‘तीन सातापछि संक्रमण मत्थर’ - News site from Nepal
‘तीन सातापछि संक्रमण मत्थर’

काठमाडौँ – कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण सुरु भएको महामारीको तेस्रो लहर तीन सातापछि क्रमश: मत्थर हुँदै जाने सरकारी अधिकारीले आकलन गरेका छन् । उनीहरूको मुख्य चिन्ता भने तीव्र संक्रमणका कारण अस्पताल भर्ना दर अस्वाभविक ढंगले उकालो लाग्ने र त्यसले बिरामीको स्वास्थ्य उपचार र स्याहारमा आउन सक्ने जटिलतातर्फ छ ।

‘अबको तीन सातापछि अवस्था सामान्यतिर फर्कन थाल्ने हाम्रो आकलन छ,’ स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने, ‘बढ्दो संक्रमणले अस्पताल भर्ना हुनेको संख्यामा अप्रत्याशित वृद्धि नभए हाम्रो स्वास्थ्य सेवा संरचना, पूर्वाधारले धान्न सक्छ ।’ तीन सातापछि भने धेरै जटिलता नदेखिएको खण्डमा अवस्था सामान्य हुँदै जाने उनको अपेक्षा छ । तर, अस्पताल भर्ना हुने संक्रमितको संख्या ह्वात्तै बढ्न सक्नेतर्फ चनाखो रहँदै त्यसैअनुरूपको तयारी भने गर्नुपर्ने उनी बताउँछन् ।

तेस्रो लहरमा सोमबारसम्म सक्रिय संक्रमितको संख्या ८२ हजार ५ सय ५० पुगेको छ । आईसीयूमा २ सय ३८ र भेन्टिलेटरमा ४३ जना छन् । जबकि दोस्रो लहरमा जेठ ७ गते सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार १ सय ९२ पुगेको थियो । सोही दिन १ सय ७७ जनाको मृत्यु हुनुका साथै आईसीयूमा १ हजार ७ सय १६ र भेन्टिलेटरमा ५ सय ११ जना थिए ।

महामारीको यो अवस्थामा सरकार पनि ‘पर्ख र हेर’ अवस्थामा छ । ‘ओमिक्रोन यसरी नै उच्च संक्रामक, मध्यम र न्यून गतिका साथ अगाडि बढ्दै जाने आकलन छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने । संक्रमण तीव्र भए पनि अस्पतालमा चाप कम भएकाले लकडाउनलगायत कडा कदम चाल्ने मनस्थितिमा नदेखिएको उनको भनाइ छ ।

दोस्रो लहरको जेठ ७ को दाँजोमा हाल आईसीयू र भेन्टिलेटरमा धेरै कम व्यक्ति छन् भने मृत्युसमेत नगण्य जस्तै देखिएको छ । मृत्यु हुनेहरू पनि खोप नलगाएका, खोप लगाए पनि दीर्घरोगी, रोग प्रतिरोधक क्षमता कम भएका र ज्येष्ठ नागरिक छन् । ‘हामीकहाँ युवाको जनसंख्या बढी छ, त्यसैले अन्त देखिने अवस्थाभन्दा नेपालमा पार्ने प्रभाव फरक हो,’ डा. पौडेलले भने, ‘संक्रमितको संख्या अत्यधिक बढे अस्पतालमा पनि चाप थपिन्छ, त्यसैले आगामी तीन–चार साता सबैले स्वास्थ्य सुरक्षा उपायमा थप कडाइ गर्न आवश्यक छ ।’

परीक्षणको आधामा संक्रमण

कोभिड परीक्षण गराउनेमध्ये करिब आधामा संक्रमण देखिएको छ । सोमबार पीसीआरबाट १६ हजार ६ सय ५४ नमुना परीक्षण गर्दा ४८.३६ प्रतिशत अर्थात् ८ हजार ५४ जनामा संक्रमण देखियो भने एन्टिजेनबाट ४ हजार ५ सय ४७ नमुना परीक्षण गर्दा ४९.८१ प्रतिशत अर्थात् २ हजार २ सय ६५ जनामा संक्रमण पुष्टि भयो । दुवै प्रविधिबाट २१ हजार २ सय १ नमुना परीक्षण गर्दा ४८.६७ प्रतिशत अर्थात् १० हजार ३ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोमबारसम्म १५ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् । ती जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रूपन्देही र कैलाली रहेका छन् । त्यस्तै, १७ जिल्लामा २ सयभन्दा माथि सक्रिय संक्रमित छन् ।

सक्रिय संक्रमितको झन्डै दुई तिहाइ उपत्यकामै छन् । देशभर रहेका सक्रिय संक्रमितको ६४.०१ प्रतिशत अर्थात् ५२ हजार ८ सय ४२ जना उपत्यकामै रहेको मन्त्रालयको तथ्यांक छ । सबैभन्दा बढी संक्रमित भएको जिल्ला काठमाडौं हो । काठमाडौंमा मात्र मुलुकभरका कुल सक्रिय संक्रमितमध्ये ४६.७३ प्रतिशत अर्थात् ३८ हजार ५ सय ८१ जना छन् । उपत्यकाका बाँकी दुई जिल्ला ललितपुरमा १०.९६ प्रतिशत र भक्तपुरमा ६.३१ प्रतिशत छन् ।

४२.७ प्रतिशतलाई पूर्ण खोप

सोमबारसम्म कुल जनसंख्याको ४२.७ प्रतिशत अर्थात् १ करोड २९ लाख ६६ हजार ३ सय ६२ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । एक मात्रा लगाउने ५३.६ प्रतिशत अर्थात् १ करोड ६२ लाख ८९ हजार ४ सय २५ जना छन् । हालसम्म १ लाख ६८ हजार ९ सय ६९ जनाले बुस्टर डोज लगाएका छन् ।

खोप कार्यक्रम सुरु भएयता हालसम्म २ करोड ९४ लाख २४ हजार ७ सय ५६ मात्रा खोप लगाइएको छ । खरिद र अनुदान सहयोगबाट ४ करोड ३ लाख ८८ हजार ८ सय ४० मात्रा खोप भित्रिएको छ ।

ekantipur.com

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!