पर्वत ३१ जेठ : जन्मेदेखिनै पुर्ण अपाङ्गताको जीवन विताउँदै आएकी पर्वतको जलजला गाउँपालिका वडा नं. ४ फड्केढुंगाकी २४ वर्षिया सुनिता बिकले घरमै नागरिकता पाएकी छिन् ।
चौबिसै घण्टा बिस्तारामै पल्टिरहने भएका कारण परिवारले सदरमुकाम कुश्मामा रहेको जिल्ला प्रशासन कार्यालयसम्म ल्याउन नसक्ने भएपछि आइतवार घरमै लगेर नागरिकता वितरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेल सहित कार्यालयका कर्मचारी, स्थानीय वडा अध्यक्ष भरत जिसी लगायतको सहभागितामा नागरिकता हस्तान्तरण गरिएको हो ।
कार्यालयसम्म आएर सेवा लिन नसक्नेहरुलाई नागरिकता जस्तो महत्वपुर्ण कागजातवाट बञ्चित हुन नपरोस भनेर घरमै ल्याएर वितरण गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अपाङ्गताको प्रकृति हेर्दा अत्यन्तै दयनिय रहेकाले सदरमुकाममा बोलाने कुनै उपाय समेत नभएको बताउनुभयो । नागरिकता पाएसँगै राज्यवाट पाउने सामाजिक सुरक्षा भत्ता लगायतका अन्य सहयोगहरु प्राप्त गर्न सहज हुने प्रजिअ पौडेलको भनाई छ ।
पिडित सुनिताका बाबु काला सुनारले पोलियो रोगका कारण छोरीको यस्तो अवस्था आएको बताउनुभयो । जुनसुकै अस्पतालमा लैजाँदा पनि निको हुन नसकेको बताउँदै पुर्ण रुपमा अपाङ्गता हुँदा परिवार नै समस्यामा परेको बताउनुभयो । दिशा, पिसाव तर्काउने, खाना खुवाउने, सरसफाई गरिदिनका लागि एक जना पुर्ण रुपमा खटिनुपर्दा परिवारको अन्य गुजारा चलाउन समस्या भएको सुनारले बताउनुभयो ।
सुनिताका दुई जना दाजुहरु भने सकुसलनै हुनुहुन्छ । तेस्रो सन्तानको रुपमा जन्मिएकी उनि शुरुका ८ महिनासम्म ठिकठाकै भएपनि त्यसपछि स्वास्थ्य विग्रिदै गएको र अपाङ्गताले थलिँदै गएको सुनारले बताउनुभयो । अहिलेसम्म छिमेकी जिल्ला म्याग्दी तर्फ आमाको माईतीतर्फवाट सामाजिक सुरक्षा भत्ता लिदै आएपनि नागरिकता बनेसँगै अब नियमित वडा कार्यालवाट दिईने जलजला–६ का वडा अध्यक्ष भरत जिसीले जानकारी दिनुभयो ।
नागरिकताको प्रमाणपत्र पाएसँगै अन्य सरोकारवाला संस्थाहरुवाट सेवा सुविध लिन सहज हुने उहाँको भनाई छ । जतिसुकै उपचार गरेपनि निको नहुने समस्याले तड्किएका सुनिताका परिवारले उनको व्यवस्थापन र हेरचाह गर्न कुनै संघ संस्थाले लगिदिएमा सहज हुने बताएका छन् । उनका हात खुट्टा केहि पनि चल्दैनन् भने चौबिसै घण्टा विस्तारामा सुताएर राख्नुको विकल्प समेत नरहेको बाबु काला सुनारले बताउनुभयो ।






