पर्वत — निर्माणाधीन मध्यमोदी जलविद्युत् आयोजनाको सुरुङमा विस्फोट गराउँदा घरमा क्षति पुगेकाले पुनर्वास गराउनु पर्ने माग स्थानीयले राखेका छन् । क्षतिबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदनले भने सुरुङमा विस्फोटले मात्र घरमा क्षति नपुर्याएको जनाएको छ ।
सुरुङमा बम विस्फोट गराउँदा २५ घरमा क्षति पुगेको भन्दै पीडितले अवरोध गरेपछि मोदी गाउँपालिका र आयोजनाले गठन गरेको भूगर्भविद्सहितको समितिले क्षति र जमिनको अध्ययन गरेको थियो । अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै भूगर्भविद् अर्जुन भट्टराइृले कमजोर भू–बनावट, भूकम्पका परकम्पसँगै विस्फोटका कारण घरहरूमा क्षति पुगेको बताए । ‘टनेलबाट घरहरूको दूरी कम्तीमा डेढ सय मिटरभन्दा धेरै छ,’ भट्टराईले भने, ‘सबै असर टनेलकै कारण भएको भन्ने अवस्था छैन । यहाँको भू–बनोट नै कमजोर भएकाले यस्तो भएको हो । यो टनेल नहुँदा पनि जारी रहन्छ ।’ बम विस्फोट गराउँदा जमिनको प्रकृतिअनुसार क्षति पुग्ने उनले बताए । बम विस्फोट गराउँदा हुने क्षति र भूकम्पका परकम्पका कारण हुने क्षति समान प्रकृतिको हुने भएकाले परकम्प र विस्फोटको क्षतिको प्रतिशत यकिन गर्न नसकिने उनले बताए ।
चौधरी ग्रुपद्वारा निर्माणाधीन १५.१ मेगावाटको मध्यमोदी जलविद्युत् आयोजनाले सुरुङ खन्न गराइएको विस्फोटका कारण मोदी–१ भुक र मोदी–२ देउपुरस्थित मख, कल्लेनी, ओख्ले, ठाना र सिमखेतका बासिन्दाले गत असोजमा टनेलको काम नै बन्द गराएका थिए । आयोजना, गाउँपालिका र स्थानीयको पहलमा ३ महिना लगाएर गरिएको अध्ययन प्रतिवेदनमा विस्फोटकै कारण क्षति नभएको उल्लेख छ । ‘एकै स्थानका दुईटा घरमा एउटा चर्किएको छ । अर्कोमा केही भएकै छैन,’ भूगर्भविद् भट्टराईले भने, ‘यस्तो अवस्था हेर्दा घरको बनावटमा पनि कमजोरी देखिन्छ ।’ जमिनभित्र पानीको स्रोत भएका धेरैजसो स्थानमा विस्तारै जमिन बग्ने क्रमरहेको अध्ययनमा देखिएको भूगर्भविद्ले जनाए ।
पीडितले सबैजसो घर चर्किएर बस्नै नमिल्ने भएकाले अन्यत्र सार्नुपर्ने माग राख्दै आएका छन् । ‘हामीले पहिले पनि धेरै पटक आयोजनालाई आग्रह गरेका हौं,’ स्थानीय सावित्री पोख्रेलले भनिन्, ‘घर बस्नै नमिल्ने गरी भत्किँदा पनि आयोजना र जनप्रतिनिधिले चासो दिएनन् ।’ स्थानीय हीराबहादुर क्षत्रीले मोदीका जनप्रतिनिधि नै पीडितमाथि खेलवाड गरिरहेको आरोप लगाए । ‘हामीले क्षतिको विवरण बुझ्न बोलाउँदा अध्यक्ष ज्यू आउनुभएन । वास्तविक पीडितलाई बेवास्ता गरेर अरूलाई पक्षपोषण गर्नुभएको छ,’ उनले भने, ‘म आयोजनामै काम गर्छु । त्यहाँभित्रका सबै गतिविधि मलाई थाहा हुन्छ । पीडितलाई थप पीडा दिएर प्रशासन लगाएर हस्तक्षेप गरियो ।’
