काठमाडौँ — एमसीसी सम्झौताको संसदीय अनुमोदनपछि माओवादी केन्द्रमा नारायणकाजी श्रेष्ठ पक्षधर नेताहरूमा असन्तुष्टि चुलिएको छ । अध्यक्ष पुष्पकमल दाहाल पक्ष एकलौटी रूपमा अघि बढेको र आफूहरूको कुरा नसुनेको भन्दै उनीहरूले गुनासो गरेका छन् । संस्थापन पक्षका नेताहरूले भने पार्टी निर्णयविपरीत सार्वजनिक रूपमा बोलेको भन्दै श्रेष्ठप्रति आलोचना गरिरहेका छन् ।
पार्टी अध्यक्ष दाहालले नै सोमबार नेता श्रेष्ठलाई ‘पार्टी छाडेर गए पनि हुने’ आशयको अभिव्यक्ति दिएपछि श्रेष्ठ पक्ष झन् चिढिएको छ । हात्तीवनस्थित आफ्नो निवासमा मंगलबार आएका अध्यक्ष दाहाललाई श्रेष्ठले ‘पार्टी छाडेर जान भनेको हो ?’ भन्दै प्रश्न गरेका थिए । ‘अध्यक्षले आवेशमा आएर बोलेको हो, पार्टी छाडेर जाने कुरा भनेको होइन भन्नुभयो । उहाँले मिलेर पार्टी चलाउनुपर्छ भन्नुभएको छ,’ श्रेष्ठनिकट एक नेताले भने । उनका अनुसार दाहालले पार्टीभित्रका कमीकमजोरी समीक्षा गरेर जानुपर्ने उल्लेख गर्दै आफ्ना कुरा केन्द्रीय समितिमा राख्न श्रेष्ठलाई सुझाव दिएका थिए ।
दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार हात्तीवनमा भएको भेटमा आगामी केन्द्रीय समिति बैठकबारे पनि छलफल भएको थियो । ‘अध्यक्ष दाहाल र नेता श्रेष्ठबीच सौहार्दपूर्ण वातावरणमा छलफल भयो । अध्यक्ष दाहालले पार्टीको निर्णय पार्टी कमिटीमै राख्नुपर्ने र चुनावका बेला विवाद देखाउन नहुने बताउनुभयो,’ उनले भने । एमसीसी सम्झौता अनुमोदन गर्ने पार्टीको निर्णयमा श्रेष्ठ पक्षधर सांसदहरू गिरिराजमणि पोखरेल र अञ्जना विशंखेले फरक मत राखेका थिए । लीलामणि पोखरेलले पनि एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णयमा असन्तुष्टि जनाएका थिए ।
व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गरिएपछि श्रेष्ठले सामाजिक सञ्जालमा पनि असन्तुष्टि व्यक्त गरेका थिए । उनले लेखेका थिए, ‘अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराइछाडे । आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनका रूपमा लिनेछन् । सम्पूर्ण देशभक्त शक्तिहरू एकताबद्ध होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं ।’ श्रेष्ठले सार्वजनिक रूपमा असन्तुष्टि राख्नुअघि दाहालले पार्टीमै असहमति राख्न सुझाएका थिए । दर्ज गर्न भनेका थिए ।
एमसीसी सम्झौता अनुमोदनपछि श्रेष्ठ पक्षधरले छुट्टै भेलासमेत गरेको थियो । संस्थापनले एकताबाट आएका आफूहरूलाई अझैसम्म पनि माओवादी नमानेकाले पनि पार्टीमा बसिराख्नुको औचित्य नभएको श्रेष्ठ पक्षधर नेताहरूको भनाइ थियो । अध्यक्ष दाहालले भने सोमबार महाकाली सन्धिपछि वामदेव गौतमले एमाले विभाजन गरेर माले गठन गर्दा एक सिट पनि नजितेको उदाहरण दिँदै नेता श्रेष्ठमाथि टिप्पणी गरेका थिए । उक्त अभिव्यक्तिपछि श्रेष्ठ समूहमा तीव्र असन्तुष्टि छ ।
ekantipur.com






