पर्वत, २० जेठ : पर्वतका सातवटै पालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ नेतृत्व चयन गरिएको छ ।
गत जेठ १५ गतेदेखि १७ गतेसम्म भएका प्रथम अधिवेशनवाट सवै पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो । दुई नगरपालिका र पाँच गाउँपालिकामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको रास्वपा पर्वत उपसभापति सरु शर्माले जानकारी दिनुभयो ।
शर्माका अनुसार कुश्मा नगरपालिकाको अध्यक्षमा रमेश कुमार श्रेष्ठ निर्वाचिन हुनुभएको छ भने फलेवास नगरपालिकाको सभापतिमा बेल कार्की (पवन) पैंयु गाउँपालिका सभापतिमा ओम प्रकाश बस्याल, महाशिला गाउँपालिका सभापतिमा घैलेन्द्र केसी, विहादी गाउँपालिका सभापतिमा सुशील गिरी चयन हुनुभएको छ ।
यसैगरी मोदी गाउँपालिका सभापतिमा प्रताप हमाल र जलजला गाउँपालिकामा गोविन्द रेग्मीको सभापतित्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । यस अघि जिल्लाका ६१ वटै वडामा कार्यसमिति विस्तार गरिएको थियो ।
रास्वपा पर्वतको प्रथम जिल्ला अधिवेशन यहि जेठ २३ गते आयोजना गरिएको छ । त्यसअघि वडा, पालिका अधिवेशन सम्पन्न गर्नुका साथै जिल्ला, प्रदेश र केन्द्रीय महाधिवेशनमा सहभागि हुने प्रतिनिधि समेत छनौट गरिसकिएको उपसभापति शर्माले जानकारी दिनुभयो ।
जिल्ला अधिवेशनलाई भव्य, सभ्य र मर्यादित बनाउन तथा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नका लागि आवश्यक तयारीहरु भैरहेको शर्माले जानकारी दिनुभयो । उहाँले जिल्ला अधिवेशनमा सक्रिय सहभागिता जनाउन वडा, पालिका समिति तथा जनप्रतिनिधि र शुभेच्छुक महानुभावलाई आव्हान समेत गर्नुभएको छ ।






