काठमाडाैं – स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र विवाद बढेको छ । कांग्रेसको संस्थापन पक्ष आगामी तीनै तहका निर्वाचनमा सत्तारूढ गठबन्धन आवद्ध दलबीच चुनावी तालमेलको पक्षमा छ भने संस्थापनइतर पक्ष तालमेल गर्नै नहुने पक्षमा छ ।
कांग्रेसले आधिकारिक रूपमा निर्वाचनमा कसरी जाने भन्ने विषयमा भने बोलेको छैन ।
कांग्रेसभित्र १४औं महाधिवेशनपछि इतर पक्षको नेतृत्व गर्दै आएका डा. शेखर कोइरालाले कांग्रेस कसैलाई जिताउन स्थानीय तहको निर्वाचनमा तालमेल गर्न अघि सर्न नहुने बताउँदै आइरहेका छन् । उनकै आशयलाई कांग्रेस उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाले पनि साथ दिँदै आइरहेका छन् ।
तर सभापति शेरबहादुर देउवाले भने तीनै तहको निर्वाचनमा सत्ताधारी दलबीच तालमेल हुने संकेत गरेका छन् । बिहीवार वीरगञ्जमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका देउवाले निर्वाचनमा गठबन्धनबीच तालमेल हुन्न भनेर कसैलाई नचिढ्याउन पार्टीका नेता–कार्यकर्तालाई निर्देशन नै दिए ।
‘गठबन्धनका साथीहरूको सहयोगले म प्रधानमन्त्री भएको हुँ, कांग्रेस सरकारको नेतृत्वमा पुगेको हो, गठबन्धनका साथीहरूलाई बेवास्ता गर्न मिल्दैन, बोल्दा कसैलाई पनि नचिढ्याऊँ,’ देउवाले सम्बोधनका क्रममा भने ।
सो क्रममा उनले केन्द्रदेखि स्थानीय तहसम्म गठबन्धन आवद्ध दलहरूबीच तालमेलका विषयमा छलफल हुने भन्दै वर्तमान निर्वाचन प्रणालीमा कुनै पार्टीले एक्लै बहुमत ल्याउन नसक्ने दाबी गरेका छन् ।
‘संविधानअनुसार कुनै पनि पार्टीले एक्लै बहुमत ल्याउन सक्दैन, कसै न कसैसँग मिल्नुपर्ने आवश्यकता छ, एक्लै लड्दा धेरै ठाउँमा हारेका थियौं, गठबन्धनबीच तालमेल भए केही ठाउँमा समस्या होला तर स्थानीय तहदेखि प्रदेश र केन्द्रमा पनि भोलि सरकार बनाउने हिसाबले अघि बढ्न सक्छौं,’ देउवाले भने ।
कांग्रेस नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासमेत आगामी निर्वाचनमा गठबन्धन आवद्ध दलबीच तालमेल हुनुपर्ने पक्षमा छन् । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिबाट आगामी निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने नगर्ने विषयमा निर्णय गर्ने कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको भनाइ छ ।
उनले बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यसम्पादन समिति र केन्द्रीय समिति बैठकले तालमेलबारे निर्णय लिने भनेका थिए । राजधानीमा खबर छ ।






