पर्वत १८ कात्तिक : पर्वतको कुश्मा नगरपालिकाले मासुमा सुद्धता र गुणस्तरीयता काम गराउन सक्रियता बढाएको छ ।
सदरकुकाम कुश्माबजार र आसपासमा संचालित मासु पसल, वधशाला तथा मासु उपादन केन्द्रको नियमित अनुगमन गरी मासुमा गुणस्तरीयता काम गर्न पहल थालेको हो । नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा बुधवार विभिन्न स्थानमा गरिएको अनुगमनमा मापदण्ड विपरित पसल संचालन गरेको पाईएको छ । कुश्मा नगरपालिका वडा नं. ४ अर्मादी, छमर्के र वडा नं. ८ चुवामा गरिएको अनुगमनमा विना दर्ता पसल संचालन गरिएको, मासु पसलका लागि आवश्यक पुर्वाधार तयार नगरिएको, सडेगलेको मासु विक्रि गरिएको, एउटै फ्रिजनमा विभिन्न चिजबस्तुहरु राखिएको पाईएको छ ।

कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, प्रमुख प्रशासकिय अधिकृत किरण पौडेल सहित उपभोक्ता मञ्च, पत्रकार, उद्योग बाणिज्य संघ, पशु सेवा कार्यालय पर्वत लगायतका प्रतिनिधिहरुको सहभागितामा गरिएको अनुगमनमा मापदण्ड विपरित संचालित मासु पसल तथा बधस्थललाई तत्काल बन्द गर्न निर्देशन दिईएको हो ।
कुश्मा नगरालिका वडा नं. २ अर्मादीमा संचालित जितबहादुरको बधशालाबाट उत्पादित मासुको गुणस्तर र वधस्थल अत्यन्त नाजुक र मापदण्ड विपरित रहेको पाईएको छ । यस्तै छमर्केमा संचालित मासु पसलहरु बिना दर्ता संचालन गरेको पाईएको कुश्मा नगरपालिका पशु सेवा शाखाका राजेन्द्र सुवेदीले बताउनुभयो । उहाँका अनुसार दर्ता नभएका पसलहरुलाई तत्काल दर्ता गर्न, मासु पसलका लागि आवश्यक पुर्वाधार तत्काल निर्माण गर्न निर्देशन दिईएको छ ।
यसैगरी जीतबहादुरको पशु बधशाखा तत्काल बन्द गर्नेगरी गृहकार्य भैरहेको उहाँले बताउनुभयो । अव्यवस्थित रुपमा पशु बध गरी मासु विक्रिवितरण गर्दै आएकाले तत्काल बन्द गराईने उहाँको भनाई रहेको छ ।

सरसफाईमा कमी देखिएका र मुल्य सुचित नटागिएको,विक्रि गर्ने स्थान मापदण्ड विपरित राखिएको र मासु फ्रिजिङ गर्ने ठाउँमा अन्य घरायसी सामानहरु समेत राखिएको पाईएकोले उनिहरुलाई सचेत गराईएको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण पौडेलले बताउनुभयो । उनिहरुलाई अर्को अनुगमनमा आवश्यक कारबाही गर्ने चेतावनी समेत दिईएको छ ।
अनुगमन टोलीले पहिलोपटक आवश्यक मापदण्ड पुरा गर्न, सरसफाई गर्न र उपभोक्ताको स्वास्थ्यप्रति सचेत हुन सुझाव दिएको छ । सुझावहरु कार्यान्वयन नभएमा अर्को अनुगमनका बेला पसल शिल गर्नेदेखि अन्य कानूनी कारवाही गर्ने चेतावनी समेत दिईएको पौडेलले जानकारी दिनुभयो ।






