पर्वतको स्वास्थ्य सेवा प्रवद्र्धनमा स्वास्थ्य कार्यालयद्धारा विभिन्न योजना सञ्चालन गर्ने - News site from Nepal

पर्वत-स्वास्थ्य कार्यालय पर्वतले स्वास्थ्य प्रबर्दन कार्यक्रम अन्तर्गत चालु वर्ष विभिन्न खालका नविनम कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य कार्यालयले नेपाल पत्रकार महासंघको समन्वयमा आज आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा उक्त कुराको बारेमा जानकारी दिईएको हो ।
स्वास्थ्य कार्यालयले जिल्ला आयुर्बेदिक अस्पतालको सहकार्यमा स्वास्थ्य कार्यालय पर्वतमा योगशाला सञ्चालन गर्ने, स्थानीय तहहरुको सहकार्यमा स्वास्थ्य परियोजना विकास तथा कार्यान्वय योजना कार्यशाला गर्ने, सेवा प्रवाहमा उत्कृष्ठताको मुल्यांकन गर्दै कर्मचारीलाई देश तथा बिदेश भ्रमणको योजना समेत स्वास्थ्य कार्यालयले तय गरेको छ । नीजि तथा गैससहरुको सहकार्यमा वार्षिक कार्ययोजना सहित सहकार्य गर्दै स्वास्थ्य प्रवर्दन कार्यक्रम गरिने भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख सन्तोष पौडेलका अनुसार बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिने भएको छ ।
नसर्ने रोगको नियन्त्रण तथा निर्मुल अभियानलाई प्रभावकारी बनाउने देखि फोहोर व्यवस्थापनमा विद्यार्थी स्वयंसेवक दस्ता परिचालन गरिने भएको छ । क्षयरोगीहरुको खोजी गर्ने, कोभिड नियन्त्रणमा सामूदायिक सहभागिता बढाउने कार्यक्रम समेत कार्यालयको भावी कार्यक्रममा समेटिएको पौडेलले जानकारी दिनुभयो । पर्वत अस्पताल तथा मातहतका सबै स्वास्थ्य संथालाई पूर्वाधारयुक्त बनाउने र जनशक्तिलाई जिम्मेवार बनाएर परिचालन गर्ने स्वास्थ्य कार्यालयले योजना बनाएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी पत्रकारहरुले दुर्गमका स्वास्थ्य संस्थामात्रै नभएर सुविधासम्पन्न मानिएको पर्वत अस्पतालमै पनि विरामीहरुले सहज रुपमा सेवा नपाएको गुनासो गरेका थिए ।
विरामीलाई अस्पतालले दिनसक्ने सामान्य सेवा समेत प्रभावकारी रुपमा दिन नसकिएकोमा पत्रकारले आलोचना गरेका थिए । कार्यक्रममा पर्वत अस्पतालका निमित्त प्रमुख डा. डिवी क्षेत्रीले स्वास्थ्य क्षेत्र संबेदनशिल रहेको हुनाले गुनासो रहित बनाउन मुस्किल हुने बताउनुभयो । तर सेवालाई गुणस्तरीय बनाउन आफुहरु संधैभर तत्पर रहेको डा. क्षेत्रीले प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष सन्तोष थापा, बीमा कार्यक्रमका जिल्ला संयोजक विक्रम भुवाजी, वान हर्ट वान वल्र्डका प्रतिनिधी कबिन्द्र रेग्मी , पोखरा विश्वविद्यालयका सहप्राध्यापक डम्बरु पनेरु लगायतले स्वास्थ्य प्रर्वदन कार्यक्रमका बारेमा बिचार राख्नुभयो । कार्यक्रमको सञ्चालन स्वास्थ्य फोकल पर्सन तेजप्रसाद शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2022 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!