कांग्रेसमा वडासम्मै धाँजा - News site from Nepal
कांग्रेसमा वडासम्मै धाँजा

काठमाडौं- नेपाली कांग्रेसको सभापति निर्वाचित भएपछि शेरबहादुर देउवाले पार्टीमा गुटको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर उनको साढे पाँच वर्षे कार्यकालमा कांग्रेसमा गुट–उपगुटको परम्परा झनै झांगिएको छ । त्यसको असर यति बेला वडा तहसम्म देखिएको छ ।

१४औं महाधिवेशनअन्तर्गत भदौ १८ देखि सुरु भएको वडा अधिवेशनमा केन्द्रमा क्रियाशील गुटको प्रत्यक्ष प्रभाव देखिएको छ । तल्लो तहका अधिवेशनमा अधिकांश ठाउँमा संस्थापन र इतर पक्षबीच प्रतिस्पर्धा छ । अर्को दलसँगको चुनावी प्रतिस्पर्धा भएजस्तो छनक दिनेगरी भइरहेको वडा अधिवेशनमै एकले अर्को पक्षलाई निषेध सुरु भएको छ ।

सहमतिबाट क्षेत्रीय प्रतिनिधि चयन गरिएका अधिकांश स्थानमा पनि गुटको हैसियतअनुसार भागबन्डा गरिएको छ । पार्टीमा पुर्‍याएको योगदानभन्दा गुटले प्रधानता पाउँदा लामो समय संगठन निर्माणमा सक्रिय भएका र पार्टीमा भविष्य भएका नेता कार्यकर्ता वडाबाटै क्षेत्रीय प्रतिनिधि आउन रोकिएका छन् ।

त्यसको उदाहरण बनेको छ सभापति शेरबहादुर देउवाकै गृह जिल्ला डडेलधुरा। महाधिवेशनको पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता र सबैभन्दा सुरु तहको अधिवेशनमै जिल्ला सभापतिको सहभागिता नभएको भन्दै संस्थापन इतरका नेताहरूले डडेलधुराको वडा अधिवेशन पुनः हुनुपर्ने माग गरेका छन् ।

देउवाले पार्टी कब्जाको नीति लिएको आरोप लगाउँदै नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइरालासहितले निर्वाचन समितिलाई डडेलधुराको पुनः वडा अधिवेशन गराउन पत्र बुझाएका छन्। संस्थापन पक्षले भने डडेलधुरामा विधिअनुसारै सदस्यता स्वीकृत गरिएको र वडा अधिवेशन भएको जिकिर गरेको छ ।

संस्थापन इतर समूहले पनि आफू बलियो भएका ठाउँमा पूर्व जिल्ला सभापतिलाई नै वडा अधिवेशनबाटै क्षेत्रीय प्रतिनिधिमा आउन रोकेका छन् । रोल्पा कांग्रेसका पूर्वसभापति कृष्णबहादुर घर्तीमगरलाई माडी गाउँपालिका–२ घर्तीगाउँमा पौडेल पक्षले पराजित गरेको छ । तत्कालीन कांग्रेस प्रजातान्त्रिकको जिल्ला सभापतिका रूपमा नेतृत्व गरेका घर्तीमगरलाई वर्तमान सभापति अमरसिंह पुन मगर पक्षले वडामै पराजित गर्‍यो ।

२०३६ देखि राजनीतिमा लागेका उनी पार्टी एकीकरणपछि पनि जिल्ला सभापतिमा कायम थिए। साबिकको घर्तीगाउँ गाविसका पूर्वअध्यक्ष घर्तीमगर १२औं अधिवेशनमा पुनसँग सभापतिमा पराजित भएका थिए । जिल्ला सचिव मोहन परियार पनि त्रिवेणी गाउँपालिका–३ मा पराजित भए । सुरुमा देउवा पक्षधर उनी पछि पौडेल पक्षमा लागेकाले वडाबाटै पराजित भएका हुन् ।

