागिता रहेको थियो ।






