मोदी गाउँपालिकामा आज शोक बिदा - News site from Nepal
मोदी गाउँपालिकामा आज शोक बिदा

पर्वत– पर्वतको मोदी गाउँपालिकाले अर्घखाँचीमा भएको दुःखद सवारी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आज शुक्रबारका दिन पालिकाभर शोक बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा र प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीद्वारा बिहीबार संयुक्त रूपमा जारी प्रेस विज्ञप्ति अनुसार वैशाख २९ गते मोदी गाउँपालिकाको पातिचौरबाट अर्घखाँचीको सुपा देउराली मन्दिर दर्शन गरी फर्कने क्रममा सवारी दुर्घटना भएको हो । अर्घखाँचीको पाणिनी गाउँपालिका वडा नं. ८ स्थित कोल्डडाँडामा भएको सवारी दुर्घटनामा परी निधन भएका व्यक्तिहरूको समाज र राष्ट्रप्रतिको अतुलनीय योगदानलाई स्मरण गर्दै उनीहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । साथै शोकको यस घडीमा दिवंगत आत्माहरूको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन र आफन्तजनमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनी कामना समेत गरिएको छ ।
यसैबीच गाउँ कार्यपालिका बैठकको निर्णयानुसार उक्त दुःखद घटनाको शोकमा आज शुक्रबारका दिन मोदी गाउँपालिकाको कार्यालय, मातहतका सम्पूर्ण कार्यालयहरू तथा पालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द रहने भएका छन् । गाउँपालिकाले सूचना जारी गर्दै आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सरकारी तथा शैक्षिक निकायहरूमा शोक बिदा दिइएको व्यहोरा सर्वसाधारणको जानकारीका लागि सूचित गरेको छ ।
दुर्घटनामा पाँच जनाको निधन भएको थियो भने २६ जना घाईते भएका थिए । मृतकहरुको बिहीवार सामुहिक दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!