पर्वतको पैंयूँमा धानवालीमा खपटे किराको प्रकोप, कृषक चिन्तित - News site from Nepal
पर्वत १२ साउन : दक्षिण पर्वतको पैैंयू गाउँपालिकाका विभिन्न वडामा रोपिएको धानबालीमा काँडेदार खपटे किराको संक्रमण देखिएको छ ।
रोपेका केहि दिनमै धान खेतमा काँडेदार खपटे किराको संक्रमण देखिएको हो । संक्रमणका कारण धानको पातहरू सुकेको जस्ता देखिनु, बिरुवाको बृद्धि विकास नहुँनु र विस्तारै मर्दै जाने जस्ता समस्या देखिएको जिल्ला कृषि विकास कार्याल्य पर्वतले जनाएको छ ।
‘राईस स्पा’ नामक रोगका कारण ठुलो क्षेत्रफलमा रोपिएको धानमा समस्या देखिएपछि  प्रदेश कृषि प्रयोगशाला बाली संरक्षण तथा विषादी व्यवस्थापन शाखाका बाली संरक्षण अधिकृत सन्तोष अधिकारी सहितको टोली स्थलगत अनुगमनमा पुगेको छ । अधिकारीका अनुसार राम धान, जेठो बुढो, युएस ३१२, मन्सुली लगायत  जातका धानहरुमा यसको संक्रमण देखिएको हो ।
स्थानीय जात भन्दा उन्नत जातका धानमा बढी  क्षति भएको पाईएको अधिकारीले बताउनुभयो । उहाँले स्थानीय जातका धानमा न्यून क्षति देखिएकाले बिऊ रोप्दा स्थानीय जातनै रोज्न सुझाव समेत दिनुभएको छ ।
अधिकारीले स्थानीय कृषकहरुलाई तत्काल मालाथिन नामक विषादी प्रयोग गर्न सुझाव दिनुभएको छ । कृषकले ढिलो गरी खबर गरेपनि अझै सुधार गर्न सकिने समय भएकाले तत्काल विषादी प्रयोग गर्न सिफारीस गरिएको बाली संरक्षण अधिकृत अधिकारीले जानकारी दिनुभयो ।
कृषि विकास कार्यालय पर्वतका सुचना अधिकारी सोविता सुवेदीले भर्खरै रोपिएको धानबालीमा किराको प्रकोप देखिएपछि प्रदेश कृषि प्रयोगशालावाट विज्ञसहितको टोली स्थलगत निरिक्षणमा बोलाएर कृषकको समस्या समाधान गरिएको बताउनुभयो ।
किराबाट धानबालीलाई जोगाउन धान खेतको नियमित निरीक्षण गरी किराको प्रारम्भिक पहिचान गर्ने, खेत र वरपरका झारपातहरू पूर्ण रूपमा हटाउने, खपटे किराको समस्या भर्खरै देखिएका खेतहरूमा निमयुक्त विषादी मालाथिन प्रयोग गर्न सुझाव दिईएको उहाँले बताउनुभयो ।
धेरै नै किराको प्रकोप देखिएमा सिफारिस गरिएका कीटनाशक औषधी लाम्डासाइहेलोथ्रिन ५ प्रतिशत (०.५ मिलि) वा मालाथियन ५० प्रतिशत (१.५ मिलि) प्रति लिटर पानीमा मिसाई छर्किदा खपटे किराको प्रकोपबाट बच्न सकिने प्राविधिकहरुले बताएका छन् ।
विषादी छर्दा मास्क, पञ्जा र चस्मा अनिवार्य लगाउने, हावा कम चलेको समय (बिहान वा बेलुकी) मात्र विषादी प्रयोग गर्न किसानलाई सुझाव दिइएको छ । यता कृषकहरु भने रोपेको केहि सातामै यस्तो समस्या देखिएपछि उत्पादन घट्ने हो कि भन्दै चिन्तित बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!