रङमाथि एमाले-कांग्रेसको व्यर्थको विवाद - News site from Nepal
रङमाथि एमाले-कांग्रेसको व्यर्थको विवाद

काठमाडौँ – निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको मतपत्रमा चुनाव चिह्नको रङ परिवर्तन गर्ने निर्णय गरेपछि सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच विवाद सुरु भएको छ ।

आयोगले चुनाव चिन्हहरू निलो रङको सट्टा हरियो रंगको बनाउने निर्णय गरेको भन्दै विपक्षी दल एमालेले आपत्ति जनाएको छ । एमालेले कांग्रेसलाई जिताउन रंग परिवर्तन गरेर हरियो बनाउन लागेको आरोप एमाले अध्यक्ष केपी ओलीको छ । कांग्रेसले भने विभाजित कम्युनिस्ट पार्टी हरियो रङदेखि तर्सिएको जवाफ दिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रपत्रमा रुखै रुख देखिएको भन्दै हरियो रङको प्रयोग गरेको आरोप लगाए । अखिल नेपाल महिला संघले काठमाडौंमा मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीलले ‘कमजोर आँखा हुनेले रुखैरुख देखोस् भनेर हरियो रङको चिन्ह राख्न खोजेको हो भने त्यो स्वीकार्य नहुने’ समेत बताए । उनले चुनाव चिह्नको रङ परिवर्तन गर्नुको कारणसमेत माग गरेका छन् । यतिसम्म कि ओलीले निर्वाचन आयोगले हरियो रङको प्रयोग गरेर कांग्रेसको ‘बुढो रुखलाई बचाउन लागेको’ आरोप लगाएका छन् ।

कांग्रेसको बुढो रुख बचाउन निर्वाचन आयोगले मतपत्रको रङ हरियो बनायो : ओली
ओलीको आरोपको जवाफ स्वरुप सत्तारुढ दल कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुधबार विभाजित भएको कम्युनिस्ट पार्टी हरियो रङदेखि तर्सिएको बताए । पार्टी केन्द्रीय कार्यालय सानेपमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री शर्माले भनेका छन्, ‘एउटा पुरानो उखान छ, साउनमा हरियो देखेपछि सधैँ हरियो देख्ने, त्यस्तै अहिले विभाजित कम्युनिस्ट पार्टी हरियो रङ देख्दा तर्सिन्छ । यस्तो नयाँ उखानजस्तो मनस्थिति प्रकट नगर्नु जाति हुन्छ । म आदरसाथ आग्रह नै गर्दछु । बहस सिद्धान्त र मुद्दाको गरौं, हाम्रो ढंग ठीक बनाऔं, मतपत्रको रंगले तब कसैलाई पोल्दैन । अन्यथा भोलि हरियो सागपात के गर्ने ? पर्सि आँगनको बोट बिरुवा कसो गर्ने ?’

एमालेलाई संकेत गर्दै शर्माले भने- विभाजित पार्टी हरियो देख्दा नै तर्सिन्छ
हरियो रङ कांग्रेसको चुनाव चिह्नसँग मिल्यो भन्दैमा आपत्ति जनाउनु आवश्यक नरहेको शर्माको भनाइ थियो । यसअघि कांग्रेसका प्रवक्ता प्रकासशरण महतले पनि ओलीको भनाइप्रति लक्षित गर्दै व्यंग्य गरेका थिए, ‘वन हरियो हुन्छ, त्यो पनि फडानी गर्नु !’

एमालेले भने स्थानीय तहको चुनावलाई प्रभावित गर्ने खेलअन्तर्गत रङ परिवर्तन गरिएको बताउँदै आएको छ । एमालेका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मनोवैज्ञानिक रुपमा प्रभावित गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । ‘हरियो कांग्रेसको चिह्न हो । यसको मनोवैज्ञानिक प्रभाव पार्नका यस्तो गर्न खोजिएको हो’ गुरुङले भने, ‘मानिसको मनोविज्ञान तयार पार्नु भनेको ठूलो कुरा हो । यो धाँधलीको कुरा हो । यसले चुनावलाई निष्पक्ष बनाउँदैन ।’

गुरुङले मतपत्र कुनै पनि रङको नभइ सादा बनाउनु पर्ने तर्क गरे । ‘हामीले प्रयोग गर्ने जस्तो रातो बनाउन भनेर भनेको छैन नि, यसअघि जस्तो थियो त्यस्तै बनाए भैहाल्यो नि !’

आयोगले भने यसअघिको चुनावमा प्रयोग गरिएको स्वस्तिक चिह्नको मसी निलो हुने भन्दै गणना गर्न अफ्ठ्यारो भएकाले हरियो रङ प्रयोग गर्ने जनाएको छ । आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले विगतका कतिपय निर्वाचनमा हरियो, कालो, नीलो र रातो चिह्न भएको मतपत्र प्रयोग हुँदै आएको तर यस पटक हरियो रङ स्पष्ट भएकाले उक्त रङ प्रयोग गर्ने निर्णय भएको जानकारी दिए ।

‘मतपत्र सङ्केत गर्ने मसी, निर्वाचन चिह्न, मतपत्रमा हुने रेखा र क्रमसङ्ख्या पनि नीलो भएका कारण मतदाताले गरेको मत सङ्केत स्पष्ट नभएको मात्र होइन, मतगणनामा सजिलो होस्, मतपत्रमा गरिएको मत सङ्केत स्पष्ट देखियोस् भन्ने मनसायले सेतो कागजमा हरियो निर्वाचन चिह्न, हरियो रेखा र हरियो क्रमसङ्ख्या राख्ने आयोगले निर्णय गरेको हो,’ मंगलबार आयोगका प्रवक्ता पौडेलले भने ।

अघिल्ला निर्वाचनमा पनि हरियो, नीलो, रातो र कालो रङको निर्वाचन चिह्न भएको मतपत्रको अभ्यास भइरहेको आयोगको भनाइ छ । राजनीतिशास्त्री लोकराज बराल भने एमाले र कांग्रेसबीच भएको यस्तो बहसलाई अनावश्यक बहस भएको टिप्पणी गर्छन् । राष्ट्रिय तथा स्थानीय मुद्दाहरुमा बहस हुनुपर्नेमा यस्ता बहसले चुनावलाई गैर राजनीतिक विषयतर्फ मोड्न थालेको बराल बताउँछन् ।

‘जनमत संग्रह गर्दा नीलो बहुदलीय व्यवस्था थियो र पहेँले निर्दलीय व्यवस्था थियो । अहिले रंगको विषयमा विवाद गर्नु बेकारको कुरा हो । निर्वाचन आयोगले गरेको हरेक विषयमा हस्ताक्षेप गर्न मिल्दैन । कसैलाई केही हुँदैन अर्कोलाई अर्को रङ नहोला ?’ बरालले भने, ‘नेपालको राजनीतिक दलहरुको मुख्य एजेण्डामा बहस छैन । देशको अवस्था के छ त्यसमा बहस छैन । विकास, प्रजातन्त्रलाई बलियो बनाउने, भ्रष्टाचार नियन्त्रणमा बहस छैन । दलहरु अहिले रंगको बहसमा लागेका छन् । यो अनावश्यक बहस हो ।’

ekantipur.com

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!