गुटगत विवादको यो उदाहरण मात्र हो। अधिकांश जिल्लाको अवस्था यस्तै छ । एकले अर्कोलाई निषेध गर्नेगरी क्रियाशील सदस्यता वितरण तथा नवीकरण गरिँदा अझै एक दर्जन जिल्लाको विवाद समाधान भएको छैन । प्रमुख नेताहरूकै गृह जिल्लामा सदस्यता विवाद अझ पेचिलो बनेको छ । आफू टिक्ने र अर्को पक्षलाई ठीक पार्ने रणनीतिमा तलदेखि माथिसम्मकै नेता सक्रिय हुँदा अबको १५ महिनाभित्र हुने स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कस्तो प्रभाव पर्छ, आकलन गर्न सकिने अवस्था छैन ।

धादिङ कांग्रेसका नेता झंकनारायण श्रेष्ठ भने आन्तरिक प्रतिस्पर्धालाई अन्यथा लिन नहुने बताउँछन् । ‘तर त्यो स्वस्थ र पार्टी संगठनलाई ऊर्जा दिने हुनुपर्छ’, उनले भने। कतिपय सन्दर्भमा केही ठाउँमा अधिवेशनले विभाजन र विखण्डनतिर पार्टीलाई अघि बढाउने त होइन भन्ने आशंका व्याप्त हुन थालेको बताउँदै उनले थपे, ‘आन्तरिक निर्वाचन वा अधिवेशनले संगठनलाई चलायमान बनाउनु पर्छ । १५ महिनाभित्र हुने स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले जित्नेगरी ऊर्जा संकलन गर्नुपर्छ । आन्तरिक चुनावमा पार्टीको ऊर्जा खर्च भए संगठनमा संकट ल्याउँछ ।’

ओखलढुंगाका कांग्रेस नेता रामहरि खतिवडा स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भएको पराजयले तल्लो तहका नेता कार्यकर्ता मिलेर अघि बढ्न तयार रहेको बताउँछन् । तर केन्द्र र जिल्ला तहका नेताका कारण वडा तहसम्म गुटको प्रभावले पार्टीमा धाँजा फाटेको सुनाउँदै खतिवडाले भने,

‘तर केन्द्रका नेताले मेरो मान्छे र तेरो मान्छे, यसलाई ल्याउनुपर्छ, तँ आउनुपर्छ भनिदिँदा तल्लो तहका नेता कार्यकर्ता चाहेर पनि मिल्न सकिरहेका छैनन् ।’ नेताले आफ्नो गुट बलियो बनाउन चाहेको तर कार्यकर्ताले पार्टी बलियो चाहेको खतिवडाको बुझाइ छ । ‘गुटले जुट हुँदैन,’ उनले भने, ‘कार्यकर्ताको भावनाअनुसार नेता चले पार्टी बलियो हुन्छ । होइन भने गुट र नेता बलिया हुन्छन्, पार्टी कमजोर हुन्छ।’ पार्टीभन्दा गुट प्राथमिकतामा पर्दा कांग्रेसमा अहिले नेतैपिच्छे समूह निर्माण भएका छन् ।

१३औं महाधिवेशनअघि सम्म दुई ठूला समूहमा देखिएको कांग्रेस साढे पाँच वर्षमा एक दर्जन गुटउपगुटमा विभाजित बन्न पुगेको छ । त्यसकै आधारमा पार्टीदेखि राज्यसत्तामा समेत भाग लिने र पाउने परम्परा विकास भएको छ । गुटबन्दी अन्त्य गर्ने प्रतिबद्धता जनाएका देउवाले उपगुटलाई पनि पार्टी र सत्ता साझेदारीमा भाग दिन सुरु गर्दा प्रभावशाली नेता भाग पाउन र लिनका लागि अलग्गै समूह बनाउन सक्रिय भएका छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!