क्षतिपूर्ति दिन आयोजनापक्ष सहमत हुँदासमेत जनप्रतिनिधिले वास्ता नगरेको उनको आरोप छ । मोदी–१ भुकका कृष्ण चापागाईंले अपांग र विपन्न परिवारका घर भत्किने गरी पहिरो जाँदा र खानेपानीको मूल सुक्दासमेत आयोजना र जनप्रतिनिधिले बेवास्ता गरेको आरोप लगाए । आयोजना पक्षले टनेलकै कारण क्षति पुगेको भए क्षतिपूर्ति दिन तयार भएको जनाएको छ । ‘क्षति हाम्रै कारणले नभए पनि प्राविधिक मूल्यांकनअनुसारको मुआब्जा दिन तयार छौं,’ आयोजना प्रमुख निरञ्जनबहादुर राउतले भने, ‘प्राविधिक मूल्यांकनमा आएको क्षतिपूर्ति दिन हामी पछि हटेकै छैनौं । स्थानीयको सहयोग हामीलाई चहिन्छ ।’ आयोजना स्थानीयकै भएकाले भागेर कतै जाने अवस्था नभएको उनले प्रस्ट पारे । प्राविधिकका अनुसार पाँच सेन्टिमिटर भन्दा धेरै चर्किएका घर पुननिर्माण गर्नुपर्छ । ५ सेन्टिमिटरभन्दा कम चर्किएका घर प्लास्टर गरेर बस्न मिल्ने प्राविधिक प्रतिवेदनमा उल्लेख छ ।
मोदी गाउँपालिका अध्यक्ष प्रेम पौडेल, वडाध्यक्ष विकास तिमिल्सिना, स्थानीयवासी र प्राविधिकको टोलीले निकालेको क्षति मूल्यांकनअनुसार राहत लिन पीडित पक्ष सहमत नभएपछि आयोजना र पीडितबीच गाउँमै छलफल भएको थियो । छलफलबाट निष्कर्ष निस्कन नसकेपछि स्थानीयले पुनर्बासको माग गरेका हुन् । गाउँपालिकाले भने पुनर्वासका लागि स्थानीय तहले मात्रै पहल गरेर नहुने भएकाले केन्द्र सरकारसंग पनि सहयोग लिइने बताए । ‘एकीकृत बस्ती बनाउनका लागि केन्द्र सरकारको निर्णय आवश्यक हुन्छ,’ अध्यक्ष पौडेलले भने, ‘तपाईंहरूलाई परेको समस्यामा गम्भीर भएर हामी केन्द्र, प्रदेश र आयोजना पक्षसँग सहयोग लिन्छौं ।’
०७१ मंसिरमा सुरु भई ०७४ मंसिरभित्र सक्ने लक्ष्य लिएको आयोजना स्थानीयको अवरोधका कारण पटक–पटक रोकिँदै आएको छ । आयोजनाले सुरुका केही समय भूकम्प र भारतीय नाकाबन्दीको मार खेप्नुपर्यो । त्यसलगत्तै स्थानीयवासीको अवरोधले ०७३ को अन्त्यसम्म काममा समस्या उत्पन्न भएको थियो । २६ सय ९३ दशमलव ३० मिटर सुरुङमध्ये हालसम्म करिब साढे २४ सय मिटर पूरा भएको छ ।
पीडितले पुनर्वासको माग गरेका छन् । हाम्रा धेरै घर बस्नै नमिल्नेगरी भत्किएका छन्,’ पीडितमध्येका सुजन पोख्रेलले भने, ‘क्षतिपूर्तिभन्दा पुनर्वास गरियोस् । हाम्रो माग यत्ति हो ।’ भूगर्भविदको टोलीले गरेको क्षति विवरणमा सहमत नभएपछि स्थानीयले शनिबारदेखि पुन: काममा अवरोध गरेका छन् । शनिबार दिउँसोदेखि अवरुद्ध भएको काम चित्तबुझदो क्षतिपूर्ति नपाएसम्म सञ्चालन हुन नदिने पोख्रेलले बताए ।
Ekantipur.com