उम्मेदवार छनोटमा जुट्यो एमाले, यस्ता छन् उम्मेदवार छनौटका मापदण्ड - News site from Nepal

काठमाडाैं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार छनोटका साथै चुनावी रणनीति बनाउन जुटेको छ । यसै सिलसिलामा सोमबार काठमाडौंमा एमालेको प्रथम पोलिटब्युरो कमिटी बैठक बसेको छ । बुधबार र बिहीबार काठमाडौंमै केन्द्रीय कमिटीको बैठक बस्दै छ ।

एमाले उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आगामी स्थानीय तह निर्वाचनको आन्तरिक तयारी एवं छलफल पार्टीभित्र भइरहेको बताए । पोलिटब्युरो बैठकले उम्मेदवार छनोटका मापदण्डका साथै पछिल्लो राजनीतिक अवस्था’ निर्णय गरेको उनले बताए । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि पोलिटब्युरो बैठकमा छलफल सम्पन्न गर्दै विस्तृत छलफल केन्द्रीय कमिटीको बैठकमा हुने प्रवक्ता गुरुङले बताए ।

‘हामी स्थानीय तहको निर्वाचन केन्द्रित छलफलमा जुटेका छौं । उम्मेदवार छनोटका मापदण्डलगायतका विषयमा पोलिटब्युरो बैठकमा गर्यौं । अब केन्द्रीय सदस्यको समेत सुझाव लिएर पालिका केन्द्रित कार्यक्रम बनाएर आगाडि बढनेछौं’ प्रवक्ता गुरुङले भने ।

सोमबार बसेको एमालेको पहिलो पोलिटब्युरो बैठकले उम्मेदवार छनोटका लागि ६ वटा मापदण्ड तय गरेको उनले बताए । हाल जनप्रतिनिधि भएर काम गरेका हकमा उनीहरूले कामको मूल्यांक, कार्यक्षमता, विकास, सुशासनलगायतका विषयलाई आधार बनाइने गुरुङले बताए ।

यसैगरी, लोकप्रियता, निर्वाचनमा विजयी हुने सुनिश्चिततालाई समेत पार्टीले आधार बनाउनेछ । यस्तै, कम्युनिस्ट एवं लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान, निष्ठा, समावेशी सन्तुलनलगायतका पक्षमा समेत पार्टीले आधार मानेर टिकट वितरण गर्ने उनले बताए ।

बैठकले वडाअध्यक्ष र सदस्यका उम्मेदवारको सिफारिस वडा कमिटीको सिफारिसमा गाउँपालिकाले निर्णय गर्ने, गाउँपालिका अध्यक्षको जिल्ला कमिटीले र मेयर तथा उपमेयरको प्रदेश कमिटीले निर्णय गर्ने प्रवक्ता गुरुङले बताए । महानगरको मेयर र उपमेयरका उम्मेदवार प्रदेशको सिफारिसमा केन्द्रीय कमिटीले गर्ने मापदण्ड एमालेले बनाएको छ ।

यसअघि एमाले सचिवालयले गरेको स्थानीय तह निर्वाचनका उम्मेदवारको विधि पोलिटब्युरोले हेरफेर गरेको हो । पोलिटब्युरो सदस्यले दिएको सुझावका आधार हेरफेर गरिएको हो ।

गत १ चैतमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले वडाध्यक्ष र सदस्यको सिफारिस पालिका कमिटीले गरेर जिल्ला कमिटीले निर्णय गर्ने विधि तय गरेकोमा पोलिटब्युरो बैठकले त्यसलाई हेरफेर गर्दै वडाध्यक्ष र सदस्यका उम्मेदवारको सिफारिस वडा कमिटीले गर्ने प्रस्ताव पारित गरेको छ । राजधानी दैनिकमा सुभाष साहले खबर लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!