पार्टी पदाधिकारी छान्न माओवादी असफल, केन्द्रीय सदस्य थपिएका थपियै ! - News site from Nepal

काठमाडाैं  – सत्तारूढ नेकपा माओवादी केन्द्र पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो समिति, नेताहरूको जिम्मेवारी बाँडफाँट गर्न असफल भएको छ ।

शुक्रवारदेखि जारी बैठकले यी प्रमुख विषयमा निर्णय नै गर्न सकेन । सहमति जुटाएर निर्णय गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार र आइतवार बैठक स्थागित गरेका थिए ।

तर नेताहरूका बीचमा भएको आन्तरिक छलफलमा समेत सहमति जुट्न नसकेपछि प्रमुख विषयमा निर्णय नै नगरी बैठक स्थगित भएको छ । अब आगामी जेठ २० गते बस्ने केन्द्रीय समिति बैठकबाट यी एजेन्डामा छलफल हुनेछ ।

पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँटका साथै एमसीसी लगायतका विषयमा जेठ २० गतेपछि छलफल हुनेछ । आगामी जेठ २० गते यी प्रमुख विषयमा छलफल गरेर निर्णय गरिने माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।

एमसीसी लगायतका विषयमा आएको फरक मतलाई दर्ज गरेर राख्ने र आगामी बैठकमा पार्टीभित्र छलफल गरिने उनले बताए ।

पुस ११ देखि १८ गतेसम्म माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो । महाधिवेशन भएको २ महिना बितिसक्दा समेत स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, केन्द्रीय समितिलाई पूर्णता दिने केन्द्रीय समितिको बैठकले गर्न नसकी पर धकेल्ने काम भएको छ ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ७ जना उपाध्यक्ष, महासचिव, २ जना उपमहासचिव, ३ जना सचिव र १ जना कोषाध्यक्षसहित २९९ सदस्यीय केन्द्रीय समिति गठन गर्ने माओवादीले विधानमा उल्लेख गरेको छ तर यसअघिको बैठकबाट अध्यक्षमा प्रचण्डलाई सर्वसम्मत निर्वाचित गरिएको थियो ।

माओवादी स्रोतका अनुसार अध्यक्ष प्रचण्डका लागि सबैभन्दा बढी जटिल विषय महासचिव कसलाई बनाउने भएको छ । नेता वर्षमान पुन र जनार्दन शर्माले भए सर्वसम्मति नभए निर्वाचनबाटै आफंै महासचिव हुने अडान लिएपछि सहमति जुट्न नसकेको स्रोतको दाबी छ ।

महासचिवका लागि देव गुरुङ, पम्फा भुसाल, कृष्णबहादुर महरा, शक्तिबहादुर बस्नेत लगायतका नेताहरू समेत दौडधुपमा थिए । महत्त्वपूर्ण भनिएको र अध्यक्षपछिको दोस्रो कार्यकारी पद महासचिवका लागि नेताहरूका बीचमा तीव्र प्रतिस्पर्धा रहेको छ । अन्य पदका लागि समेत नेताहरू दौडधुपमै रहेका छन् ।

पदाधिकारीका साथै स्थायी समिति, पोलिटब्युरो समितिमा कसलाई राख्ने विषयमा समेत अध्यक्ष दाहालले सहमति जुटाउन सकेनन् । यी समितिमा पर्न नेताहरूको संख्या बढी भएकाले सहमति जुटाउन प्रचण्ड असफल भएको माओवादी स्रोतको दाबी छ ।

‘विभिन्न पदका लागि आकांक्षी नेताहरूको संख्या बढी नै छ । सबैलाई महत्त्वपूर्ण जिम्मेवारी नै चाहिएको छ । मिलाउँदा–मिलाउँदै नमिल्ने अवस्था आएपछि पर धकेल्ने काम भएको छ,’ बैठकमा सहभागी एक नेताले भने ।

बैठकले केन्द्रीय समितिमा ९७ जना सदस्य थप्ने निर्णय गरेको छ । ‘महाधिवेशनले टुंग्याएको विधानअनुसार ९७ जना केन्द्रीय सदस्यको मनोयनन र बाँकी ठाउँहरू पूरा गर्नु थियो । त्यो पूरा गरिएको छ,’ बैठकपछि नेता पुनले भने ।

पुसमा सम्पन्न आठौं महाधिवेशनको बेलामा २४७ जनाको केन्द्रीय समिति घोषणा गरिएको थियो । ९७ जना केन्द्रीय सदस्य थपिएपछि अब माओवादीको केन्द्रीय समितिको संख्या ३३७ पुगेको छ । अझै केन्द्रीय सदस्यको २५ प्रतिशत नबढ्ने गरी वैकल्पिक केन्द्रीय सदस्य थप्नेबारे गृहकार्य भएको छ । सो विषयमा आगामी बैठकमा छलफल गरेर थप्ने काम हुनेछ । राजधानीमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!