पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि प्रक्रिया शुरु - News site from Nepal
पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि प्रक्रिया शुरु

काठमाडौं –  काठमाडौंको नागढुङ्गा र धादिङको नौबिसे सुरुङ मार्गले आकार लिन लाग्दा अरू पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि सरकारले प्रक्रिया थालेको छ । पहाडी क्षेत्रका पाँचवटा सडकखण्डमा सुरुङ निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

बागलुङ-बिहुँ-नरेठाँटी सुरुङ मार्ग बागलुङ, फुस्रेखोला-छोरेपाटन (पोखरा)-स्याङ्जा-गुडीखोला सडक सुरुङ कास्की-स्याङ्जा, रारा राजमार्गअन्तर्गत कुशेपाटन-जाजरकोट (ब्याउलीढुङ्गा)-जुम्ला (इमलिचा खोला), प्रवाश-जोरटे (पाल्पा) र भक्तपुरको ताथली-सिन्धुपाल्चोकको रविओपी सडकमा सुरुङ निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको हो । सडक विभागले ती सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनोटका लागि राष्ट्रिय कम्पनीहरूसँग आशयपत्र मागेको छ ।

सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभात झाका अनुसार प्रस्तावित हरेक सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि ५०/५० लाख रुपियाँ खर्च गरिनेछ । अबको तीन महिनाभित्र कम्पनी छनोट गरिने र छनोट कम्पनीले चार महिनाभित्र सम्भाव्यता अध्ययन गरी सडक विभागलाई प्रतिवेदन बुझाउने छन् ।

त्यसपछि विस्तृत अध्ययनको प्रक्रिया अगाडि बढाइनेछ । सुरुङ मार्गको निर्माण इन्जिनियरिङ खरिद निर्माण (ईपीसी) मोडलमा गरिने निर्देशक झाले बताए । यस मोडलअनुसार छनोट भएका कम्पनीले सुरुङ मार्ग निर्माणको ‘सर्भे, डिजाइन र जडान’ आफैँले गर्नुपर्ने हुन्छ । त्यसैगरी सुरुङ मार्ग निर्माण सम्पन्न भएको एक वर्षसम्म गम्भीर त्रुटि देखिए त्यसको नियमित मर्मत सम्भारको पनि जिम्मेवारी निर्माण कम्पनीको नै हुनेछ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!